लाप्चा जातिको स्मृतिग्रन्थ लोकार्पण

 फागुन ११, २०७५ शनिबार १९:३:६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामको श्रीअन्तुमा लाप्चा स्मृतिग्रन्थको लोकार्पण भएको छ ।

समाजसेवी, लाप्चा जातिका अग्रज व्यक्तित्व स्वर्गीय जगतबहादुर लाप्चाको स्मृतिमा ‘आथिङ काजी जगतबहादुर लाप्चा स्मृतिग्रन्थ’ शनिबार विविध कार्यक्रमका साथ लोकार्पण गरिएको हो । 

लाप्चाका छोरा बुद्धकाजी लाप्चा लगायतको सक्रियतामा स्मृतिग्रन्थ प्रकाशन गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले जानकारी दिनुभयो । 

बुद्धकाजी लाप्चाका अनुसार, यो स्मृति ग्रन्थमा स्व. जगतबहादुरले गरेका सामाजिक सेवामूलक कार्यहरु, उहाँको जीवनी लगायतका पक्षहरुलाई समेटिएको छ । इलाममा मात्र बसोबास रहेको लोपोन्मुख लाप्चा जातिको देश मै एउटा मात्र सङ्ग्रहालय इलामको श्रीअन्तुमा रहेको छ । 

सङ्ग्रहालयको स्थापना स्व. लाप्चाले नै गरेको बताइएको छ  । उहाँले आफ्नै घरमा लाप्चा जातिका विभिन्न सांस्कृतिक महत्वका सामाग्री संकलन गरेर सङ्ग्रहालय जस्तै बनाएर राख्नुभएको थियो ।

लाप्चा जातिले प्रयोग गर्ने परम्परागत सामाग्रीहरु अहिले पनि सुरक्षित रहेको र इच्छुकले हेर्न सक्ने छोरा रमेशकाजी लाप्चाले जानकारी दिनुभयो ।

घरमा सजाएर राखिएका ती सामानलाई अहिले स्व. लाप्चाको निधनपछि भने श्रीअन्तुकै उत्तरेमा सरकारी सङ्ग्रहालयका लागि भवन निर्माण गरी राखिने काम भइरहेको  छ । तर हालसम्म विविध समस्याका कारण त्यो भवन निर्माण सम्पन्न हुन नसकेको स्थानीयको भनाइ छ । 

ग्रन्थ प्रकाशन समितिका संयोजक टिकाबहादुर लाप्चा हुनुहुन्छ । लोकार्पण कार्यक्रम सूर्योदय नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको आयोजनामा भएको थियो । 

कार्यक्रममा नगर प्रमुख रणबहादुर राई, रोङ गाउँपालिकाका प्रमुख शम्शेर राई, प्रा.ज्ञ. कोमल निरौला, इतिहासविद् युद्धप्रसाद वैद्य लगायतले स्मृतिग्रन्थको लोकार्पण गर्नुभएको थियो ।

त्यसै कार्यक्रमका अवसरमा आयोजकले नगरप्रमुख रणबहादुर राई र इतिहासविद् युद्धप्रसाद वैद्यलाई सम्मान पनि गरेको छ ।
 


 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया