भेडाबाख्रा चरनमा दोहोरो शुल्क

 असार १०, २०७५ आइतबार ९:२९:३९ | शंकर धामी
unn.prixa.net

दार्चुला – यार्सागुम्बा संकलनमा दोहोरो कर संकलन भइरहेको अपिनाम्पा संरक्षण क्षेत्रअन्तर्गत भेडाबाख्रा चरनमा पनि दोहोरो शुल्क संकलन भइरहेको छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयअन्तर्गतको व्यास रेन्जपोष्टले प्रतिबाख्रा १० रुपैयाँ चरन शुल्क उठाएको छ भने संरक्षण क्षेत्रअन्तर्गतकै राखुपा उपभोक्ता समिति व्यासले प्रतिबाख्रा २० रुपैयाँ चरन शुल्क उठाइरहेको छ ।

एउटै निकायअन्तर्गतका दुइवटा पक्षले एउटै विषयमा दोहोरो शुल्क उठाइरहेको सरोकारवालाले बताएका छन् । अपिनाम्पा संरक्षण क्षेत्रको व्यासमा रहेको रेन्जपोष्टमा ८० बाख्राको चरन शुल्क तिरे पनि राखुपा उपभोक्ता समितिले पनि प्रतिबाख्रा २० रुपैयाँका दरले शुल्क उठाएको नौगाड गाँउपालिका वडा नम्बर ६ धुलिगडाका गोविन्दसिह धामीले बताउनुभयो । धामीसंगै धुलिगडाका अकबरसिह धामी, सोबानसिह धामी र चन्द्रसिह धामीले पनि दोहोरो शुल्क तिरेका छन् । तीनैजनासँग ८०/८० बाख्रा छन् ।

महाकाली नगरपालिका वडा नम्बर ६ पौनेखोलाका मोहनसिह ठगुन्नाले पनि ७० बाख्राको दोहोरो शुल्क तिरेका छन् । व्यासस्थित अपिनाम्पा संरक्षण क्षेत्रको रेन्जपोष्ट कार्यालयमा भेटिएका पाचैजनाले दुबै पक्षलाई शुल्क तिरेको नगदी रसिद देखाएका छन् ।

एउटै निकायअन्तर्गतका दुइटा पक्षले दोहोरो शुल्क उठाएपछि आफुहरु समस्यामा परेको बाख्रा व्यवसायी गोविन्दसिह धामीले बताउनुभयो । ‘अपिनाम्पाको पोष्टमा शुल्क तिरेका थियौ, उपभोक्ता समितिका वनपालेले तुरुन्त समितिलाई शुल्क बुझाउनु भन्ने खबर गरे’ अर्का बाख्रा व्यवसायी मोहनसिह ठगुन्नाले भन्नुभयो ।

उपभोक्ता समितिको तुरुन्त शुल्क बुझाउने उर्दीपछि नाम्पा वनक्षेत्रबाट आफुहरु व्यासको रेन्जपोष्ट कार्यालयमा आएको अकबरसिह धामीले बताउनुभयो । तत्काल बाख्राको चरन शुल्क नबुझाए प्रतिदिनको हिसाबले जरिवाना असुलिने उर्दी उपभोक्ता समितिबाट गएको बाख्रा व्यवसायी बताउँछन् ।

अपिनाम्पाको रेन्जपोष्टबाट कुनै सम्बोधन नभएपछि उपभोक्ता समितिलाई पाँचैजनाले बाख्रा चरनको शुल्क बुझाएका छन् । अपिनाम्पाको पोष्टमा प्रतिबाख्रा १० रुपैयाँ चरन शुल्क तिरेका बाख्रा व्यवसायीले उपभोक्ता समितिमा २० रुपैयाँका दरले शुल्क बुझाएका छन् ।

दोहोरो शुल्कको समस्या सम्बोधनको आश गरेका व्यवासायी निराश बनेका छन् । अपिनाम्पाको रेन्जपोष्टले कुनै समाधान दिन नसकेको बाख्रा व्यवसायी चन्द्रसिह धामीले बताउनुभयो । ‘हामी प्रहरी चौकीमा पनि पुग्यौ र आफ्नो कुरा राखेका छौै तर समाधान कतैबाट भएको छैन’ उहाँले भन्नुभयो ।

व्यासको नाम्पा वनक्षेत्रमा हजारौंको संख्यामा भेडाबाख्राको चरन गराइन्छ । व्यवसायिक रुपमा बाख्रापालन गरिरहेका स्थानीयले वर्षातको सिजनमा हरेक वर्ष नाम्पा वनक्षेत्रमा बाख्रा चराउने गर्दछन् । गत वर्ष पनि बाख्रा चरन शुल्क तिरेको तर एउटै पक्षले रकम संकलन गरेको धापको पौनेखोला घरभएका बाख्रा व्यवसायी गम्भीरसिह धामीले बताउनुभयो ।

गतवर्ष पनि अपिनाम्पा र उपभोक्ता समिति दुबैले रकम संकलन गरेको थियो । तर दोहोरो शुल्क तिर्नु नपरेको बाख्रा व्यवसायी बताउँछन् । यस वर्ष भने अपिनाम्पाको पोष्टमा केही दिन पहिला शुल्क तिरेका बाख्रापालकबाट उपभोक्ता समितिले उर्दी जारी गर्दै शुल्क उठाइरहेको छ ।

राखुपा उपभोक्ता समितिले वनपाले नारायणसिंह बोहरालाई शुल्क उठाउने जिम्मेवारी दिएको छ । बोहराले बाख्रापालकहरुलाई खबर पठाएर रकम संकलन गरेका छन् । चरिचरन शुल्क उठाउनेबारे उपभोक्ता समितिले निर्णय गरेको राखुपा उपभोक्ता समितिका अध्यक्ष ललितसिह बोहराले बताउनुभयो ।

भेडाबाख्राको चरन शुल्क उठाइए पनि नाम्पा वनक्षेत्रमा रहेका सयौ घोडाखच्चड र अन्य गाइवस्तुको भने शुल्क उठाइएको छैन । उपभोक्ता समितिले चरन शुल्क उठाइरहेकाले अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट शुल्क उठाउन नहुने समितिका अध्यक्ष बोहराको भनाई छ । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयबाट मौखिक आदेश आएपछि भेडाबाख्राको चरन शुल्क उठाइएको व्यास रेन्जपोष्टमा कार्यरत कर्मचारी बताउँछन् ।
 
संरक्षण क्षेत्र सरकारी व्यवस्थापन नियमावाली २०५७ को दफा ११ मा उपभोक्ता समितिलाई चरन शुल्क तोक्ने अधिकार दिएको छ । संरक्षण क्षेत्र कार्यालयले चरन शुल्क उठाउन नपाउने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयका निमित्त प्रमुख पशुपति अधिकारीले बताउनुभयो । संरक्षण क्षेत्र मातहतका पोष्टहरुबाट चरन शुल्क नउठाउन सर्कुलर गरिने उहाँले बताउनुभयो । तर हालसम्म संकलन भएको रकम सम्बन्धित व्यक्तिलाई फिर्ता नहुने उहाँको भनाई छ । राजश्व खातामा रकम जम्मा हुने भएकाले उठिसकेको रकम फिर्ता गर्न नसकिने उहाँले बताउनुभयो ।

राखुपा उपभोक्ता समितिले शुल्क निर्धारण गरे पनि यसबारे सार्वजनिक जानकारी गराएको छैन । व्यास क्षेत्रमा सार्वजनिक सुचना जारी गरिएको छैन । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयलाई चरन शुल्क निर्धारण सम्बन्धि जानकारी प्राप्त नभएको निमित्त प्रमुख अधिकारीले बताउनुभयो ।

चरन शुल्क उठाउने जिम्मेवारी उपभोक्ता समितिको भए पनि यसबारे पारदर्शी र व्यवस्थित रुपमा सरोकारवालालाई जानकारी हुन सकेको छैन । अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयले भने आफ्नै मातहतको उपभोक्ता समितिले चरन शुल्क उठाइरहदा रेन्जपोष्ट मार्फत दोहोरो शुल्क उठाउने काम गरेको छ । यार्सागुम्बा संकलनमा पनि अपिनाम्पा संरक्षण क्षेत्र र स्थानीय तहहरुले दोहोरो शुल्क उठाइरहेका छन् । 
 

अन्तिम अपडेट: चैत ५, २०८०

शंकर धामी

दार्चुलाका पत्रकार शंकर धामी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया