पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन

 फागुन १८, २०७५ शनिबार २२:७:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेकपाका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । १३ दिनदेखि आईसीयूमा राखेर उपचार गराइरहेका ८२ वर्षीय नेता भरतमोहन अधिकारीको उपचारका क्रममा ह्याम्स अस्पतालमा शनिबार राति ९ बजेर ३५ मिनेट जाँदा निधन भएको हो । 

पूर्व उपप्रधानमन्त्री अधिकारीलाई श्वासप्रश्वासलगायतका समस्या देखिएका थिए । १९९३ साल वैशाख २२ गते महोत्तरीको भ्रमणपुरा गाउँमा जन्मेका भरतमोहन अधिकारी पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ  हुनुहुन्छ ।

चारपटक अर्थमन्त्री, एकपटक यातायात तथा निर्माणमन्त्री, चारपटक सांसद, संसदीय दलको उपनेता, प्रमुख सचेतक, पार्टीको आर्थिक, उद्योग, संसदीय, अनुगमन जस्ता विभाग प्रमुख जस्ता भूमिका निर्वाह गरिसक्नुभएका नेता अधिकारीलाई ‘बुढाबुढीलाई भत्ता दिने’ र ‘आफ्नो गाउँ आफैँ बनाऔँ भन्दै गाउँमा बजेट पठाउने’ नेताका रुपमा पनि चिनिन्छ ।

२०५१ सालमा एमालेको नौ महिने शासनका अर्थमन्त्री अधिकारीले पहिलोपटक जेष्ठ नागरिकहरुलाई वृद्धभत्ता दिने र  ‘गाउँ–गाउँमा सहकारी घरघरमा रोजगारी’ कार्यक्रम सुरु गर्नुभएको थियो  । २०१८ सालदेखि कोशी प्रान्तीय कमिटीको सचिव बनेर कम्युनिष्ट आन्दोलनको नेतृत्व गरेका अधिकारी तेस्रो महाधिवेशनबाट पोलिटब्यूरो सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँलाई तत्कालीन माले र माक्र्सवादीलाई एकीकरण गराएर एमाले बनाउने नेताका रुपमा पनि  चिनिन्छ । अधिकारीकै पहलमा सात वटा वाम घटकहरु एक भएर संयुक्त वाम मोर्चा निर्माण गरेपछि २०४६ सालमा पञ्चायतविरुद्धको आन्दोलन सफल भएको थियो । 

२०६१ सालमा उप्रधानमन्त्री रहेकै बेला पूर्व राजा ज्ञानेन्द्रले कु गरेपछि उहाँ पक्राउ परेर ३ महिना घरमै नजरबन्दमा बस्नुभएको थियो । स्वर्गीय अधिकारीले २०७१ को महाधिवेशनबाट पार्टीको कुनै पनि जिम्मेवारी नलिने गरी स्वैच्छिक अवकाशको घोषणा गर्नुभएको थियो । 


 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया