नेपाल र भारतका अधिकारीहरुबीच कपिलवस्तुमा सीमा समन्वय बैठक

 फागुन १८, २०७५ शनिबार २०:५५:५२ | गोपाल भण्डारी
unn.prixa.net

कपिलवस्तु - कपिलवस्तुसँग सीमा जोडिएको भारतको सिद्धार्थनगर जिल्लाको सुरक्षा अधिकारीहरुसँग कपिलवस्तुको तौलिहवामा शनिबार संयुक्त समन्वय बैठक सम्पन्न भएको छ ।

तौलिहवामा रहेकाे सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयमा सम्पन्न बैठकमा दुई देशको सीमा व्यवस्थापन, अन्तर सीमा अपराध नियन्त्रण, सीमा क्षेत्रमा हुने चोरी तस्करी नियन्त्रण लगायतको विषयमा छलफल गरिएको छ । 

यसै गरी भारतमा आउँदो मार्च महिनामा हुन लागेको आम निर्वाचनमा सीमा क्षेत्रमा हुन सक्ने घुसपैठ र अपराध नियन्त्रणका विविध पक्षमा समेत बैठकमा छलफल गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय कपिलवस्तुका शशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीले बताउनु भयो । 

बैठकमा भारत सिद्धार्थ नगर जिल्लाका डि.एम.कुनाल सिल्कु, प्रहरी प्रमुख डा. धर्मवीर सिंह, एस.एस.बी ४३ बटालियनका कमाण्डेन्ट जनार्दन प्रसादको उपस्थिति रहेको थियो । 

यसै गरी नेपालका तर्फबाट कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, प्रहरी उपरीक्षक अच्युतम पुडासैनी, शशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, राष्ट्यि अनुसन्धानका निमित्त जिल्ला प्रमुख विनय चर्तुवेदी र रुपन्देहीका शशस्त्र प्रहरी उपरीक्षक बसन्त कुमार बोगटीको उपस्थिति रहेको थियो । 

नियमित रुपमा दुवै सीमावर्ती दुवै देशमा गरिने यस्ता बैठकबाट सीमा क्षेत्रमा आइपर्ने विवाद नियन्त्रण, सीमा सुरक्षा र अपराध नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताउनु भयो । 

अन्तिम अपडेट: चैत २६, २०८०

गोपाल भण्डारी

गोपाल भण्डारी कपिलवस्तुका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया