टीकापुर घटना : सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

 फागुन २२, २०७५ बुधबार १४:३३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

सांसदकाे सपथ लिएपछि रेशम चाैधरी -फाइल फाेटाे

कैलाली – जिल्ला अदालत कैलालीले टीकापुर घटनामा दोषी ठहर गर्दै संघीय सांसद रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको छ ।

न्यायाधीश परशुराम भट्टराईको इजलाशले २०७२ भदौ ७ गते टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा सांसद रेशमलाल चौधरीसहित ११ जनालाई २०–२० वर्ष कैद गर्ने फैसला गरेको हो । 

क–कसलाई सुनाइयो जन्मकैदको फैसला ?

रेशमलाल चौधरी, हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भन्ने सिताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरी

यी प्रतिवादीमध्ये श्रवण चौधरी नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐन २०४८ को दफा ११(३) अनुसार आधा सजाय अर्थात १० वर्ष कैद हुने ठहर अदालतले गरेको छ ।

टीकापुर घटनाका प्रतिवादीमध्ये ११ जनालाई आजै थुनामुक्त गरिनेछ । १२ जना प्रतिवादीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७(३) नम्बरअनुसार जनही ३ वर्ष कैद हुने ठहर गरिएको थियो । यिनीहरुको कैद अवधि भुक्तान भैसकेकाले आजै रिहा हुनेछन् । चुन्नीराम चौधरी भने फाुगन ३० गते रिहा हुनेछन् ।

आजै थुनामुक्त हुनेहरु

लक्ष्मण थारु, लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी विश्राम भन्ने जितबहादुर चौधरी, प्रेमबहादुर चौधरी, किशनलाल चौधरी, दिलबहादुर चौधरी, संगम भन्ने सन्तोष थारु चौधरी, रामप्रसाद चौधरी

यसैगरी प्रतिवादी करन चौधरीलाई बालबालिका ऐन २०४८ को दफा ११(२) बमोजिम ६ महिना कैद हुने ठहर भएको र उनको पनि कैद भुक्तान भैसकेकाले आजै थुनामुक्त हुनेछन् । 

अन्य प्रतिवादी नुरुल अलि जागा भन्ने तहाँवर अलि जागा, विसराम चौधरी(कुस्मीं) र रामनरेश चौधरीले सफाइ पाउने अदालतले ठहर गरेको छ । 

टीकापुर घटनामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी गरी तीन प्रकारको वारदातको अभियोग लगाइएको थियो । डाँका चोरीतर्फ सबै जनाले सफाइ पाएका छन् 

घटनापछि फरार रहेका रेशम चौधरीले गएको वर्षको फागुन १४ गते जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका थिए । उनलाई त्यहाँबाट जेल सारेर काठमाण्डौ ल्याइएको छ । जेलमै भएका बेला संघीय संसदले केही दिन अघि चौधरीलाई सांसदको सपथ गराएको थियो ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठजना प्रहरी र एकजना नाबालकको ज्यान गएको थियो । घटनामा संलग्न रहेको आरोप लागेका ३१ जना अझै फरार छन् । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया