लैंगिक समानताको बाधक संस्कार कि पुरुष ?

 फागुन २४, २०७५ शुक्रबार १७:२५:५ | विना न्याैपाने
unn.prixa.net

१०९ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाले शुक्रबार तनहुँको दमौलीमा आयोजना गरेको प्रभातफेरिमा सहभागी मुस्लिम समुदायका महिला, तस्वीर : रासस

काठमाण्डौ – आज अन्तर्राष्ट्रिय नारी दिवस । प्रत्येक मार्च ८ मा नारी दिवस मनाइने गरिन्छ । सन् १९०९ फेब्रुअरी २८ मा अमेरिकामा सोसलिष्ट पार्टीले महिलाहरुको सहभागिता गराएर महिला सशक्तीकरणको आवाज उठाएको थियो । सन् १९१० मा अन्तर्राष्ट्रिय महिला सम्मेलन भयो र त्यहीँबाट मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस मनाउन थालियो । 

२०औँ शताब्दीको सुरुवातसम्म पनि विश्वका अधिकांश देशमा महिलालाई मतदानको अधिकार थिएन ।  विभिन्न समयमा भएका महिला आन्दोलनबाटै अमेरिका, बेलायत, फ्रान्सजस्ता पश्चिमा देशमा पनि महिलालाई मताधिकार प्राप्त भयो । अझै पनि कतिपय देशमा महिलाले मताधिकार प्राप्तका लागि लडिरहनुपरेको छ ।

सन् २०१५ डिसेम्बर १२ मा मात्र साउदीका महिलाले मतदान गर्न पाउने स्वतन्त्रता पाएका थिए । त्यसो त साउदीमा  चुनाव नै विरलै मात्रामा हुन्छ । नगरका चुनावमै ए पनि साउदी महिलाले मत हाल्न पाउने भएका छन् । अहिले पनि समानताका लागि महिलाले निकै संघर्ष गरिरहनुपरेको छ ।

तर अहिले अन्तर्राष्ट्रिय रुपमै महिला अधिकारको क्षेत्र फरक भएको छ । नेपालमा पनि महिला आन्दोलनले निकै ठूलो फड्को मारेको छ । महिलाहरुले पुरुषलाई विदेशमा काम गर्न पठाएर घरव्यवहार धानेका छन् । हलो नाघ्नेसम्म स्वतन्त्रता नभएका महिलाले आफै जोत्ने गरेका छन् । दाहसंस्कार गर्दा पुरुषले मात्रै दागबत्ती दिने तथा किरिया बस्ने प्रचलनमा समेत परिवर्तन भएको छ । महिलाले पनि मृत्यु संस्कारमा दागबत्ती दिएका छन् । 

यी सबै परिवर्तन हुन एक शताब्दीभन्दा बढी महिलाहरुले ठूलो संघर्ष गर्नुपरेको छ । तर पुरुषको सहभागिताबिनाको संघर्षले परिवर्तनमा निकै बाधा पुर्याएको छ । महिला अधिकार खोज्दा पुरुषलाई विपक्षी ठान्ने परम्परा झनै बढ्दै गएको छ । साम, दाम, दण्ड, भेदमै महिला र पुरुषको बीचमा ठूलो खाडल छ । त्यो खाडल पुर्न महिलाको आन्दोलनमा पुरुषले पनि साथ दिन आवश्यक छ ।

नेपालमा वैदेशिक रोजगारीले सामाजिक संरचना र महिला पुरुष समानतामा थुप्रै परिवर्तन ल्याएको छ  । तर आर्थिक क्रियाकलापमा भने परनिर्भरता बढ्दै गएको छ । पुरुषले विदेशमा गएर कमाउने र महिलाले त्यही कुरा उपभोग गर्नुपर्ने बाध्यता छ ।

समानताका लागि त महिलाले पनि आत्मनिर्भर बन्नैपर्छ । सामान्य औपचारिक कार्यक्रममै पनि पुरुष र महिलाबीच दूरी बढाइएको हुन्छ । कार्यक्रममा महिलालाई स्वागत गर्न पुष्पगुच्छा बोकेर बस्न लगाइन्छ । कहिल्यै पुरुषहरु पुष्पगुच्छा बोकेर स्वागतमा बसेको देख्नुहुन्छ ? कि पुरुषले स्वागत गर्न हुँदैन ?

हाम्रो सोच यहीबाट परिवर्तन हुन आवश्यक छ । समानता यहीबाट सुरु हुनुपर्छ । हाम्रो समाजमा अहिले पनि पूजापाठ, विवाह, ब्रतबन्ध भइरहेका ठाउँमा महिलाको काम टीकाको थाली बोकेर गेट नजिक बस्ने अनि पाहुनालाई टीका लगाइदिने, भान्छामा काम गर्ने, पानी ओसार्ने मात्रै हुन्छ । पुरुष महिलाबीच समानता ल्याउन यस्ता क्षेत्रमा सुधार हुन आवश्यक छ ।

तस्बिर : रासस

अहिले पनि घरबाटै हुने गरेको भेद्भाव हट्न सकेको छैन । कतिपय परिवारमा छोरा र छोरीलाई हेर्ने सोच नै फरक छ । छोरी राति ८ बजेसम्म घरमा पुगिनन् भने सबैलाई चिन्ता हुन्छ तर छोरा रातको १० बजेसम्म पनि आएन भने कसैलाई चिन्ता हुँदैन । 

हाम्रा सामाजिक नियम र मूल्य मान्यता पनि महिलालाई पीडा थप्ने खालकै छन्। । छाउपडी प्रथाका कारण कति महिला पीडित भइरहेका छन् । । मौन रहेका भगवानको नाममा कति महिलालाई मौन बनाइन्छ । उनीहरुको आवाजमा बन्देज लगाइएको छ । यस्ता उदाहरणले समाजमा अझै पनि महिलाले कुन स्थितिमा दैनिकी गुजार्नु परेको प्रष्ट हुन्छ ।

छोरीको पहिचान गरेर भ्रुणहत्या गरिएको खबर आउन छाडेका छैनन् । बलात्कारको समाचार कहिल्यै पनि छुट्दैन । अनेकथरि सामाजिक अड्चनले पीडित महिलालाई समाजिक बन्धन नाघ्न अप्ठ्यारो बनाएको छ । चेतनाको कमी र झन्झटिलो कानुनी प्रक्रियाका कारण पनि महिलाले पीडा दबाएर बस्न बाध्य हुनुपरेको छ ।

समाज बदलिँदै पनि गएको छ । यो खुशीको कुरा हो ।  तर सार्वजनिक कार्यक्रमले मात्रै महिला सशक्तिकरण हुँदैन । व्यवहारिक परिवर्तन भएको छैन । 
महिला अधिकार प्राप्त गर्न पुरुषप्रति कटाक्ष आवश्यक भने छैन ।

यो सामाजिक संरचना र सोचको दोष हो । हामीले हाम्रा मूल्यमान्यता र सामाजिक संरचनामा परिवर्तन आवश्यक छ ।
 

अन्तिम अपडेट: असार २८, २०७६

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया