प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सरकारका लागि ठूलो सुरक्षा चुनौतीको रुपमा खडा भएको छ । एक वर्षअघि भएको तीनै तहको चुनावका बेलामा पनि यही समूहलाई सुरक्षा चुनौतीका रुपमा लिइएको थियो ।
तर चुनावपछि विप्लब समूहको गतिविधि सुस्त देखिँदा यसलाई सुरक्षा संयन्त्रहरुले समेत चुनौतीका रुपमा हेर्न छाडे । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट कुनै पनि सुरक्षा चुनौती नरहेको दाबी नै गर्नुभएको थियो ।
बाँके, दाङ, बर्दिया, कैलाली, बैतडी, डडेल्धुरा, अछामलगायतका विभिन्न जिल्लाको एक हप्ता लामो स्थलगत भ्रमण गर्नुभएको थियो । भ्रमणबा६ फर्कने क्रममा गएको पुस १५ गते कैलालीमा भएको एक कार्यक्रममा आईजीपी खनालले विप्लव समूहबाट कुनै पनि सुरक्षा चुनौती नभएको दावी गर्दै नेपाल प्रहरी विप्लव नेतृत्वको नेकपालगायत अन्य विद्रोही शक्तिलाई दबाउन र नियन्त्रण गर्न सक्षम रहेको जिकिर गर्नुभएको थियो ।
तर त्यसको एक महिनापछि फागुन १० मा विप्लव समूहले काठमाण्डौको नख्खुमा एक जनाको ज्यान जाने गरी बम विस्फोट गराएर प्रहरी प्रमुख खनालको दाबीलाई फितलो सावित गराइदियो ।
नख्खु बम बिस्फोटको छानबिन गरी सक्न नपाउँदै विप्लव समूहले फेरि गएको शुक्रबार काठमाण्डौको बसुन्धारामा म्यानपावर व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट गरायो । बम विस्फोटमा २ जना घाइते भए भने अध्यक्ष गुरुङ चढ्ने गाडी पूर्ण रुपमा क्षति भयो । घरमा पनि सामान्य नोक्सानी भयो ।
शुक्रबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई नेकपा भन्ने नाम त्यागेर ‘लुटेरा समूह’ नाम राख्न सुझाव दिँदै यस्ता लुटेरा समूहलाई निस्तेज पार्न सरकार सक्षम रहेको दाबी गर्नुभएको थियो । तर प्रधानमन्त्रीले बोलेको ६ घण्टा नबित्दै साँझ विप्लव समूहले बम विस्फोट गराएर आफ्नो ‘शक्ति’ देखाउने काम गर्यो ।
त्यति मात्रै नभई शुक्रबार नै उसले सुदूरपश्चिम प्रदेशकी प्रदेशसभा सांसद देवकी मल्ललाई ३ घण्टा आफ्नो नियन्त्रणमा लियो ।
काठमाण्डौमा नै निर्धक्कसँग बम पड्काउने समूहलाई कमजोर भनेर हलुका टिप्पणी गर्ने काम गर्न नहुने नेपाल प्रहरीका पूर्व डीआईजी हेमन्त मल्ल ठकुरी बताउनुहुन्छ ।
‘उनको समूहमा संख्याको हिसाबले कम होला तर यसरी निर्धक्कसँग बम पड्काउने उच्च मनोबल र संयन्त्र पनि बलियो रहेको देखिँदा उनलाई कम आँक्नु हुँदैन’, मल्ल बताउनुहुन्छ ।
हिजोका घटनाबाट पाठ सिकेर जतिसक्दो छिटो राजनीतिक सम्बोधनबाटै समस्याको हल खोज्नुपर्नेमा उहाँको जोड छ । ‘प्रहरीले पक्राउ गर्नै नसक्ने होइन, धमाधम पक्राउ गर्दै उनीहरुलाई थुन्न सक्छ तर यसरी पक्राउ गर्नतिर लाग्दा प्रहरीको अन्य गतिविधि ठप्प हुन्छ’, उहाँले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘त्यसैले यसको स्थायी समाधान भनेको वार्ताको टेबलमार्फत नै हो त्यो गर्न अब ढिला गर्नु हुँदैन ।’
बहिर्गमित जनमुक्ति सेना नेपालका अधयक्ष लेनिन बिष्ट पनि शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा नपुर्याउँदा विप्लब समूहले खेल्ने मौका पाएको बताउनुहुन्छ ।
केही मान्छेलाई केही पैसा दिनु नै शान्ति प्रकृयाको सबै पाटो सकियो भन्नु उचित नभएकाे पनि उहाँले बताउनुभयाे ।
‘वेपत्ताहरुको अवस्थाको अहिलेसम्म कुनै जानकारी छैन । बहिर्गमित लडाकुहरुको व्यवस्थापन गर्ने काम भएकै छैन,’ उहाँले भन्नुभयाे, ‘पाँच लाख दिएर बाहिर पठाउनु मात्रै उनीहरुको व्यवस्थापन होइन नि ।’
घाइते, अशक्तहरुको लागि उपचार तथा परिपूरणका कुरामा पनि कुनै काम हुन नसकेकाे पनि उहाँले बताउनुभयाे । ‘शान्ति प्रकृयाको महत्वपूर्ण पाटो त ज्युँका त्यु छ नि’ उहाँले भन्नुभयाे, ‘यी तमाम कुराहरुकाे सम्बाेधन नहुँदा बहिर्गमित लडाकुहरु असन्तुष्ट छन् ।’
हातहतियार बनाउनेदेखि चलाउनेसम्मको योग्यता पूर्व लडाकुसँग रहेको भन्दै बिष्टले अहिले विप्लव समूहले त्यही लडाकुहरुलाई समेटेर अघि बढेको पनि बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपाले त्यही असन्तुष्ट लडाकुहरुलाई आफ्नो समूहमा सामेल गराएको छ । बिष्टका अनुसार अहिले विप्लवसँग बहिर्गमित लडाकुमध्ये झण्डै ३० प्रतिशतको सख्यामा पूर्व लडाकुहरु सामेल छन् ।
सानैमा युद्धमा होमिएका उनीहरुसँग न त औपचारिक शिक्षा छ न त कुनै सीप । जानेको हतियार बनाउन र चलाउन त्यै भएर पनि उनीहरु अहिले विप्लव समूहतर्फ आकर्षित भएको उहाँ बताउनुहुन्छ ।
‘उनीहरुलाई पनि अब लडेर हुने केही छैन भन्ने थाहा छ’, बिष्ट भन्नुहुन्छ, ‘तर पनि पार्टी र सरकारप्रतिको आक्रोशले उनीहरुलाई फेरि बम बारुद खेलाउन बाध्य बनाइदिएको छ ।’ विप्लवसँग हतियार छ छैन भन्ने कुराले ठूला महत्व नराख्ने उहाँ बताउनुहुन्छ ।
‘विप्लवसँग हतियार नभए पनि हतियार बनाउन सक्ने क्षमता भएका मान्छे छन् । यो भनेपछि हतियार छ छैन खोजी रहनै परे’, उहाँले भन्नुभयो, ‘स्वभाविक रुपमा उनीहरु नै हतियार हुन् ।’
हतियार कहाँ गएर खरिद गरेर ल्याउने भन्नेदेखि त्यसका लागि कसरी चन्दा उठाउने भन्ने सम्मको कुरा उनीहरुलाई जानकारी रहेको बिष्ट बताउनुहुन्छ । ‘तत्कालीन माओवादीबाट उनीहरुले यही कुरा सिक्ने मौका पाए । आज उनीहरुले प्रयोग गर्दै छन्’, बिष्टले भन्नुभयो ।
विप्लव समूहसँग अत्याधुनिक हतियारहरु रहेको बेला–बेलाका घटनाहरुले देखाउने गरेको छ । गएको फागुन १५ गते धरानबाट एक थान एम–१६ राइफल, एक थान एलएमजी (लाइट मेसिन गन) र त्यसमा प्रयोग हुने २ थान म्याग्जिन बरामद भयो ।
त्यस्तै फागुन २३ गते अर्थात गएको बिहीबार मात्रै पनि नेत्रविक्रम चन्द विप्लवको गाउँमा छापा मारेर एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित बम बनाउने विस्फोटक पदार्थ बरामद गर्यो ।
यसले विप्लव समूहसँग अत्याधुनिक हतियारहरु ठूलो मात्रामा भण्डारणमै रहेको छ भनेर पुष्टि गरेको पूर्व डीआईजी मल्ल बताउनुहुन्छ । तत्कालीन माओवादी शान्ति प्रक्रियामा आउँदा उसँग कति हतियार थिए भन्ने तथ्यांक नहुनु र निकै कम मात्रामा हतियारहरु प्रमाणीकरण हुनुले पनि ठूलो मात्रामा त्यतिबेला हतियारहरु बाहिर लुकाइएको वा चोरिएको हुन सक्ने आशंका उहाँ गर्नुहुन्छ ।
तत्कालीन माओवादी सशस्त्र द्वन्द्वका समयमा उसले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाबाट ६ हजार ७८ थान साना ठूला हतियार लुटेको सरकारी तथ्यांकमा उल्लेख छ । त्यसमध्ये सबैभन्दा बढी नेपाल प्रहरीबाट ३ हजार ४ सय ९ थान, सशस्त्र प्रहरीको एक हजार ८ सय २९ र नेपाली सेनाको ८ सय थान हतियार कब्जामा लिएको थियो ।
तर शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका बेला उसले थोरै मात्र हतियार सरकारलाई बुझाएको थियो । यसले ठूलो संख्यामा प्रहरी र सेनाबाट लुटेका हतियार अझै पनि बाहिरै रहेको पुष्टि हुन्छ ।
माओवादीका १ हजार ४ सय ६० लडाकुहरु २०६९ मंसिर १० मा नेपाली सेनामा समायोजन भएका छन् । तर लडाकुसँगै उनीहरुसँग रहेका सबै हतियार तत्कालीन माओवादीले नबुझाउँदा अहिलेको अवस्था आएको पूर्व डीआईजी मल्ल बताउनुहुन्छ ।
विप्लव समूहसँगबाट अहिले भेटिएको एम–१६ अमेरिकी राईफल नेपाली सेनासँग थोरै मात्र छ । झण्डै १ लाखको संख्यामा रहेको नेपाली सेनासँग जम्मा १५ हजार थान मात्रै यो हतियार रहेको छ । यस्तै एलएमजी पनि निश्चित संख्यामा मात्रै छ ।
पहिलेका हतियार उनीहरुसँग नभए पनि खुला सिमानाका कारण हतियार भित्र्याउन भने उनीहरुले सहजै सक्ने मल्ल बताउनुहुन्छ । पूर्व लडाकु बिष्ट पनि हतियार कहाँ गएर किन्ने, आर्थिक संकलन कसरी गर्ने भन्ने जानकारी पर्याप्त रहेको हुँदा हतियार भित्र्याउनु ठूलो कुरो नभएको दाबी गर्नुहुन्छ ।
विप्लबको गतिविधि राजनीतिक रुपमा जतिसक्दो छिटो समाधान गर्न नसके उनीहरुले अबका दिनमा फेरि पहिले जसरी नै चौकीमै हान्न सक्ने संभावना देख्नुहुन्छ डीआईजी मल्ल ।
विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई गएको साउनमा पक्राउ गर्दा प्रहरीले उनीसँगै पार्टीको महत्वपूर्ण दस्तावेजहरु हात पार्यो ।
पार्टीको दस्तावेज र खर्च विवरणहरुले विप्लव समूहले ठूला उद्योग तथा घरानाहरुबाट चन्दा संकलन गरेको भेटिएको प्रहरीले बताएको थियो । त्यति बेला झण्डै ७ करोड रुपैयाँ चन्दा संकलन गरेको र ५ करोड विभिन्न शीर्षकमा खर्च भइसकेको दस्ताबेज प्रहरीले हात पारेको थियो ।
जसमा उसले प्राविधिक सहयोगका लागि बंगलादेशमा १ लाख पठाएको पनि उल्लेख थियो । यसले विप्लव समूहले बंगलादेशबाट पनि हतियार खरिद गरेको हो कि भन्ने आशंका उत्पन्न गराएको छ ।
पछिल्लो समयमा पनि एनसेलसँग रकम माग गरेको र नदिएपछि विस्फोट गराएको भन्ने कुरा सार्वजनिक भएको छ । अहिले उसले धमाधम चन्दा संकलन गर्ने अभियान नै चलाएको छ ।
विभिन्न जिल्लाका स्थानीय तहका प्रमुखहरु, शिक्षणसस्था, उद्योग कलकारखाना, निर्माण व्यवसायी, वैदेशिक रोजगार व्यवसायीसँग चन्दा माग गरेका पत्रहरु उसले पठाइरहेको छ । गएको शुक्रबार पनि वैदेशिक रोजगार व्यसायीसंघका अध्यक्ष गुरुको घरमा विस्फोट गराउनुको कारण पनि चन्दा कै विषयलाई लिएर भएको खुलेको थियो ।
आफूहरुले भने जति चन्दा नदिए बम विस्फोट गराएर क्षतिसम्म गराउने चेतावनी दिँदै उनीहरुले अहिले त्रास देखाउँदै चन्दा संकलन गरिरहेका छन् ।
मधेसमा विखण्डनको अभियान चलाइरहेको सीके राउत समूहलाई वार्ता मार्फत मूलधारको राजनीतिमा ल्याएको सरकारले अब विप्लव समूहलाई पनि यथासक्य छिटो वार्तामार्फत नै मूल धारको राजनीतिमा ल्याउनुपर्छ ।
सरकारले संविधानभन्दा बाहिर रहेका समूहहरुसँग वार्ता गर्न गठन गरेको राजनीतिक वार्ता टोलीले पनि विप्लव समूहसँग वार्ता गर्ने प्रयास गरेको थियो । थुप्रै पटक विप्लव समूहका प्रतिनिधिसँग अनौपचारिक वार्ता गरेको टोलीले औपचारिक वार्ता गर्न भने सकेन ।
तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेका अनुसार अहिले पनि उनीहरुसँग वार्ताका लागि पहल भइरहेको छ । तर वार्तामा आउन उनीहरुले नै चासो नदेखाएको पाण्डेले बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ ले पनि के–के विषयमा वार्ता गर्ने ? वार्ताप्रति सरकारको धारणा के हो ? भन्नेबारे प्रष्ट नभएकाले वार्ताको औचित्य नभएको बताउनुभयो ।
‘हामी समानान्तर सत्ता सञ्चालन गरेर अघि बढ्दैछौँ’, उहाँले भन्नुभयो, ‘जनसत्ताको वकालत गर्दै हिँडेको पार्टीलाई वार्ताका लागि लिखित रुपमा अहिलेसम्म कुनै पत्र प्राप्त पनि भएको छैन, त्यसैले वार्ताका लागि अहिल्यै पार्टीले कुनै निर्णय पनि गरेको छैन ।’
राजनीतिक स्वतन्त्रता हुनुपर्ने, दलाल पूँजीवादीको भण्डाफोर गर्न पाउनु पर्ने र जनताको विरोध गर्न पाउने अधिकार सुनिश्चित गर्ने कुरा भए मात्रै आफूहरु वार्तामा जाने नभए जनसत्तामार्फत सरकार सञ्चालन गर्ने चेतावनी पनि दिनुभयो ।
बम पड्काउँदै हिँड्ने, मान्छे मार्दै हिँड्नेहरु राजनीतिक समूह हुन नसक्ने प्रधानमन्त्रीका परराष्ट्र विज्ञ राजन भट्टराई बताउनुहुन्छ । विध्वंसात्मक गतिविधिमा सामेल भएकाहरुलाई राज्यले त्यहीअनुरुप कारबाही गर्ने भन्दै विप्लव समूहलाई पनि छुट नहुने बताउनुभयो ।
हिजो विखण्डनको मुद्धा उठाएका व्यक्ति आज त्यो सबै छाडेर आएकाले वार्तामार्फत सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराइएको भन्दै उहाँले विप्लव समूह पनि ध्वंसात्मक गतिविधि छाडेर आए वार्ताको माध्यमबाट शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन सकिने बताउनुभयो ।
फुयाँल सञ्चारकर्मी हुनुहुन्छ । उहाँ राजनीति, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउनु हुन्छ।