उरुग्वेको वास्तविक परीक्षा रुससँग

 असार ११, २०७५ सोमबार १६:४५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

आयोजक रुस र उरुग्वे विश्वकपको समूह ए बाट नकआउट चरणमा प्रवेश गरिसकेका छन् । समूहको यसअघिका दुवै खेलमा जित हासिल गरेको दुवै टोली समूह विजेताको छिनोफानोका लागि आज साँझ पौने ८ बजे सामारा एरिनामा भिड्दैछन् ।
 
रुसका पूर्व स्ट्राइकर आन्द्रेइ कन्चेल्स्किसले रुसी टोली अहिलेसम्मकै खराव टोलीको रुपमा टिप्पणी गरेका थिए । तर, यावत नकारात्मक टिप्पणीलाई चिर्दै घरेलु टोलीले मोहम्मद सलाह र इजिप्टको टोलीलाई ध्वस्त पार्नु अघि सुरुवाति खेलमा रुसले साउदी अरेबियालाई ५–० ले निराश पारेको थियो ।
 
दोस्रोतर्फ उरुग्वे भने समूहमा दुई खेलमा जित हासिल गर्नुका बाबजुद कम मनोरञ्जनात्मक रह्यो । उसले इजिप्ट र साउदी अरेबिया दुवै विरुद्धको खेलमा समान १–० को जित हासिल गरेको थियो । दुवै खेलमा उसले अपेक्षाकृत बढी संघर्ष गर्नुपरेको थियो । उसको वास्तविक परीक्षा रुसविरुद्धको खेलमा हुने निश्चित छ ।
 
उरुग्वेले मुख्य गरी मिडफिल्डमा बढी संघर्ष गरिरहेको छ । यद्यपि साउदी अरेबियाबिरुद्धको खेलमा सब्स्टिच्यूट खेलाडीको रुपमा मैदान प्रवेश गरेका लुकास टोरेइराले प्रभावशाली प्रदर्शन गरेका थिए ।
 
उरुग्वेले अन्तिम १६ को खेलमा स्पेन वा पोर्चुगलमध्ये एकसँग खेल्नेछ । त्यसका लागि उसले स्ट्राइकरहरु लुइस स्वारेज र एडिन्सन काभानी तथा डिफेण्डरहरु जोसे जिमिनेज र डिएगो गोडिनलाई पनि आराम दिनुपर्नेछ ।
 
रुसका लागि भने यो उत्साहलाई कायम राख्नु चुनौती हुनेछ । इजिप्टविरुद्धको खेलमा खुट्टाको चोट बोकेका लेफट–ब्याक युरी झिर्कोभले उरुग्वेविरुद्धको खेल गुमाउनेछन् । रुसका टिम डक्टर एडुवार्ड बेजुग्लोभले भनेका छन्, ‘साउदी अरवको खेलपछि नै उनी खुट्टाको सामान्य समस्याबाट गुज्रिएका थिए, उनी बिस्तारै निको हुँदैछन् ।’
 
विश्वकप अघिसम्म व्यापक उपहासको सामना गरेका रुसी खेलाडीहरु अहिले आफ्नो नवीन स्थितिमा आनन्दित छन् । आफ्नो टोलीको पछिल्ला दुई प्रदर्शनमा रुसी स्ट्राइकर अलेक्जान्दर गोलोभिन अभिभूत छन् ।
 
उनले फिफा डट कमसँग भनेका छन्, ‘विश्वकपको यो माहोलमा कसैले कसैसँग तुलना गर्नु प्रत्युत्पादक हुन्छ ।’
 
‘च्याम्पियन्स लिगमा ठूलो क्लब म्यानचेस्टर युनाइटेडविरुद्ध खेल्दा जस्तो तुलना यो स्टेजमा गर्नुहुँदैन । विश्वकप हाम्रै देशमा हुँदैछ र सबै घरेलु समर्थक हामीसँग छन् ।’
 
‘यस्ता खाले भावनात्मक समर्थन, प्रत्येक खेलमा हाउसफूल रंगशालामा खेल्न निक्कै रमाइलो हुन्छ । हाम्रो टिमका लागि यो जरुरी पनि छ ।’

 

प्लेयर्स टू वाच

लुकास टोरेइरा – उरुग्वे
 
२२ वर्षीय लुकास उरुग्वेको स्थानीय क्लव बफ्रे बेन्टोसका हुन् ।  उनी इंग्लिस क्लब आर्सनलसँग अनुबन्ध हुने सम्भावना प्रवल छ । ओस्कार तावारेजको मिडफिल्डको जिम्मेबारी रुसविरुद्धको खेलमा उनले लिने अपेक्षा गरिन्छ । उनी यसअघिका खेलमा प्लेइङ सेटमा नपरे पनि सब्स्टिच्यूट खेलाडीका रुपमा उरुग्वेको मिडफिल्डको स्तर उकासेका थिए ।
 
अलेक्जान्दर गोलोभिन – रुस
 
सुरुवाति दुई खेलमा शानदार जित हासिल गरेको रुसी टोलीलाई फेरिएको टिम भनिएको छ । त्यही फेरिएको टिमका मुख्य खेलाडी हुन् गोलोभिन् । उनले यसअघिका दुई खेलमा करिब २५ किलोमिटर ग्राउण्ड कभर गरे, जुन रुसका अन्य खेलाडीले भन्दा धेरै हो ।
 
म्याच फ्याक्ट्स
– रुसले उरुग्वेसँगको आठ भेटमा ६ खेलमा जित हासिल गरेको छ (सोभियत युनियनसमेत) । विश्वकपमा पनि यी टोली परिचित प्रतिस्पर्धी हुन् ।
 
– रुसले पछिल्लो चार विश्वकपमा दक्षिण अमेरिकी प्रतिस्पर्धीविरुद्ध जित हासिल गर्न सकेको छैन ।
 
– रुसले आफूले खेलेका यसअघिका दुई विश्वकपमा भन्दा यो एउटै विश्वकपमा धेरै गोल (८ गोल) गरिसकेको छ । सन् २००२ र २०१४ मा उसले ६ गोल गरेको थियो ।
 
– युरोपेली आयोजक मुलुकमध्ये मात्र तीनवटाले समूह चरणमा तीनै खेलमा जित निकालेका छन् । सन् १९९० मा इटली, १९९८ मा फ्रान्स र २००६ मा जर्मनीले समूह चरणका तीन वटै खेल जितेका थिए । 
 
– फर्नाण्डो मुस्लेराले आजको खेलबाट उरुग्वेका लागि १०० क्याप जित्नेछन्, साथै उनी उरुग्वेका लागि सय वा त्योभन्दा धेरै क्याप जित्ने सातौं खेलाडी बन्नेछन् ।
 
– डेनिस चेरिसेभ जारी विश्वकपमा रुसका सर्वाधिक गोलकर्ता हुन् । उनले ३ गोल गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया