नमुना शहर चाैरजहारीमा नगर बस: ५० प्रतिशत छुटमा यात्रा गर्न पाइने

 फागुन ३०, २०७५ बिहिबार १३:४१:५३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – सरकारले घोषणा गरेको १० नमुना शहरमध्येको चौरजहारी नमुना शहरमा अब नगर बस सञ्चालन हुने भएका छन् । 

चौरजहारी नगरपालिकाले सञ्चालन गर्ने नगर बसमा यात्रुहरुले ५० प्रतिशत छुटसमेत पाउनेछन् । 

आफ्नै बस सञ्चालन गरेर नगरमा सहज र सुविधायुक्त यातायात सेवा दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका अन्तिम तयारीमा रहेको छ । नगर प्रमुख विशाल शर्माले उज्यालोसँग भन्नुभयो, ‘३ ओटा बस किनिसक्यौँ अब तत्काल सञ्चालन गर्छाैँ ।’ उहाँका अनुसार नगरवासीको चाहनालाई प्राथमिकता दिँदै उक्त कार्य थालिएको हो । 

यातायात क्षेत्रमा जनताले समस्या झेल्दै आएकोले बैँकबाट ऋण लिएर भए पनि जनतालाई सहज यातायात सुविधा दिन नगरपालिकाले नयाँ बस भित्र्याएको छ ।

‘नगरवासीको हितका लागि हामी ऋणी बन्न तयार छौ,’ नगर प्रमुख शर्माले भन्नुभयो, ‘बैंकबाट ऋण लिएर पनि जनतालाई सुविधा दिँदैछौ ।’

नगरपालिकाले ९२ लाख १५ हजारमा ३ वटा बस किनेको हो । दुईवटा बस ३१ लाख १० का दरले किनिएको हो भने एउटा बस २७ लाख ९५ हजारमा किनिएको नगरपालिकाले जनाएको छ । 

दुईवटा गाडी ३२-३२ सिट क्षमताका छन् भने एउटा गाडी २६ सिट क्षमताको छ । 

नगरपालिकाले नगर बसका रुपमा बस खरिद गरेको हो । नगरपालिकाले बस खरिदका लागि १ करोड ४ लाखको टेण्डर आह्वान गरेकामा सिप्रदीले ९२ लाख १५ हजारमा टेण्डर पाएको थियो । 

नगरपालिकाले बसका लागि बैंकबाट ऋण लिन लागेको छ । आन्तरिक स्रोतबाट सबै खर्च व्यहोर्न सम्भव नभएपछि नगरपालिकाले बैंकबाट ऋण लिएरै भए पनि बस सञ्चालन गर्ने निति लिएको हो । 

‘किस्ता किस्तामा ऋण चुक्ता गर्ने गरी बैंकबाट ऋण लिने तयारी भैरहेको छ,’ उहाँले भन्नुभयो, ‘बसबाट संकलित रकमबाट किस्ता तिरिने छ ।’ 

नगरपालिकाले कुनै कामका लागि बजेट अपुग भएमा बैंकबाट ऋण लिने नीति लिएको छ । 

नगरपालिकाले यातायायात व्यवस्थापन ऐन २०७५ अनुसार नगर बस सञ्चालन गर्न लागेको हो । नगरपालिकाले चैत्र पहिलो सातापछि नगर बस सञ्चालन गर्ने तयारी गरेको छ । 

बस ल्याइसकिएको र अब चालकको व्यवस्थासहित केही नीतिगत व्यवस्था गरेर बस सञ्चालन गरिने नगर प्रमुख शर्माले बताउनुभयो । 

नगरपालिकाले चालकका लागि सात दिने सूचनासमेत सार्वजनिक गरिसकेको उहाँको भनाइ छ । 
चैत्र पहिलो सातासम्म नगर बस सञ्चालनसम्बन्धी सम्पूर्ण व्यवस्था गरिसक्ने र त्यसपछि बस सञ्चालन गर्ने नगर प्रमुख शर्माको भनाइ छ । 

उहाँका अनुसार तीन वटामध्ये २ वटा गाडी चौरजहारी–नुवाकोट सडक खण्डमा र एउटा चौरजहारी उपत्यकाभित्र सञ्चालन हुनेछ । 

नुवाकोट–चौरजहारी खण्डमा दिनमा दुईवटा गाडी चल्नेछन् । हरेक दिन बिहान चौरजहारीबाट नुवाकोटका लागि र नुवाकोटबाट चौरहजारीका लागि गाडी छुट्नेछन् । 

बिहान छुटेका गाडी साँझ पुनः छुटेकै ठाउँमा फर्किने छन् । यो सडक वडालाई नगरपालिकाको केन्द्रसँग जोड्ने मुख्य सडक हो । यो सडकमा नगर बस चलेपछि १४ मध्ये १२ वडावासी लाभान्वित हुने बताइएको छ । 

८ र ९ नं. वडाबाहेक सबै वडावासीले यस सडकबाट लाभ लिनेछन् ।  

नगरपालिकाले सार्वजनिक गाडीको भन्दा ५० प्रतिशत छुटमा नै नगर बसमा सेवा दिने तयारी गरेको छ । नगर प्रमुख शर्माले भाडादरको बारेमा भन्नुभयो, ‘५० प्रतिशत छुट दिने सोच छ, अब बैठकबाट निर्णय गरेर भाडा र गाडी रुट टुंग्याउनेछाैँ ।’

स्थानीय सरकारले गरेको यो कार्यले पनि गाउँमा सरकारको उपस्थिति र सेवाको सहजताको अनुभूति लिन पाउनेछन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया