सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालनमा

 असार ११, २०७५ सोमबार २०:२४:३ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँके – बाँकेको खजुरामा निर्मित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको बहिरंग सेवा सोमबारदेखि सञ्चालनमा आएको छ । 

उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले एक समारोहबीच अस्पतालको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री यादवले यस क्षेत्रका क्यान्सरका बिरामीहरुका लागि आवश्यक सम्पूर्ण उपचार यो अस्पतालबाट  पाउने बताउनुभयो ।

१२ वर्षअघि समुदायको पहलमा निर्माण कार्य सुरु भएको यो क्यान्सर अस्पताल २०७३ सालमा गठन आदेश मार्फत सरकारीकरण गरिएको हो । अस्पतालका लागि समुदायले ४ बिघा जग्गा र सवा तीन करोड रुपैयाँ उपलब्ध गराएको छ । आगामी आर्थिक वर्षका लागि यो क्यान्सर अस्पताललाई केन्द्र सरकारले करिब २० करोड रुपैयाँ विनियोजन गरेको छ ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष किस्मत कुमार कक्षपतिले अस्पतालबाट लक्ष्यअनुरुपको सेवा प्रवाह गर्न तत्कालै १६ करोड रुपैयाँ आवश्यक रहेको भन्दै त्यसको व्यवस्था गरिदिन स्वास्थ्यमन्त्री यादवसँग आग्रह गर्नुभयो ।

यसअघि स्वास्थ्यमन्त्री यादवले नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको निरीक्षण गर्नुका साथै त्यहाँ निर्मित डेक्सा स्क्यान तथा बोन हेल्थ एण्ड ओस्टियोप्रोसिस क्लिनिकको उद्घाटन गर्नुभयो । सो क्रममा उहाँले भेरी अञ्चल अस्पतालको स्तरोन्नति गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । स्वास्थ्य मन्त्री यादवले भन्नुभयो, ‘आधुनिक भवन, उपकरण, प्रयोगशाला र विशेषज्ञ दक्ष चिकित्सकको आवश्यकता यहाँ रहेको छ ।  मन्त्री यादवले यी आवश्यकताहरुलाई क्रमशः पूरा गर्ने बताउनुभयो

उहाँले भेरी अञ्चल अस्पताललाई  ५ सय शययाको बनाउन पनि आफू सकारात्मक रहेको भन्दै  अस्पतालको स्तरोन्नतीको प्रक्रिया सुरु गरिने बताउनुभयो ।
स्वास्थ्य मन्त्री यादवले पश्चिम क्षेत्रकै केन्द्र नेपालगन्ज भएकाले यहाँ सुविधासम्पन्न स्वास्थ्य संस्थाहरुको आवश्यकता भएको जनाउँदै सरकारले यहाँको स्वास्थ्य क्षेत्रको विकासका लागि हरसम्भव प्रयास गर्ने बताउनुभयो ।

त्यस अवसरमा सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले अस्पतालको भौतिक पूर्वाधार निर्माणमा आवश्यक सहयोग गर्ने बताउनुभयो । उनले प्रदेश नम्बर ५, ६ र ७ का जनताका लागि बाँके जिल्ला स्वास्थ्य क्षेत्रको हब भएको भन्दै भेरी अञ्चल अस्पतालको विकासका लागि जिल्लाको प्रतिनिधिका नाताले आफूबाट सक्दो सहयोग हुने बताएका थिए ।
 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया