मधेशमा जनमत स‌ंग्रहकाे कल्पना गर्न सकिँदैन: कांग्रेस नेता जाेशी

 चैत २, २०७५ शनिबार १७:२२:३७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही –  नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले चन्द्रकान्त राउत (सिके राउत)सँग  सरकारले गरेको वार्ता सकारात्मक भए पनि जनमत संग्रहको कल्पना गर्न नसकिने बताउनुभएकाे छ ।

संविधानले दिएको अधिकार  प्रयोग गरेर  देशमा सबै नागरिकले राजनीति गर्नसक्ने बताउँदै उहाँले जनमतसंग्रहलाई  कांग्रेसले कदापि स्वीकार नगर्ने बताउनुभयो। पूर्व उद्याेगमन्त्रीसमेत रहनुभएका नेता जोशीले वर्तमान सरकारले संसद ,संसदीय मान्यता र विधिको शासनलाई मिचेर स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्न थालेको आरोप लगाउनुभयो  ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सर्लाहीले शनिबार मलंगवामा आयोजना गरेको जननिर्वाचित प्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेश र मधेशी लोकतन्त्र पक्षधर भएकाले ठूला-ठूला आन्दोलनको नेतृत्व मधेशले गरेको बताउनुभयो ।

पूर्वमन्त्री जोशीले कांग्रेसका जिल्ला सभापति तथा संघीय सांसद नागेन्द्रकुमार यादव, प्रदेश सभा सांसद विरेन्द्रकुमार सिंह, उपेन्द्र महतो, श्यामपरी देवी, पार्टीका पूर्व सभापतिहरु वासुदेवशरण कोइराला, अशोक खनाल, भिखारी मंसुर, धिरण श्रेष्ठ तथा पूर्वसांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख-उपप्रमुख, २० वटै स्थानीय तहमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडाध्यक्षहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयाे।

अन्तिम अपडेट: चैत २९, २०८०

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया