मुग्लिन–नारायणगढ सडक खुल्यो

 असार १२, २०७५ मंगलबार १८:१६:२६ | राधेश्याम खतिवडा

चितवन – पहिरोका कारण दिनभर बन्द रहेको मुग्लिन–नारायणगढ सडकखण्ड खुलेको छ ।

मंगलबार बिहानै चारकिलो र कालीखोला नजिकै गएको पहिरोका कारण सडक अवरद्ध भएका कारण यात्रुको बिचल्ली भएको थियो । केहीबेरअघि बाटो खुले पनि चापले गाडी ओहोरदोहोर गर्न समस्या भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

नागढुंगाका सई हरि भट्टराईका अनुसार सडक खुलेर  गाडी चल्न थाले पनि लामो जामका कारण यात्रु र खासगरी बिरामी समस्यामा परेका छन् । बिहानै पहिरो गएपछि बेलैमा समन्वय नहुँदा पहिरो पन्छाउने काम ढिलो गरी सुरु भएको थियो ।

बिहान चारकिलो र कालीखोला नजिकै गएको पहिरोका कारण ७ किलोमिटरसम्म गाडीको लाम लागेको थियो । बाटो विस्तारका क्रममा काटिएको पहाड र भित्तोबाट पहिरो खस्दा यो खण्डमा यात्रा जोखिमयुक्त बन्दै गएको छ ।  अध्ययन प्रतिवेदनले यो खण्डलाई जोखिमयुक्त क्षेत्रको सूचीमा पनि राखेको छ ।

काठमाडौं जोड्ने मुख्य यो सडकखण्डमा दैनिक हजारौँ यात्रुले ओहोरदोहोर गर्छन् । तर उनीहरुको यात्रा सहज भने कहिल्यै हुँदैन । यात्रुसँगै यो खण्डमा गाडी चलाउने चालकहरु पनि बाटोकै कारण हैरान भएका छन् ।

सामान्य वर्षा हुँदा पहिरो जाने भए पछि यात्रा खतरापूर्ण बन्दै छ । पहिरो र बाटो विस्तारका कारण हरेक दिन यो खण्डमा लामो जाम हुने गरेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया