बंगलादेश : २० वर्षीया महिलाले जन्माइन् एक महिनामै तीन बच्चा

 चैत १४, २०७५ बिहिबार ११:४०:३७ | एजेन्सी
unn.prixa.net

बंगलादेशमा एउटा यस्तो घटना भएको जसले गर्दा त्यहाँको चिकित्सा जगत र आम मानिस चकित परेका छन् । 

२० वर्षीया एक महिलाले एउटा बच्चा जन्माएको २६ दिन पछि जुम्ल्याहा बच्चा जन्माएकी छिन् । पहिलो बच्चा जन्मदा डाक्टरहरुले पनि उनको पेटमा जुम्ल्याहा बच्चा छन् भन्ने बारेमा थाहा पाउन सकेनन् । 

पहिलो बच्चा जन्मिएको झण्डै एक महिनापछि आरिफ सुल्ताना नामकी यी महिलाले जुम्ल्याहा बच्चाको जन्म दिइन् । अहिले तीनैजना बच्चा र आमा स्वस्थ रहेका छन् । 

उनको उपचारमा संलग्न डाक्टर शीला पोद्दारले एएफपीलाई बताएअनुसार ‘पहिलो बच्चा जन्मिसकेपछि उनलाई आफू गर्भवती रहेको महसुस पनि भएन । २६ दिनपछि उनी बिरामी परिन् र हामीकहाँ आइन् ।’

आरिफ सुल्तानाको पहिलो बच्चा सामान्य रुपमा नै जन्मिएको थियो । तर उनको पहिलो बच्चा समय भन्दा केही अगाडि जन्मिएको थियो । 

चिकित्सकका अनुसार यो दुर्लभ घटना हो । यी महिलाको दुईवटा गर्भाशय थियो । आरिफा शारशाको श्यामलागाछि गाउँमा बस्थिन् । 

बंगलादेशको न्युज वेबसाइट बीडीन्यूज २४ सँग अरिफाका पति सुमोन विश्वासले भनेका छन् ‘पहिलो बच्चा जन्मिएको २६ दिनपछि अरिफा फेरि बिरामी भइन् । उनलाई अस्पताल लगियो त्यसपछि उनले अर्को दुईवटा बच्चा जन्माइन् ।’

डाक्टर शीला पोद्दारका अनुसार दोस्रो पटक आरिफालाई अस्पताल ल्याएपछि उनको अल्ट्रासोनेग्राफी जाँज गरियो । जसमा उनको दुईवटा गर्भाशय रहेको पत्ता लाग्यो । 

पहिलो बच्चा पहिलो गर्भाशय र दोस्रो बच्चा दोस्रो गर्भाशयबाट जन्मिएको थियो । डाक्टर पोद्धार भन्छिन् ‘यो दुर्लभ घटना हो । मैले पहिलो पटक यस्तो भएको देखेँ । यसको बारेमा मैले कहिल्यै सुनेको पनि थिइनँ ।’

तीन बच्चा र महिलालाई मंगलबार अस्पतालबाट घर पठाइएको छ । पहिलो पटक यस्तो घटना सन् २००६ मा बेलायतमा भएको थियो । बेलायतकी एक महिलाले पनि तीन बच्चा जन्माएकी थिइन् । उनको पनि दुईवटा गर्भाशय रहेको पाइएको थियो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया