धादिङमा पहिरो : ७ घर पुरियो, ५ जना बेपत्ता

 असार १४, २०७५ बिहिबार ७:२८:२ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – जिल्लाको उत्तरी क्षेत्र मार्पाक र सत्यदेवीमा बुधबार राती पहिरो जाँदा ७ घर पुरिएको छ भने  ५ जना बेपत्ता भएका छन् ।

लगातारको वर्षाका कारण खनीयाबास गाँउपालिका–५ सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेको श्रीमतीसहित दुई नातिनीहरु पहिरोमा बेपत्ता भएका छन् । एक जनालाई घाइते अवस्थामा स्थानीयले उद्धार गरी सत्यदेवी स्वास्थ्यचौकीमा उपचारका लागि लगिएको जानकारी प्राप्त भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताउनुभयो ।

यही गाउँपालिका वडा नम्बर ४ चिउरीबोटमा पहिरोले एक घर पुरिएको छ । पहिरोमा परी सम्सेर घले र कोप्ची घले बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दार्खाका प्रहरी हवल्दार मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरि नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ ।

घटना स्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट गाडी चल्न छाडेको छ । ईलाका प्रहरी कार्यालय दार्खाको प्रहरी टोली भने चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरामा प्रहरीकाे टाेली अझै पुग्न सकेको छैन ।

घटनाको अन्य विवरण आउन बाँकी रहेको र घटना स्थलमा जति सक्दो छिटो प्रहरी पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया