इण्डियन प्रिमियर लिग : हैदराबादसँग ५ विकेटले हार्‍यो दिल्ली

 चैत २२, २०७५ शुक्रबार ६:३६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादसँग ५ विकेटको पराजय ब्यहोरेको छ । जितपछि ५ खेलबाट ८ अंक बनाएको हैदराबादले शीर्ष स्थानमा २ अंकको अग्रता बनाएको छ ।

जारी आईपीएलका पाँच खेलमा दिल्लीको लगातार दोस्रो तथा समग्रमा तेस्रो हार हो । दिल्ली यसअघि किंग्स ११ पञ्जावसँग पराजित भएको थियो ।

दिल्लीले दिएको १ सय ३० रनको लक्ष्य हैदराबादले इनिङको ९ बल बाँकी छँदै पूरा गर्योे । हैदराबादका ओपनर जोनी बेरिस्टो र डेभिड वार्नरले पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेपछि जितको आधार बनेको थियो ।

बेरिस्टोले २८ बलमा ९ चौका र १ छक्काको सहयोगमा ४८ रन बनाउँदा वार्नरले १० रन बनाए । विजय शंकरले १६ रन बनाए भने दीपक हुड्डा र मनिस पाण्डे समान १० रनमा आउट भए । मोहम्मद नाभीले १७ अविजित रन बनाए ।

बलिङतर्फ दिल्लीका सन्दीप लामिछाने, कागिसो रावाडा, अक्सर पटेल, इसान्त शर्मा र राहुल तेवाटियाले एक–एक विकेट लिए ।

यसअघि फिरोज साह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय २९ रनको सामान्य योगफल तयार पारेको थियो ।

दिल्लीका कप्तान श्रीयास आयरले सर्वाधिक ४३ रन बनाएका थिए । अन्यले अपेक्षाअनुसार रन बनाउन सकेनन् । ओपनर पृथ्वी श ११, शिखर धवन १२ रनमै आउट भएका थिए ।

अन्त्यतिर क्रिस मोरिसले १७ र अक्सर पटेलले २३ अविजित रन बनाएपछि दिल्लीको १ सयको स्कोर पार गरेको हो । अक्सरले अन्तिम ओभरमा २ छक्का र १ चौका प्रहार गरेका थिए ।

दिल्लीका ५ जना ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन् । बलिङतर्फ हैदराबादका लागि मोहम्मद नाभी, भुवनेश्वर कुमार र सिद्धार्थ कोउलले दुई–दुई विकेट लिए । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया