राष्ट्रघाती नागरिकता विधेयक तत्काल खारेज गर्नुपर्छ : अध्यक्ष केसी

 चैत २२, २०७५ शुक्रबार १७:५३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने स्पष्ट पार्नुभएको छ । 

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा पेश गरिएको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याउनुभएको हो । उहाँले भन्नुभयो, ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ, तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भीर र गलत कुरा हो, तत्काल खारेज गर्नुपर्छ ।’ 

उहाँले यो विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराइने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाउनुभयो ।  

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले नागरिकता विधेयक संसदमा छलफलकै क्रममा रहेकोले अहिल्यै नै टिकाटिप्पणी गर्न नहुने स्पष्ट पार्नुभएको छ । 

उहाँले भन्नुभयो, ‘संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याइएको छ । अहिले छलफलमै भएकोले यस बारेमा टिकाटिप्पणी गर्न चाहन्न ।’ गुरुङले अहिलेको परिस्थितिमा सरकारबाट जे/जति कामहरु भैरहेका छन्, ती संविधानअनुसार नै भएकोमा सकारात्मक रुपमा लिन आश्वासन दिलाउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया