पहाडी क्षेत्रमा मौसम आंशिक बदली : काठमाण्डौको न्यूनतम तापक्रम ...
मंसिर ८, २०८१ शनिबार
झापा - जन्मका आधारमा नागरिकता पाएका विर्तामोड–७ गरामनीका कैले टुडूका दुई सन्तानले शुक्रबार झापा जिल्ला प्रशासन कार्यालय चन्द्रगढीबाट वंशजका आधारमा नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् ।
वंशजका आधारमा नागरिकता प्रमाणपत्र पाउनेमा २२ वर्षीय समीर टुडू र १७ वर्षीय सन्दिप टुडू रहेका छन् । दुबै जनाका बाबुआमाले २०६३ सालमा नागरिकता वितरण टोलीबाट जन्मका आधारमा नेपाली नागरिकता प्रमाणपत्र पाएका थिए ।
जन्मका आधारमा नागरिकता पाएकाको सन्तानलाई वंशजका आधारमा नागरिकता प्रदान गरिनुपर्ने माग विगत लामो समयदेखि उठाउँदै आएको भएपनि त्यो पूरा हुन सकेको थिएन ।
गृह मन्त्रालयले यही चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएको थियो । फलस्वरुप जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले अब वंशजका आधारमा नागरिकता पाउन थालेका छन् ।
जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय सार्वजनिक भएपछि अहिले झापालगायत देशैभरका प्रशासन कार्यालयमा वंशजका आधारमा नागरिकता लिन आउनेहरुको भीड बढेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलका अनुसार विगत दुई दिनमा झापा जिल्ला प्रशासन कार्यालयबाट जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका १३५ सन्तानले वंशजका आधारमा नागरिकता पाएका छन् ।
गृह मन्त्रालयले संविधानको धारा ११(३) बमोजिम जन्मका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजका आधारमा नागरिकताको प्रमाणपत्र दिनु भनी परिपत्र पठाएको हुँदा बिहीबारदेखि झापामा समेत त्यस्तो नागरिकता प्रदान गर्न शुरु गरिएको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।
जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानले झापाबाट बिहीबार ७२ र शुक्रबार ६३ गरी कुल १३५ जनाले वंशजका आधारमा नागरिकता पाएको जनाइएको छ । २०६३ सालमा नागरिकता टोलीले गाउँ/गाउँ पुगेर जन्मका आधारमा नागरिकता प्रदान गरेको थियो । झापामा त्यतिबेला २२ हजार ४८१ जनाले जन्मका आधारमा नागरिकता प्राप्त गरेका थिए ।
नागरिकता पाउनेमा सन्थाल, राजवंशीलगायतका समुदायको ठूलो सङ्ख्या छ । जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तान बालिग भइसक्दा पनि नागरिकता नपाउँदा पढाइ र रोजगारीको अवसरबाट वञ्चित हुनुपरेको थियो । अब त्यो अवरोध भने हटेको छ ।
‘शुक्रबार वंशजको नागरिकता पाएका विर्तामोड–७ का सन्दिप टुडूले भखैरै गरामनीको दुर्गा माविबाट एसइई परीक्षा दिएका छन् । उनले आफ्नो नागरिकतामा वंशज लेखिएको देख्दा साह्रै खुशी लागेको प्रतिक्रिया दिए । उनले भने, ‘अब जागिर खानका लागि ढोका खुल्यो ।’
उनका २२ वर्षीय दाजु समीरले नागरिकता नभएकै कारण दुई वर्षदेखि पढाइ छाडेका छन् । उनले अव व्यापार गर्ने सोच बनाएको बताए । वंशजका आधारमा नागरिकता पाउनका लागि बाबुआमा दुवैले जन्मका आधारमा नागरिकता लिएको हुनुपर्ने प्रजिअ पोखरेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।