मलेसियामा बस दुर्घटना : भाग्यले बाँचियो

 चैत २५, २०७५ सोमबार १६:२९:५६ | मेरो कथा मेरो भोगाई

रोमकान्त पन्थी/दाङ, हाल मलेसिया ।

मेरो नाम रोमकान्त पन्थी हाे। मेरो घर दाङमा हाे । म मलेसिया आएको सात वर्ष भयो । मैले यहाँको मुतियारा कायामास कम्पनीमा काम गर्न थालेको तीन वर्ष पुग्न लाग्यो । 

यो एक भेण्डर कम्पनी हो । यसले मलेसियाको विमानस्थलको मास कार्गोमा काम गर्छ । राती र दिनको दुई सिफ्टमा काम हुन्छ । यो कम्पनीको एउटा डिमार्टमेन्टको म लिडर हुँ ।

यहाँका स्थानीय र नेपालीसहित १४ जनालाई मैले लिड गर्छु । यो कम्पनीमा झण्डै ६ सय नेपाली कार्यरत छन् । काम र कमाइ राम्रो छ । 

हाम्रो होस्टलबाट काम गर्ने ठाउँ विमानस्थलसम्म पुग्न झण्डै ४० मिनेट लाग्छ । काममा जाँदा र आउँदा बसमार्फत नै हो ओहोरदोहोर गर्नुपर्छ । मेरो पनि एक हप्ता दिउँसो र एक हप्ता रातीको ड्युटी पर्छ ।

हिजाे मेराे साथीहरु चढेको बस दुर्घटनामा पर्यो । दुईजना नेपालीसहित ११ जनाको ज्यान गयो । अरु १२ जना नेपाली घाइते भएका छन् । हिजो आइतबार मेरो पनि रातीकै ड्युटी थियो ।

म पनि त्यही बसमा जाने थिएँ होला । तर मेरो भाग्य रहेछ । शनिबार राती मेरो भिनाजु नेपालबाट आउनुभएकाले म विमानस्थलमा सामान लिन जानु पर्‍यो । त्यही कारणले मैले ड्युटी समय साटफेर गरें ।

विमानस्थलबाट सामान लिएर होस्टल आउँदा रातको २ बजेको थियो । सुतें र दिउँसोको ड्युटी गरेर फर्किएँ । मसँगै सन्तोष मगरले पनि हिजो रातीको ड्युटी साटेका थिए । 

काममा लैजान साथीहरुलाई बसमा राख्ने बेलामा नै बसका चालकले चर्को चर्को स्वरमा बोलिरहेका थिए । घाइते साथीहरुका अनुसार गाडी चलाइरहँदा पनि उनी फोनमा कसैसँग झगडा गरिरहेका थिए रे ।

मेरो अर्को साथी सल्यानका जलन्द बिक पनि त्यही बसमा चढ्न लाग्नुभएको थियो । तर बस भरियो भन्दै चालकले चर्को स्वर गरेपछि उहाँ बसबाट ओर्लिएर भ्यानमा जानुभयो र दुर्घटनाबाट बच्नुभयो । 

बस होस्टलबाट हिँडेको केही समयमा नै दुर्घटनामा परेछ । काममा जाँदा सबैले मोबाइल लान पाउँदैनन् । एकजनाले लगेका रहेछन् । त्यसैले दुर्घटनापछि सामान्य घाइते भएका साथीले त्यही फोनबाट सम्पर्क गरी दुर्घटनाबारे जानकारी गराए । 

मलाई त त्यो खबर सुनेपछि लाग्यो, धन्न ड्युटी साटेर बाँचेछु । भाग्यले बाँचिएछ । दुर्घटना देखेपछि त मलाई फेरि अर्को जन्म पाएझैं भएको छ । म र साथीहरु त भाग्यले बाँच्यौं । तर दुईजना साथीलाई गुमाउनुपर्यो । 

ज्यान गुमाउने साथी रामु चौधरी त २८ दिनअघि मात्रै घर बिदामा गएर आउनुभएको थियो ।  अब घाइते साथीहरु छिट्टै निको होउन् । यही कामना गर्छु ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया