चन्द्रागिरि नगर अस्पतालमा 'भेन्टिलेटर' सेवा सञ्चालनमा आउने
पुस ४, २०८१ बिहिबार
काठमाण्डौ – विक्रम संवत २०७५ साल राजनीति, कला तथा पर्यटन क्षेत्रका लागि निकै दुःखद रह्यो । केही प्राकृतिक विपत्ति तथा दैवी प्रकोपका कारण देशले अरु धेरै नागरिकलाई पनि गुमाएको छ ।
मन्त्री रवीन्द्र अधिकारी
फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री रवीन्द्र अधिकारीको निधन भयो । २०७४ चैत २ गते मन्त्रीको पद सम्हाल्नुभएका अधिकारीको ११ महिनापछि हेलिकप्टर दुर्घटनामा परि निधन भएको हो ।
पर्यटन र विमानस्थल सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका अधिकारीको विमानस्थल सम्भाव्यता अनुगमन गर्न जाँदा नै निधन हुन पुग्यो । तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परि अधिकारीसहित सात जनाको निधन भएको थियो ।
वि.सं. २०२६ सालमा कास्कीमा जन्मिनुभएका अधिकारी २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुनुभएपछि राजनीतिमा छलाङ मार्दै अघि बढ्नुभएको थियो ।
विकासवादी नेताका रुपमा परिचित अधिकारी पछिल्ला युवापुस्ताका प्रिय पात्र हुनुहुन्थ्यो । आफ्नै कार्यकालमा पर्यटन क्षेत्रबाटै नेपालमा समृद्धि ल्याउने उहाँको अठोट थियो । तर आफ्नो सपना पूरा गर्ने बाटोमा अघि बढ्दाबढ्दै उहाँको निधन भयो । उहाँको निधनले राजनीति र पर्यटन क्षेत्रमा क्षति पुगेको छ ।
वृद्धभत्ताका योजनाकार भरतमोहन अधिकारी
तीनपटक नेपालको अर्थमन्त्रीको कार्यभार सम्हालेका भरतमोहन अधिकारीको ८३ वर्षको उमेरमा फागुन १८ गते निधन भयो । उहाँलाई नेपालको इतिहासमा ज्येष्ठ नागरिकका दुःख बुझ्ने मान्छे भनेर पनि चिनिन्छ । अधिकारीले आफ्नै कार्यकालमा ज्येष्ठ नागरिकलाई भत्ता दिन सुरु गर्नुभएको थियो ।
२०५१ सालमा अर्थमन्त्री भएको बेला अधिकारीले ‘आफ्नो गाउँ आफै बनाउँ’ योजना सुरु गर्नुभयो । यसबाट स्थानीय निकायलाई सिधै बजेट दिन थालियो । अधिकारीले वि.सं.२०५१ पुस ११ गते आर्थिक वर्ष ०५१÷०५२ को बाँकी ६ महिनाको लागि बजेट ल्याउनुभएको थियो । यो बजेटलाई नेपालको इतिहासकै कोशेढुंगा मान्ने गरिन्छ ।
कांग्रेस नेता चक्रप्रसाद बाँस्तोला
काँग्रेस नेता चक्रप्रसाद बाँस्तोलाको असोज २८ गते बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भएको थियो । विस. २०६९ पुस १४ गते विराटनगरको बन्धु भेलामा ‘ब्रेन अट्याक’ भएदेखि उहाँ अर्धचेत अवस्थामा हुनुहुन्थ्यो । बाँस्तोला विस. २०४८ सालमा भारतका लागि नेपालका राजदूत हुनुभएको थियो । वि.स. २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकार हुँदा उहाँ परराष्ट्रमन्त्री पनि बन्नुभएको थियो ।
वामपन्थी नेता पद्मरत्न तुलाधर
गएको कात्तिक १८ गते देशले मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरलाई गुमायो । मस्तिष्कघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा उहाँको निधन भएको हो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उहाँको योगदानलाई महत्वपूर्ण मानिन्छ ।
मानवअधिकार अन्दोलनका चर्चित नेता तुलाधरले पञ्चायत कालमा बामपन्थीहरूको प्रतिनिधिको रुपमा तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य भएर व्यवस्था बिरुद्ध आवाज उठाएका थिए । नेपालको वाम आन्दोलनमा उहाँले पुर्याउनु भएको योगदान स्मरणीय छ ।
मानवअधिकार संरक्षण मञ्च, मंका खललगायत संघ संस्थाका संस्थापक तुलाधर सरकार र माओवादीबीच भएको वार्ताको सहजकर्ता हुनुहुन्थ्यो ।
कलाकार भीमबहादुर थापा
कलाकार भीमबहादुर थापाको जेठ ३० गते ९३ वर्षको उमेरमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लड्नुभएका थापाले झण्डै एक सयवटा चलचित्र र टेलिचलचित्रमा अभिनय गर्नुभएको थियो ।
खोटाङ लामीडाँडामा जन्मिनुभएका थापाको काठमाण्डौ मैतीदेवीमा रहेको आफ्नै घरमा निधन भएको हो ।
वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा
२०७५ मा चिकित्सा क्षेत्रको एक नक्षत्र गुमाउनुपर्यो । असार ४ गते वरिष्ठ न्यूरो सर्जन उपेन्द्र देवकोटाको निधन भयो । उहाँले बाँसबारीस्थीत आफैले स्थापना गर्नुभएको न्यूरो अस्पतालमा अन्तिम श्वास फेर्नुभयो ।
उहाँले लामोे समयदेखि पित्तथैलीको क्यान्सरको उपचार गराइरहनुभएको थियो । अन्त्यमा त्यही रोगले उहाँलाई ६५ वर्षभन्दा पर जान दिएन ।
रेडियाकर्मी तथा साहित्यकार यज्ञनिधि दाहाल
यज्ञनिधि दाहाल नेपाली रेडियो तथा साहित्यिक क्षेत्रमा परिचित नाम हो । वि.सं.२०१० सालमा खोटाङको खाल्लेमा जन्मिनुभएका दाहालको यसै वर्ष साउन २५ गते निधन भयो । उहाँले २० वर्षदेखि मृगौलाको डाइलासिस गराउँदै आउनुभएको थियो ।
दाहालले नेपाली गीत–संगीतका साथै साहित्यिक लेख, साहित्य समीक्षा, समालोचना, अन्तवार्ता र रेडियो प्रसारणमार्फत नेपाली साहित्यको विकासमा अतुलनीय टेवा पुर्याउनुभएको छ । तत्कालीन समयमा कथित तल्लो जातका मानिसले प्रयोग गरिने अभिवादन ‘जदौ’ शब्दको प्रयोगलाई उहाँले विस्तार गर्नुभएको थियो ।
व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवाली
निजी क्षेत्रबाट पत्रकारिता विकासमा महत्वपूर्ण भूमिका खेलेका हेमराज ज्ञवालीको पनि यसै वर्षको असोज २८ गते निधन भयो । उहाँ कान्तिपुर प्रकाशनको सुरुआती चरणदेखि अध्यक्ष तथा नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
‘माइल्ड अट्याक’ भन्ने रोग लागेपछि गंगालाल हृदयरोग केन्द्रमा उपचारको क्रममा उहाँको निधन भएको हो । ज्ञवालीको जन्म विसं १९९५ चैत रामनवमीका दिन गुल्मीमा भएको थियो ।
लोक गायक बुद्धिकृष्ण लामिछाने
‘घाँस काट्ने खुर्केर...आयो जोबन हुर्केर...कसलाई दिऊँ यो जोवन...’ यो गीत नसुन्ने नेपाली संगित प्रेमीहरु कमै होलान । हो यही गीतका सर्जक अर्थात गायक हुन बुद्धीकृष्ण लामिछाने । वि.सं. २०१२ सालमा जन्मिनुभएका लामिछानेको ६३ वर्षको उमेरमा पुस १३ गते निधन भएको हो । उहाँ हृदयघातका कारण ७ वर्षदेखि प्यारालाइसिस भएर घरमै थलिनुभएको थियो ।
एकसय भन्दा बढी लोक गीत गाएर लामिछानेले नेपालको लोक गायनी क्षेत्रमा ठूलो योगदान पुर्याउनुभएको छ ।
व्यवसायी आङछिरिङ शेर्पा
फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन मन्त्री रवीन्द्र अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको पनि निधन भयो । सोलुखुम्बुमा जन्मेहुर्केका शेर्पाको होटेल, ट्रेकिङ र हवाई सेवाको क्षेत्रमा ठूलो योगदान रहेको छ ।
शेर्पा यति र तारा एयरलाइन्सका प्रबन्ध निर्देशक पनि हुनुहुन्थ्यो ।
व्यवसायी दिवाकर गोल्छा
वर्षको अन्तिम समयमा देशले उद्योगपति दिवाकर गोल्छालाई गुमाउनुपर्यो । चैत्र २७ गते उपचारका क्रममा भारतको चेन्नईस्थीत एक अस्पतालमा ६७ वर्षको उमेरमा उहाँको निधन भयो ।
उहाँका हुलास वायर, हुलासका खाद्यान्न, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापातालगायतका ठूलो लगानीमा उद्योग सञ्चालित छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष भइसकेका गोल्छाको औद्योगिकरणमा महत्वपूर्ण भूमिका छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।