बिस्केट जात्रा सम्पन्न

 बैशाख ५, २०७६ बिहिबार १८:४३:५० | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा बिहीबार सम्पन्न भएको छ ।

गएकाे चैत २७ गते तौमढीबाट भैरबको रथ तानेर सुरु भएको जात्रा बिहीबार साँझ गःहिटीबाट भैरबको रथ तानेर सम्पन्न गरिएको हो । विक्रम संवत्अनुसार सौरमासको आधारमा चल्ने यो जात्रा नववर्षको चार दिन अघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी वैशाख ५ गते रथ तानेर सम्पन्न गर्ने परम्परा छ । 

जात्राको आज अन्तिम दिन साँझ साढे पाँच बजेबाट गःहिटीबाटबाट भैरबको रथ तानेर बंशगोपालतर्फ लगिएको छ । स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आ–आफ्नो क्षेत्रमा लैजान रथ तानेका हुन् । स्थानीयले रथ तानेर बंशगोपालसम्म पुर्‍याएपछि रथलाई फेरि फर्काएर भैरबको मूर्तिलाई देवता घरमा लगेपछि जात्रा सम्पन्न गरिने परम्परा रहेको छ । 

जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न महानगरीय प्रहरी परिसरले भक्तपुर र काठमाण्डौबाट आएको १ हजार ३०० प्रहरी परिचालन गरेको छ । जात्रामा ढुङ्गा हानाहान हुने र हिंसा हुनसक्ने भएकाले सुरक्षा व्यबस्था कडा पारिएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवती रमण पोखरेलले जानकारी दिनुभयो । 

काठैकाठले प्यागोडा शैलीमा निर्माण गरिएको तीनतले भैरवनाथको रथमा भैरवनाथको मूल देवता र बेताल देवतालाई बिराजमान गराइसकेपछि परम्परा अनुसार गःहिटीबाट माथिल्लो र तल्लो क्षेत्रका बासिन्दाले रथ तान्ने गर्दछन् । 

रथलाई तानिसकेपछि आज पाँचतले मन्दिरअगाडि तौमढीमा राखी रथबाट भैरब देवतालाई झिकेर मन्दिरमा लगेर विराजमान गराएपछि जात्रा सम्पन्न गरिन्छ । बिस्केट जात्रा बिःसीत (नागनागिनी मरे ? ) भन्ने भावका आधारमा लिच्छविकालदेखि मनाइँदै आएको छ ।

भक्तपुरको कुमाले टोलमा चैत ३० गते उठाइएको लिङ्गो र मध्यपुरथिमिको बोडे महालक्ष्मी मन्दिर अगाडि उठाइएको लिङ्गो समेत बिहीबारै ढालिएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया