नेपालको पानी विदेश निर्यात गर्ने तयारीमा जुट्यो खानेपानी मन्त्रालय

 बैशाख ६, २०७६ शुक्रबार १७:४६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - हिमाल र पहाडबाट बगिरहेको पानी अन्तर्राष्ट्रिय बजारमा निर्यात गरी बिक्री गर्ने योजना बनाउँदै खानेपानी मन्त्रालयले शुक्रबार बृहत अन्तरक्रिया गरेको छ । 

नेपालको अन्य देशहरुसँग बढिरहेको व्यापार घाटा कम गर्ने र नेपालको पहिचान विश्व बजारमा फैलाउने उद्देश्यले मन्त्रालयले हिमालबाट बगेर आएको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा बृहत छलफल गरेको हो । 

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले सन् २०३० सम्ममा सबै नेपालीलाई शत प्रतिशत प्रशोधनसहितको खानेपानीको पहुँच पुर्‍याउने र खेर गैरहेको पानीलाई प्रशोधन गरी विदेश निर्यात गर्ने योजना बनिरहेको बताउनुभयो । मन्त्री मगरले विश्व बजारमा नेपालको ग्लेसियर र स्प्रिङ वाटरलाई निर्यात गर्ने सम्भावनाको खोजी भैरहेको स्पष्ट पार्नुभयो । 

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘हाम्रो पहिलो प्राथमिकता सबै नेपाली नागरिकलाई आधारभूत खानेपानीको पहुँच पुर्‍याउने हो र सँगसँगै हिमालबाट बगेर खेर गैरहेको पानीलाई समेत प्रशोधन गरी विदेश निर्यात गर्ने हो । हामी सबै किसिमका सम्भावनाहरुको खोजी गरिरहेका छौँ । हाम्रो देशको पानी विश्व बजारमा अरु देशको भन्दा राम्रो र स्वच्छ छ । हामी विश्व बजारमा पुरै प्रतिस्पर्धा गर्न सक्छौं ।’

नेपालको पानी विदेश निर्यात गर्ने विषयमा मापदण्ड बनाएर अघि बढ्ने तयारीमा लागेको मन्त्री मगरको भनाइ छ । गुणस्तरमा कुनै सम्झौता नगरी अन्तर्राष्ट्रिय बजारमा पानी बिक्री गर्ने विषयमा सम्भाव्यता अध्ययन भईरहेको उहाँले जानकारी दिनुभयो । 

मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माले 'समृद्ध नेपाल सुखी नेपाली'को अभियान सफल बनाउन नेपालले पानी निर्यात गरी सम्पन्न बन्न सक्ने धारणा राख्नुभयो । सचिव शर्माले पानी निर्यात गरी नेपाल धनी हुन सक्ने कुरामा कुनै सन्देह नरहेको बताउनुभयो । ‘पानी निर्यातका लागि अन्तर्राष्ट्रिय बजार कहाँ कहाँ हुन सक्छ, हामी खोजी गर्छौं । हामीले उत्पादन गर्ने पानीको गुणस्तर पुरै सुधार्ने छौं’, सचिव शर्माले भन्नुभयो ।

मन्त्रालयका सहसचिव तेजराज भट्टले नेपालको ग्लेसियर र स्प्रिङ वाटर निर्यात गर्ने विषयमा प्रस्तुति दिनुभएको थियो । भट्टले नेपालको पानी खाडी देशहरुमा बढी माग भएको बताउँदै व्यापार घाटा कम गर्न पानी निर्यात उपयुक्त हुने दृष्टिकोण राख्नुभयो । 

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सुनिलकुमार दासले विदेश निर्यात गरिने पानीको स्रोतको सम्भावनाको खोजी भैरहेको जानकारी दिनुभयो । अबको दुई हप्ताभित्र सम्भाव्यता अध्ययनका लागि सूचना जारी गर्न लागिएको महानिर्देशक दासको भनाइ छ ।

पूर्व सचिव सुमनप्रसाद शर्माले पानी निर्यात गर्ने अवधारणा राम्रो रहेको बताउँदै यसका लागि संयन्त्र र विधि पहिले नै तयार गर्नुपर्ने सुझाव दिनुभयो । 

उद्योग मन्त्रालयका सहसचिव शोभाकान्त पौडेलले नेपालको पानीमा लगानी गर्न विदेशी कम्पनीहरुलाई आव्हान गर्नुपूर्व सरकारले मुहान र जग्गा जमिन उपलब्ध गराउनुपर्ने धारणा राख्नुभयो । 

व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले ग्लेशियर र स्प्रिङ वाटरको प्रचुर सम्भावना रहेको बताउँदै नेपालले पानी निर्यात गरी फाइदा लिन सक्नुपर्ने बताउनुभयो ।

अर्का वक्ता विष्णु दाहालले पानी बिक्री गरेर मात्रै नेपालको समृद्धि हासिल हुने ठोकुवा गर्नुभयो । उहाँले हामीसँग भएको स्रोतको उचित प्रयोग गरी पानी निर्यात गर्न ढिलाइ गर्न नहुने बताउनुभयो ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

2 Comments

  • Kumud Shrestha

    April 19, 2019, 6:40 p.m.

    If Nepal can not produce and sell hydro power, can Nepal sell water? Can Nepal guaranty quality of water ? It will be possible only when Nepal has good governance. If we have good government and good governance, then only we can sell water like Canada is selling natural oxygen to reach people in China and other countries.

  •  0 Reply
  • विनय कसजू

    April 19, 2019, 6:37 p.m.

    पानीको अभाव विश्वभरि हुँदै छ । नेपालको पानी बेच्नु राम्रो विचार हो । तर यो योजनामा पानीका मुहानकाे संरक्षणका उपायहरू पनि समावेश गर्नु अावश्यक हुन्छ । नदीहरूमध्ये हिउँमा अाधारित (Snow fed) स्रोतमा भन्दा बनमा अाधारित (Forest fed) स्रोतको संरक्षणमा जोड दिनु पर्छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया