पाल्पाका १५६ विद्यार्थीको एसईई नतिजा रोकियो,  विद्यालय र जिशिकाबीच आरोप–प्रत्यारोप

 असार १६, २०७५ शनिबार ६:२७:३० | देव पचभैया
unn.prixa.net

आफ्नो नतिजा नआएपछि  जिल्ला शिक्षा कार्यालयमा आएका केशव र उनकी आमा सीता पाण्डे

पाल्पा – पाल्पाका १५६ विद्यार्थीको एसईई  परीक्षाको नतिजा रोकिएपछि विद्यालय र जिल्ला शिक्षा कार्यालयले एक अर्कालाई दोष लगाएका छन् ।  

सँगै परीक्षा दिएकाको नतिजा आए पनि आफूहरुको नतिजा नआएपछि विद्यार्थी र अभिभावक चिन्तित छन् । पाल्पाका एकै विद्यालयको ९ जना सम्मका विद्यार्थीको नतिजा रोकिएको छ ।  

विद्यार्थीको नाम, थर, उमेर, अल्फाबेट बिग्रिएको लगायतका कारण उनीहरुको परीक्षाको नतिजा रोकिएको जिल्ला शिक्षा कार्यालय पाल्पाले जनाएको छ । ‘हामीले पटक–पटक विद्यालयलाई कुनै फरक परेको भए सच्याउ भनेकै हौँ’, जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत महेन्द्र सुवेदीले भन्नुभयो, ‘विद्यालयले यसप्रति ध्यान दिन नसक्दा समस्या भएको हो ।’

तर जनता मावि तानसेनका प्रधानाध्यापक मेघराज पौडेलले शिक्षा कार्यालयले राजश्व बुझेपछि मात्रै विद्यार्थीको रजिष्टे«शन, प्रवेश पत्र आएको भन्दै शिक्षा कार्यालय र परीक्षा नियन्त्रण कार्यालयकै गल्तीले विद्यार्थीले दुःख पाएको आरोप लगाउनुभयो । ‘विद्यालय र विद्यार्थीको गल्ती भएर होइन’, उहाँले भन्नुभयो ‘शिक्षा कार्यालय र पनिकाको गल्ती छ  ।’

नतिजा नआएपछि के गर्नुपर्छ भनेर विद्यालय र शिक्षकले पनि खासै चासो नदिएको त्रिभुवन मावि, अर्गलीबाट एसईई दिएका केशव पाण्डेकी आमा सीता पाण्डेले गुनासो गर्नुभयो । ‘सिम्बोल नम्बर हान्दा यो नम्बर लिष्टमा छैन मात्रै भन्यो’, उहाँले भन्नुभयो, ‘अब के गर्ने भन्नेबारे दुई–तीन दिन अलमलमा परियो ।’  

जिल्ला शिक्षा कार्यालय, पाल्पाका अनुसार नतिजाका वारेमा जानकारी लिन परीक्षा केन्द्रका केन्द्राध्यक्षद्वारा विद्यार्थीको हाजिरी पुगेको प्रमाणसहितको सिफारिस, परिक्षाको  प्रवेश पत्र र शिक्षा कार्यालयको सिफारिस लिएर परीक्षा नियन्त्रण कार्यालयमा जानुपर्छ ।
 

अन्तिम अपडेट: चैत २५, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया