युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्छ: नेकपा नेता खनाल

 बैशाख १३, २०७६ शुक्रबार १८:२५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले युवाहरुलाई राष्ट्र निर्माणको अभियानमा अग्रसर गराउनुपर्नेमा जोड दिनुभएको छ । 

वरिष्ठ नेता खनालले युवाहरुको परिचालनबाट उद्योगको विकास गरेर मात्रै विश्वमा देखिएको गरिबी र अभावको अन्त्य गर्न सकिने पनि स्पष्ट पार्नुभयो । शुक्रबारबाट काठमाण्डौमा सुरु भएको ‘विश्व युवा उद्यमी शिखर सम्मेलन’ को उद्घाटन कार्यक्रममा उहाँले गरिबी, अभाव र युवा बेरोजगारी अहिले पनि विश्वकै चुनौतीको रुपमा रहेकाे उल्लेख गर्दै सो समस्या समाधानका लागि युवाहरुलाई उद्यमी बनाउनुको विकल्प नरहेको पनि बताउनु भयो ।

वरिष्ठ नेता खनालले नेपालमा बेरोजगार युवाहरु, महिलाहरु, पिछडिएका समुदायहरुलाई अघि बढाउने गरी संविधान बनाएको उल्लेख गर्दै त्यसको कार्यान्वयनमा सरकार लागि परेको दावी पनि गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले गरिबी अन्त्य गर्न र निरक्षरताको अन्त्य गरेर समृद्धिको अभियानलाई सफल बनाउन युवाहरु उद्यमशील हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सम्मेलनले युवाहरुलाई उद्यमी बनाएर राष्ट्रहरुलाई समृद्धितर्फ अग्रसर गराउन आवश्यक नीति तय गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

दुई दिनसम्म चल्ने सम्मेलनमा विभिन्न देशका युवा उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया