२ सय ५१ स्थानीय तहमा पहिलो चरणमा १५ शैय्याको अस्पताल बन्ने (नामावली सहित)

 बैशाख १६, २०७६ सोमबार १०:१९:१३ | शैलेन्द्र महतो
unn.prixa.net

धनुषा - पाँच वर्षभित्र देशको सबै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण हुने भएको छ ।

निशुल्क आधारभूत स्वास्थ्य सेवा स्थानीय तहमै निःशुल्क प्रदान गर्ने उद्देश्यले नेपाल सरकारले देशको ७ सय ५३ वटै स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागेको हो ।

आकस्मिक स्वास्थ्य सेवा कार्यान्वयन गर्न र स्वास्थ्य सेवालाई नियमित, प्रभावकारी, गुणस्तरीय तथा सर्वसुलभ बनाई नागरिकको पहुँच स्थापित गर्न १५ शैय्याको अस्पताल निर्माण गर्ने आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा उल्लेख छ ।  

पहिलो चरणमा देशको २ सय ५१ स्थानीय तहमा १५ शैय्याको अस्पताल निर्माण गर्न लागिएकाे स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले जानकारी दिनुभयो । ‘जनघनत्व, बहिरङ्ग सेवाको चाँप, अन्य अस्पतालसँगको दुरी र प्राथमिक स्वास्थ्य केन्द्रहरु मध्ये अस्पताल नरहेका, सम्बन्धित स्थानीय तहका स्वास्थ्य संस्थालाई १५ शैय्याको अस्पतालमा स्तरोन्नति गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘एउटा अस्पताल निर्माण एवं स्तरोन्नतिको लागि साढे ३ करोडदेखि ७ करोड रुपैयाँ सम्म बजेट लाग्छ ।’

स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन पहिलो चरणमा २ सय ५१ स्थानीय तहबाट निवेदन परेको छ । योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्ष २०७५/०७६ मा  सरकारले ७५ करोड बजेट विनियोजन गरेको छ ।      

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया