क्रान्तिको शंखनाद

 बैशाख २८, २०७६ शनिबार ७:१२:४९ | स्वामी आनन्द अरुण
unn.prixa.net

प्रभातकालीन कलिलो सूर्यलालिमाले आकाशलाई छोप्दै गयो र सागर सतहमा कलिला रश्मिका तरंग फैलिए । आचार्यश्री बाथरुमबाट बाहिर निस्किनुभयो ।

 एक ताजा चिरपरिचित सुगन्धले मेरो नासापुट भरियो । आचार्यश्रीको शरीर सेतो लुङ्गीले बेरिएको थियो, काँधमा तौलिया झुण्डिएको थियो । पहिलो दिनदेखि नै उहाँको शरीर सौन्दर्यले मलाई मुग्ध पारेको थियो । केही फिट नजिकै उभिएर उहाँलाई नियाल्ने सौभाग्य पाएको यो क्षण मेरा लागि अकल्पनीय थियो । समग्र मिलेको सुन्दर सुडौल शरीर, लामो कालो दाह्री, तेजयुक्त रहस्यमय आँखाले कहिल्यै भुल्न नसक्ने गरी छाप छाडे । 

मलाई एकाबिहानै आफ्नो कोठामा देखेर उहाँ आश्चर्यचकित हुनुभयो र हल्का मुस्काउँदै मलाई सोध्नुभयो, ‘तिमी को हौ ?’

‘म काठमाण्डौबाट आएको । पटनाबाट तपाईँलाई पत्र लेखिरहने इन्जिनियरिङको विद्यार्थी अरुण मै हुँ।’ मैले उहाँको पाउ छुँदै हल्का आत्तिएको आवाजमा भने । एक छिन उहाँले मलाई एकटक आँखाले हेर्दै भन्नुभयो, ‘अँ, सबै याद आयो ।’

मैले लेखेका चिट्ठीका बारेमा भन्दा अरु केही बढी सम्झेजस्तो गरेर उहाँले भन्नुभयो  । तर उहाँ के सम्झिँदै हुनुहन्थ्यो मलाई थाहा भएन । 

उहाँले मेरो विगत, वर्तमानका समस्या र उद्विग्नता सबै बुझेको आभास भयो । उहाँसामु मैले अनुभव गरेको श्रद्धा र प्रेमको पृष्ठमूभिमा कसैलाई बताउन नसक्ने मेरो हृदयको गहिराइमा लुकेका सबै कुरा व्यक्त गर्न चाहन्थे । 

कोठामा एउटा मात्र कुर्सी थियो । आचार्यश्री कुर्सीमा बस्नुभयो । म मार्बलको भुइँमा बसेँ । उहाँले मलाई खाटमै बस्न इशारा गर्नुभयो । मलाई उहाँको खाटमा बस्न सहज लागेन । मेरो हिच्किचाहट देखेर ‘भुइँ चिसो छ, खाटमै बस’ भन्नुभयो । म खाटमा बसेँ । मैले उहाँलाई आफ्ना सबै समस्याहरू बताएँ । बेला बेलामा म स्थिर भएर बोल्न सकिरहेको थिइनँ तर उहाँले धैर्य र करुणाले सबै सुन्नभयो । 

मैले उहाँलाई पटनामा प्रथम पटक देखेको कुरा बताएँ । प्रवचनले आफूलाई भित्रैदेखि छोएको बताउदै फेरि पनि सत्यको खोजमा लाग्ने पे्ररणा पाएको तथा समस्याग्रस्त जीवनमा उहाँ नै आफ्नो एक मात्र आशाको केन्द्र भएको सुनाएँ । 

मैले यो विशेष दुर्लभ क्षणमा आफूलाई स्थिर राख्न सकिरहेको थिइनँ । मैले आफ्नो साधना, धेरै गुरु र आश्रमहरू चहारेको र त्यसको व्यर्थता र असन्तुष्टि बताएँ । प्रत्येक दिन नबिराई भेटेसम्म उहाँका पुस्तकहरू पढने कुरा पनि बताएँ । मेरा परिवारको बारेमा पनि उहाँले सोध्नुभयो ।

उहाँले भन्नुभयो, ‘पद्मसंभवले तिब्बतमा, महिन्दा र संघमित्राले श्रीलंकामा बुद्ध धर्म फैलाएझैँ नेपालमा पनि मेरो दर्शनलाई फैलाउने उचित व्यक्तिको पर्खाइमा छ । हिमाली राज्य नेपालको ठूलो आध्यात्मिक सम्भावना छ ।’ ‘तिमी तयार भयौ भने नेपाल पनि मेरो लागि तयार हुन्छ ।’

आचार्यश्रीले भनेका कुरा मलाई कथा जस्तो लाग्यो । उहाँका शब्दमा मलाई शंका थिएन तर आफ्नै क्षमताप्रति मलाई शंका थियो । भविष्यको उहाँको नेपालमा हुने कार्य विस्तार एक सुन्दर कल्पना जस्तो लाग्यो । 

उहाँले मेरो मन पढेजस्तै गरी भन्नुभयो, ‘जब शिष्य समर्पणका लागि तयार हुन्छ, व्यक्तिगत सीमाहरूलाई उसले पार गर्छ, ब्रह्ममय जगतले उसबाट कार्य गर्न थाल्छ ।’

उहाँले मलाई सोध्नुभयो, ‘तिमीलाई के गर्न सबैभन्दा मन पर्छ ?’ मैले तुरुन्तै जवाफ दिएँ, ‘घुम्न ।’ मैले आइएससी पास गरेपछि हवाई सेवामा भर्नाका लागि जाँच दिएको पनि थिएँ । त्यो थाहा पाएर मेरा आमाबुबा खुब झोक्किनु भयो । अन्तर्वार्ताको दिन उहाँहरूले मलाई कोठामै बाहिरबाट बन्द गरिदिनु भयो । म जान सकिनँ ।

पाइलट बन्ने मेरो सपना चकनाचुर भयो । इन्जिनियरिङ गर्दागर्दै मैले भारतीय रेल वे र हवाइसेवामा जाने मन गरेको थिएँ । यी सेवामा जागिरकै निहुँमा पनि खुब घुम्न पाइन्छ भन्ने बुझेर मेरो झुकाव त्यतातिर थियो । मैले पढेको राहुल संकृत्यायनको ‘अथातो घुमक्कडी जिज्ञासा’ र अन्य धेरै यात्रा वृतान्तहरूले मलाई टाढाटाढासम्म घुम्ने अझ प्रेरणा दिएको थियो । 

आचार्यश्रीले भन्नुभयो, ‘पाइलटले विश्व नै देखेको हुँदैन, उनीहरूले एयरपोर्ट मात्रै देखेका हुन्छन् । आफूलाई योग्य बनाऊ । जब तिमी तयार हुनेछौं म तिमीलाई विश्व घुमाउँला । विश्वको अनेक भागमा तिमीलाई अनन्य प्रेमले मानिसहरूले स्वागत गर्नेछन् । तर त्यो प्रेमका लागि पहिला तिमी योग्य बन ।’

ओशोले यो वाचा पूरा गर्नुभयो – विपुल रुपमा । आज म वर्षको आधा समय ओशो दर्शन र ध्यान सन्देशको प्रचारका लागि विदेशमै बिताउँछु । पाएका जति निमन्त्रणा स्वीकार गर्ने हो भने बाह्रै महिना म विदेशमै हुन्छु । नेपालका आश्रमहरूको पनि उत्तरदायित्वका कारणले मैले भ्रमण छोट्याउनु परेको छ ।

मभित्र त्यो घुमक्कडी प्रवृत्ति अब समाप्त हुँदै आएको छ । अब म एकान्तमा शान्त भएर बस्ने दिनको पर्खाइमा छु । तर ओशो पनि मभित्र घुमक्कडीको एक बीज पनि बाँकी नरहोस् भन्दै त्यसलाई पूरै दग्ध गर्न दृढ हुनुहुन्छ । बढ्दो उमेरसँगै म अझै घुमिरहेको छु । मानिसहरूले आफ्नै परिवारको सदस्य झैँ प्रेम र न्यानोपनले स्वागत गर्छन् । मेरो पाइलट बन्ने इच्छा सम्झिँदा अहिले मलाई हाँसो उठेर आउँछ । मैले कल्पना गरेभन्दा हजार गुणा बढी ओशोले दिनुभयो । उहाँको यो कृपा मेरो कुनै उदात्त कल्पनाभन्दा पनि विशाल छ । 

आचार्यश्रीको सान्निध्यमा बस्न पाउँदा म उद्वेलित भइरहेको थिए“ । उहाँले मलाई केही प्रश्न सोध्नुभयो । मैले जवाफ दिएँ । आत्म नियन्त्रणको मेरो अतिशय धारणा, ब्रह्मचर्य, विगतका मेरा साधना यात्राबारे सुनेपछि आचार्यश्रीले भन्नुभयो, ‘तिमीले अवैज्ञानिक, रुग्ण विचारका पुस्तक चाहिएभन्दा बढी पढेको रहेछौ र यी पुस्तकले तिमीलाई बिगारेका छन् ।’

उहाँले मलाई ‘सम्भोग से समाधि कि ओर’ पुस्तक पढने सल्लाह दिनुभयो । यो पुस्तक भर्खरै प्रकाशित भएको थियो र समाजमा खुबै तरंग मच्चाएको थियो । उहाँले भन्नुभयो, ‘मैले अब विदेशबाट पनि निमन्त्रणा प्राप्त गर्न थालेँ, आउने मार्चमा म नैरोबी जान्छु होला ।’ मैले एक्कासि नजानुस् भने । 

‘किन?’ उहाँले आश्चर्य मानेर सोध्नुभयो । ‘किनभने तपाईँले विदेश यात्रा सुरु भयो भने विदेशीहरूले तपाईँलाई तुरुन्तै चिन्ने छन् । हामी जस्ता साधारण साधकले तपाईँलाई भेट्न असम्भव हुनेछ ।’

‘हेर, यस युवकले ठिक कुरो गर्दैछ ।’ मलाई देखाउँदै त्यहाँ आइपुगेका उहाँका केही सहयोगीलाई उहाँले भन्नुभयो । र, अगाडि थप्नुभयो, ‘हो, ठ्याक्कै यस्तै हुनेछ ।’

उहाँका शब्दबाट उत्साहित भएर मैले उहाँलाई भने, ‘मार्चमा कतै नजानु होला । बरु कृपया काठमाण्डौ आउनु होस् ।’

मलाई ध्यान दिएर हेर्दै उहाँले सोध्नुभयो, ‘कार्यक्रम आयोजना गर्न सक्छौ ?’

म यति आनन्दित थिएँ कि मैले आफ्नो क्षमताको सीमालाई बुझ्न सकिनछु । मैले भने, ‘मेरो अविभावकको राम्रो राजनीतिक पृष्ठभूमि छ । उहाँहरूले पनि हजुरको कार्यक्रमको आयोजनामा सहयोग गर्नु हुनेछ ।’

उहाँले भन्नुभयो, ‘ठिक छ, म होटलमा बस्नुको सट्टा तिम्रै घरमा बस्न चाहन्छु ।’

त्यसताका हामी पुतलीसडकको भाडाको एक तीनतले घरमा बस्थ्यौँ । भुइँतलामा मेरा पिताको अफिस थियो । हामी पहिलो तलामा बस्थ्यौँ । घरमा एउटा मात्रै ट्वाइलेट बाथरुम थियो । असुविधा हुने ठानी उहाँलाई घरमा राख्न मलाई ठिक लागेन । एक्लै आफ्नो निजी परिवेश बस्ने आचार्यश्रीका लागि मेरो त्यो घर उपयुक्त थिएन भन्ने लाग्यो । मेरा अविभावकको राजनीतिक सम्बन्धका कारण पनि त्यहाँ भिडभाड भइरहन्थ्यो । त्यस्तो वातावरणमा उहाँलाई राख्न मनले मानेन । आफ्नो घरको असुविधा सम्झेर आफैप्रति दया पनि लाग्यो । मैले भनेँ, ‘काठमाण्डौको न्यूरोडमा आधुनिक सुविधाजनक पारस होटल छ । हजुरलाई त्यही बस्ने व्यवस्था मिलाउँछु ।’ उहाँले भन्नुभयो, ‘म तिम्रा लागि आइरहेको छु, र तिम्रै घरमा बस्ने छु ।’

जब मैले सारा परिवारका लागि एउटै मात्रै बाथरुम भएको कुरा निकाले उहाँले मलाई आश्वस्त पार्दै भन्नुभयो, ‘त्यो समस्या होइन । चिन्ता नगर । सुविधाभन्दा पनि तिम्रो प्यास र प्रेम मेरा लागि पर्याप्त छ । म तिम्रै घरमा आनन्दित हुनेछु ।’

मैले नेपाल अझै ध्यान शिविरको लागि तयार नभएको कुरा बताएँ । सार्वजनिक प्रवचन र व्यक्तिगत भेटघाटमा मानिसले आचार्यश्रीलाई अझ नजिकबाट चिन्ने मौका पाउनेछन् र सोही अनुसार कार्यक्रमहरू आयोजन गर्न सकिने बताएँ ।

उहाँले रहस्यमय ढंगले मुस्काउँदै चम्किलो आँखा पारेर भन्नुभयो, ‘तिमीलाई थाहा छैन, नेपालको कति सम्भावना छ । तयार होऔं, नेपालमा आध्यात्मिक क्रान्ति हुनेछ ।’

जब म ओशोको कोठाबाट बाहिर निस्किएँ, क्रान्ति अघि नै सुरु भइसकेको थियो ।  

- स्वामी आनन्द अरुणद्वारा लिखित पुस्तक 'ओशाे : अचम्म जाे मैले देखेँ' बाट । बुकहिल पब्लिकेशनद्वारा प्रकाशित पुस्तक शनिबार विमाेचन हुँदैछ ।

अन्तिम अपडेट: असार २८, २०७६

स्वामी आनन्द अरुण

स्वामी आनन्द अरुण ओशो तपोवन केन्द्र नेपालका सस्थापक हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया