विदेशबाट फर्केर उद्यम गरिरहेका ८ जना सम्मानित

 असार १८, २०७५ सोमबार १८:२३:४१ | सन्जिता देवकोटा

काठमाडौं – विदेशबाट फर्किएर नेपालमा उद्यम गरिरहेका ८ जनालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुरस्कृत गरेको छ ।

युएईमा २ र इजरायलमा २ वर्ष काम गरेर फर्किएका सोनाम लामाले सर्वोत्कृष्ट उद्यमी पुरस्कार तथा अरु सात जनालाई उत्कृष्ट उद्यमी पुरस्कार तथा सम्मान वितरण गरिएकाे हो । 

मन्त्रालयले सर्वोत्कृष्ट उद्ययमी भएका सोनामलाई एक लाख रुपैयाँ र उत्कृष्ट सात जनालाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र वितरण गरेको छ । उत्कृष्ट हुनेमा देवीप्रसाद खत्री, हरी लुईंटेल, खोजराज कटुवाल, गणेश पुन मगर, प्रेमप्रसाद लामिछाने, द्रोणप्रसाद न्यौपाने र रामदिपाल थारु रहेका छन् ।

मन्त्रालयले रोजगारी सिर्जनामा योगदान गर्ने, स्थानीय स्रोत साधनको उपयोग गर्ने, पूँजी लगानी अनुपात, आयात प्रतिस्थापन, कर भुक्तानी, ऊर्जा खपत, सामाजिक उत्तरदायित्व बहन गर्ने, वातावरणमैत्री प्रविधिको प्रयोग तथा प्रदुषण व्यवस्थापन गर्ने, दुर्गम तथा समावेशीतालाई आधार बनाएर उत्कृष्ट उद्यमी छनौट गरिएको जनाएको छ । 

विदेशबाट फर्किएर उत्कृष्ट उद्यमी पुरस्कार पाएका खोटाङका हरि लुईटेलले १६ लाख लगानीमा होटल र कृषि फार्म सञ्चालन गरिरहनुभएको छ । देवीप्रसाद खत्रीले एक करोड रुपैयाँ लगानीमा बागलुङमा अचैची खेती गरिरहनुभएको छ । 

साउदी, युएई र इजरायल गरी रोजगारीमा १२ वर्ष बिताएर फर्किएभएका खोजराज कटुवालले ५५ लाख लगानीमा तरकारी खेती, माइक्रो सिँचाइ, नर्सरी तथा कृषि तालिम सञ्चालन गरिरहनुभएको छ । 

यस्तै, साउदीमा १२ वर्ष काम गरेर फर्किएका  गणेश पुन मगरले ७५ लाख लगानीमा कृषि तथा बाख्रापालन गरिरहनुभएको छ । साउदीमा ३ वर्ष बिताएर फर्किनुभएका प्रेमप्रसाद लामिछानेले २७ लाख लगानीमा बाख्रपालन गरिरहनुभएको छ ।

युएईमा काम गरेर फर्किएका दोणप्रसाद न्यौपानेले एक करोड ७५ लाख लगानीमा एकीकृत कृषी फार्म सञ्चालन गरिरहनुभएको छ भने बदिर्याका रामदिपाल थारुले इजारायलमा १ वर्ष काम गरेर फर्किएर २ लाख लगानीमा मौसमी, बेमौसमी नगदेबाली तथा बेर्ना उत्पादन गरिरहनुभएको छ ।  

कामको सम्मान गर्ने वातावरण सरकारले बनाउँछ : मन्त्री विष्ट

सम्मान कार्यक्रममा श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले वैदेशिक विदेशमा सिकेका सीपको उपयोग गरी स्वदेशमा उद्यम  गर्नु र रोजगारी सृजना गरी महत्वपूर्ण भूमिका खेलेको भन्दै स्वरोजगारलाई सहयोग पुग्ने गरी छिट्टै औपचारिक कार्यक्रमको घोषण गर्ने बताउनुभयो । 

नेपालमा उद्यम गर्न चाहनेका लागि सहयोग गर्न सरकार तयार रहेको भन्दै उहाँले कामको सम्मान गर्ने वातावरण बनाउन सरकारले योजना ल्याउने पनि बताउनुभयो । बाँझो जमिनलाई सामुहिक कृषि र खेतीयोग्य जमिनको रुपमा विस्तार गरी रोजगारको आधार तयार गर्ने पनि उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: चैत २, २०८०

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

1 Comments

  • sujan pun

    July 6, 2018, 10:16 a.m.

    khusi lagyo. Ganesh Pun Magar kun district ko hunuhudo raixa kulena ni.

  •  0 Reply

तपाईको प्रतिक्रिया