सिक्किम टपर रीता र संगीतकार टीका भण्डारीको यसरी भयो बिहे

 असार १९, २०७५ मंगलबार १४:३५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

संगीतकार तथा गायक टीका भण्डारी २५ वर्षदेखि रेडियो नेपालमा कार्यरत छन् । हाल उनी रेडियो नेपालको उप–निर्देशकको पदमा कार्यरत छन् भने रेडियो नेपालमै  संगीत शाखाको प्रमुखको भूमिकामा पनि उनी कार्यरत छन् । टीका भण्डारी प्यारोडी गायकका रुपमा पनि परिचित छन् । 

उनी विभिन्न ठाउँमा हुने स्टेज कार्यक्रम र गाईजात्रा विशेष कार्यक्रमहरुमा प्यारोडी गीतहरु प्रस्तुत गर्छन् । उनको पेशागत कामका बारेमा त हामी धेरै जानकार छौँ । तर उनको व्यक्तिगत जीवनको बारेमा धेरैलाई थाहा नहुन पनि सक्छ । विशेष गरी उनको विवाह प्रसंग । 

टिकाले २५ वर्षअघि सिक्किमकी रीता शर्मालाई श्रीमतीको रुपमा नेपाल भित्र्याए । एकपटक सिक्किम र दार्जिलिङमा कार्यक्रममा गएको बेला गायिका मीरा राणाले टिकालाई जिस्क्याउने गर्थिन्  । भन्थिन्, ‘ओ हो ! कस्तो राम्रो ठाउँ बिहे त यताको केटीसँग पो गर्नुपर्छ ।’

संयोगवस पछि टीका भारतको सिलिगुडीमा केटी हेर्न गए । तर त्यहाँ गइसकेपछि हेर्न गएकी केटी नहेर्दै रिताको बारेमा कुरा चल्यो । अमरावतीमा पढ्दै गरेकी रीताको बारेमा सुनिसकेपछि टीका रीतालाई हेर्न सिक्किम पुगे ।  

त्यहाँ पुगेपछि उनीहरुले एक अर्कालाई हेरे र कुराकानी पनि गरे । दुई–तीन पटकको भेट र कुराकानीपछि उनीहरु विवाह गर्ने निधोमा पुगे । टीकाले झापाबाट जन्ती लिएर विवाहको लागि सिक्किम पुगे र सिक्किमकी रीता शर्मालाई उनले दुलही बनाएर नेपाल भित्र्याए । यी दुईको विवाह विशुद्ध मागी हुन पुग्यो । 

रीताका दुई जना दिदीको उनीभन्दा अगाडि नै प्रेम विवाह भएको थियो । यही कारण पनि रीताको परिवारलाई उनको पनि प्रेम विवाह हुने डरले सताएको थियो । सम्भवतः यही कारण थियो रीताको परिवारले टिका माग्न गएपछि विवाहको लागि स्वीकृति दियो । परिवारका ६ बहिनीमा रीता साईँली छोरी थिइन् । दुई जना छोरीको कन्यादान गर्न नपाएका रीताका आमाबुवाले प्रकृया पुर्याएर रीताको हात माग्न गएका टीकालाई राम्रोसँग स्वागत गरे र छोरीको कन्यादन गरेर नेपाल पठाए ।

यो जोडीले गत डिसेम्बर ५ मा २५ औँ वैवाहिक वर्षगाँठ मनाईसकेको छ ।  २५ औँ वैवाहिक विशेष हुने भएकाले उनीहरुले पारिवारिक जमघटमा २५ औँ वैवाहिक वर्षगाँठ मनाए ।

टीका त्यो दिन नपुगेको भए

जुन दिन टीका पहिलो पटक रीतालाई हेर्न सिक्किम पुगेका थिए यदि त्यो दिन नपुगेको भए रीता र टीकाको भेट नहुन पनि सक्थ्यो । त्यसको भोलिपल्ट अमरावतीको टिकट काटेर अध्ययनको लागि जान रीता तयार भएकी थिइन् । रीता भन्छिन्, ‘यदि त्यो दिन उहाँहरु नआउनु भएको भए विवाह हुँदैनथ्यो होला । सिक्किम सरकारले मलाई पढ्नको लागि अमरावतीको  एचबी पिएम कलेजमा पठाएको थियो । फिजिकल साइन्स पढ्नको लागि म तयार थिएँ । सिक्किमबाट अमरावतीमा पढ्न जान पाउने दुई जनामध्ये म पनि एक थिएँ । मलाई उहाँहरु हेर्न आउनुहुन्छ अनि जानुहुन्छ भन्ने लागेको थियो । विवाह भैहाल्छ भन्ने लागेको थिएन । तर पछि कुराकानी गर्दै जाँदा हामीले एकअर्कालाई मन परायौँ ।’

उनीहरुले नै एकले अर्कालाई मन पराइसकेपछि विवाहमा कुनै रोकावट आउने कुरै थिए । बरु रीताको पढाईमा भने रोकावट आयो । सिक्किम टपर रीता जो पढाईलाई मात्रै अगाडि बढाउने सोचमा थिइन्, टिकासँगको भेटपछि भने विवाहको बारेमा सोच्न थालिन् । विवाह गरेपछि पनि अध्ययनलाई अगाडि बढाउने सपना देख्न थालिन् । कक्षा १२ सम्म प्रेम र विवाहका बारेमा सोच्दे नसोच्ने रीता टिका तर्फ आकर्षित भइन् र अमरावतीमा भएको कलेजमा पढ्ने सपना बिर्सन थालिन् ।

विवाहपछि पनि पढाईलाई अगाडि बढाउने शर्तमा विवाह गरेकी रीताले नेपालमा आइसकेपछि त्यो विषयको कलेज नपाएका कारण पढाईलाई अगाडि बढाउन सकिनन् । तर आर्ट्समा उनले स्नातक गरिन् । 

दुई सन्तानका अभिभावक टीका र रीता

रीता र टीकाका दुई सन्तान छन् एक छोरी अस्मिता र एक छोरा । २२ वर्षीय छोरी र २० वर्षीय छोरा पनि रीताजस्तै अध्ययनमा अब्बल छन् । हाल उनीहरु दुवैजना अध्ययनको सिलसिलामा अमेरिका पुगेका छन् । अस्मिताले अमेरिकाको ए–ग्रेडको कम्पनीमा काम सुरु गरेकी छिन् ।  उनले अकाउण्टिङमा ग्रयाजुएसन गरेकी छिन् ।

उता टीकाका छोरालाई भने फिल्ममेकिङ, क्यामेरा र फोटोग्राफीमा रुचि छ । उनी यतिबेला फिल्म मेकिङ पढिरहेका छन् । उनमा ५/६ वर्षको उमेरदेखि नै भिडियो सम्पादन गर्न सक्ने खुबी थियो । यूकेजीदेखि नै राम्रोसँग कम्प्युटर चलाउने जान्ने उनीसँग त्यतिबेलै फेसबुक र इमेलहरु ह्याक गर्ने आइडिया पनि थियो । टीकाका छोरा सिनेमा र प्राविधिक क्षेत्रमै केही गर्ने सुरमा छन् ।

 

 

-उज्यालाे र गफगाफ डट कमकाे सहकार्यमा
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया