काठमाण्डौमा आइतबार भएको विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुग्यो

 जेठ १३, २०७६ सोमबार ६:४२:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौमा आइतबार भएका विस्फोटमा ज्यान गुमाउनेको संख्या ४ पुगेको छ । अरु ७ जना घाइते भएका छन् ।

सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका एक जनाको उपचारका क्रममा निधन भएपछि ज्यान गुमाउनेको संख्या ४ पुगेको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । यसअघि सुकेधारामा भएको विस्फोटमा २ जना र अनामनगर नजिकै घट्टेकुलोको एउटा घरको कोठामा विस्फोट हुँदा १ जनाको ज्यान गएको थियो । 

मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यस्तै चन्द्रगिरी नगरपालिका–३ इँटाभट्टा चोकमा बम विस्फोट भएको छ । प्रेसर कुकर बम बोकेर ल्याउँदै गर्दा भएको विस्फोटमा आकाश लामा घाइते भएका हुन् ।

यसैबीच घट्टेकुलोमा सिलिण्डर बम लिन गएका र त्यहाँ विस्फोट भएपछि भागेर कोठामा आएका सात जनालाई प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेहरुको कोठाबाट विस्फोट गराउन तयारी अवस्थामा रहेको कुकर बम फेला परेको प्रहरीले जनाएको छ ।

यसैबीच गृहमन्त्री रामबहादुर थापाले काठमाण्डौ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभएको छ । 
  
काठमाण्डौमा आइतबार विस्फोटपछि आकस्मिकरुपमा गृह मन्त्रालयमा बसेको बैठकमा उहाँले घटनाबारे विस्तृत अनुसन्धान गर्न र सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया