विश्वकप क्रिकेट : अफगानिस्तानलाई श्रीलंकाले दियो २०२ रनको विजयी लक्ष्य

 जेठ २१, २०७६ मंगलबार २१:३१:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले अफगानिस्तानलाई २०२ रनको लक्ष्य दिएको छ । वर्षाका कारण ४१ ओभरमा झारिएको खेलमा श्रीलंकाले सबै विकेट गुमाएर ३६.५ ओभरमा २०१ रन बनाएको हो ।

कार्डिफमा अफगानिस्तानविरुद्ध बलियो सुरुवात गरेको श्रीलंकाले पहिलो विकेटका लागि ९२ रनको साझेदारी गरेको थियो । उसका कप्तान दिमुथ करुनारत्नेले ३० तथा कुशल परेराले ७८ रनको योगदान गरे । त्यसपछि लहिरु थिरमानेले २५ रन थपेका थिए ।

एक सय ४४ रनमा बनाउँदा मात्र दुई विकेट गुमाएको श्रीलंकाको पारीलाई मोहम्मद नावीले कमजोर पारे । उनले एकै ओभरमा तीन विकेट लिँदा श्रीलंका एकाएक दबाबमा आयो ।

सुरुवाति तीन खेलाडीले राम्रो खेले पनि त्यसपछि श्रीलंकाले एकपछि अर्को विकेट गुमाउँदा एक सय ८० रनमा आठ विकेट खेर फाल्यो । जसमा नावीले चार विकेट हात पारे । दौलत जद्रान र राशिद खानले दुई-दुई विकेट लिँदा हमिद हसनले एक-एक विकेट लिए ।

श्रीलंकाको स्कोर एक सय ८२ रनमा आठ विकेट हुँदा भारी वर्षा भएपछि खेल रोकिएको थियो । जसका कारण खेल ४१ ओभरमा झारिएको थियो । त्यसपछि सुरु भएको खेलमा बाँकी रहेका २ विकेट श्रीलंकाले १९ रन जोड्दा गुमाएको थियो ।

दुवै टिमले विश्वकपमा आफ्नो पहिलो खेलमा हार व्यहोरेका थिए । अफगानिस्तान अष्ट्रेलियासँग सात विकेटले पराजित भएको थियो भने श्रीलंका न्यूजिल्याण्डसँग १० विकेटले हारेको थियो । दुवै टिम पहिलो जितको खोजीमा छन् ।


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया