गाेरखा भूकम्पको केन्द्रविन्दुमा विद्यालय भवन निर्माण

 जेठ २३, २०७६ बिहिबार १८:४६:३८ | किरण लोहनी
unn.prixa.net

गोरखा - भूकम्पको केन्द्रविन्दु बारपाकमा हिमालय माध्यामिक विद्यालयको नयाँ भवन निर्माण सम्पन्न भएको छ ।

जापनी सहयोग नियोग (जाइका) को सहुलियतपुर्ण ऋण सहयोगमा निर्माण भएको भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले भूकम्पको केन्द्रविन्दु बारपाकको पुनर्निर्माण अन्तिम चरणमा पुगेकाले अब आय वृद्धिमा केन्द्रित हुन स्थानीय बासिन्दालाई आग्रह गर्नुभयो । ‘यहाँ कृषि तथा पर्यटनमा सामूहिकता देखिनँ’, उहाँले भन्नुभयो, ‘पर्यटन र कृषिमा ध्यान लगाउनुहोस् । प्रदेशले के गर्नुपर्छ हामी गर्छाैँ । होमस्टे, अर्गानिक खेती लगायतमा हामीले अनुदान दिन्छौँ । तपाइँहरु आत्मनिर्भर बन्नुहोस् ।’

प्रदेश सरकारले कोसेली बाँडे जसरी अनुदान नबाँड्ने उहाँले स्पस्ट पार्नुभयो । ‘तपाइँको ठोस योजना र लगानीका आधारमा मात्रै हामीले अनुदान दिने हो’, उहाँले भन्नुभयो, ‘बाख्रा पाल्नका लागि अनुदान लिने र त्यही पैसाले घडेरी किन्ने गर्न सरकारले दिँदैन । ’

नयाँ भवन जाइकाको ११ करोड  रुपैयाँको लागतमा निर्माण भएको हो । भवनमा कक्षा कोठा सहित प्रयोगशाला, पुस्तकालय, शौचालय, प्रशासनिक कक्ष लगायतका १९ कोठा छन्  । विद्यालय भवन भूकम्पले भत्किएपछि टहरामा पढ्दै आएका बालबालिका अब सुविधासम्पन्न भवनमा पढ्न पाउने भएका छन् ।

विद्यालयमा अब सातकोठे भवन आवश्यक रहेको सहायक प्रधानाध्यापक खेमबहादुर घलेले बताउनुभयो । उहाँले भवनसहित पुस्तकालयमा फर्निचर तथा पुस्तकको व्यवस्था गरिदिन माग गर्दै मुख्यमन्त्री गुरुङलाई ज्ञापन पत्र पनि बुझाउनुभएको छ ।  

व्यवस्थापन समितिका अध्यक्ष मनोज घलेको अध्यक्षतामा भएको कार्यक्रममा मुख्यमन्त्री गुरुङ, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा, सांसद प्रकाशचन्द्र दवाडी, बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख शुशील ज्ञवाली, जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का रामप्रसाद आचार्य लगायतकाे उपस्थिति थियाे ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया