साढे ३३ किलो सुनकाण्डको पेसी फेरि स्थगित

 असार २१, २०७५ बिहिबार १४:५६:८ | सुमन तिमल्सिना

मोरङ – साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरण मुद्दामा पुर्पक्षको लागि जेल चलान भएका ५ जना प्रहरी अधिकारीसहित १६ जनाको मुद्दा पेसी फेरि स्थगित भएको छ । 

जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएपछि उनीहरुले पुनरावलोकनका लागि उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए । साधारण तारेखमा छाड्न माग गर्दै आफ्ना वकिलमार्फत उच्च अदालत विराटनगरमा मुलुकी ऐनको अदालती बन्दोबस्तीे महल १७ नम्बर अनुसार उनीहरुले निवेदन दिएका  थिए । निवेदन दिएपछि आज सुनुवाईको लागि पेसी चढेकोमा सरकारी वकिल तथा निवेदकका  वकिलहरुले नै पेसी स्थगित गर्न निवेदन दिएपछि आजको पेसी पनि स्थागित भएको हो ।

मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर दर्ता गरेकाहरु मध्ये उच्च सरकारी वकिल कार्यालयको तर्फबाट टेकराज मल्ल ठकुरी, हेमन्त गौतम, पूण्यप्रसाद लामा, सञ्जय राउत, दिवेश लोहनी, विकासराज खनाल, गोविन्द निरौला र सम्बीरप्रसाद तोलाङ्गेको पेसी स्थगित गरिएको छ । 

त्यस्तै निवेदकको तर्फका वकिलले पनि पेसी स्थगितको लागि निवेदन दिएपछि आजको लागि तय भएको पेसी स्थगित भएको हो । यसरी निवेदकको तर्फबाट राजन थापा, एलबी मगर, बालकृष्ण श्रेष्ठ, विष्णुबहादुर खड्का, गोपालकुमार श्रेष्ठको पेसी स्थगित भएको उच्च सरकारी वकिलको कार्यालयका शाखा अधिकृत पुष्पराज बाँस्तोलाले जानकारी दिनुभयो ।

त्यस्तै सरकारी वकिलको तर्फबाट १७ नम्बर दायर भएको अम्बरबहादुर थापा र विष्णुबहादुर खड्कासहित बालकृष्ण सञ्जेल र श्याम खत्रीको भने कैफियत प्रतिवेदन प्राप्त नभएकोले पेसी स्थगित भएको हो । जिल्ला अदालतले बुझाउनु पर्ने कैफियत प्रतिवेदन उच्च अदालतमा पेश भएको छैन ।

उच्च सरकारी वकिल कार्यालयका सह–न्यायाधीवक्ता चिरन्जीवी पराजुलीले सरकारी वकिलको तर्फबाट निवेदन दर्ता भएकाहरुको  कैफियत प्रतिवेदन आइनसकेको जानकारी दिनुभयो ।

आदेश चित्त नबुझेर बन्दीहरुले १७ नम्बरको निवेदन दर्ता गराएपछि जिल्ला अदालत मोरङले उच्च अदालत बिराटनगरलाई ४ जना बाहेकको कैफियत प्रतिवेदन पठाइसकेको छ । कैफियत प्रतिवेदनमा अभियुक्तले दिएको बयान, घटना मुचुल्का र अदालतको आदेशसहितको विवरण समावेश गरिने उच्च सरकारी वकिल कार्यालयले जनाएको छ ।

मुद्दाको सम्पूर्ण कैफियत प्रतिवेदन उच्च अदालतमा बुझाएपछि अदालतले पेसी तोक्ने व्यवस्था अनुसार आज पेसी तोकिएकोमा कतिपय सरकारी वकिलबाट र कतिपय निबेदकका वकिलको तर्फबाट पेसी स्थगित भएको हो ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया