झापाका ७ स्थानीय तहमा बाढीको उच्च जोखिम

 असार २१, २०७५ बिहिबार १५:३२:३६ | सुश्मा राजवंशी
unn.prixa.net

झापा – बर्खा सुरु भएसँगै ७ स्थानीय तह बाढीको उच्च जोखिममा रहेका छन् ।

झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपत्कालीन कार्य सञ्चालन केन्द्रका एक अधिकारी प्रकाश कार्कीले जानकारी दिनुभयो  । वर्षाका कारण झापाको मेची, कनकाई, बिरिङ, कमल, बनियानी, टाङ्टिङ, निन्दालगायतका खोला तथा नदीमा पानीको बहाब बढेको छ ।

लगातारको वर्षासँगै आएको बाढी र पहिरोले झापाका विभिन्न ठाउँमा खेत बगाएको छ भने पहिरोले एक परिवार विस्थापित भएका छन् । अर्जुनधारा वडा नम्बर ३ देवीथान चौकमा रहेको कवैपानीमा पहिरो जाँदा गणेश खनालको घरमा क्षति पुगेपछि पाँच जनाको खनाल परिवार छिमेकीकोमा शरण लिन पुगेका छन् । त्यस्तै बिरिङ खोलाले अर्जुनधारा–५, को पानीकल क्षेत्रमा बाढीले धेरै खेतीयोग्य जमिन कटान गरेको छ भने कनकाई माई नदीमा आएको बाढी बस्तीमा पस्दा केही घर र खेतीयोग्य जमिन उच्च जोखिममा परेको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

मेची खोलामा पानीको बहाव बढेपछि नजिकैका घरहरु जोखिममा परेका छन् । त्यस्तै कमल गाउँपालिका वडा नम्बर–७, का ३० घरपरिवार जोखिममा रहेको जनाइएको छ । त्यस्तै मेचीनगर–३, मा पनि बाढीले कटान गरेपछि किसानको खेत र नजिकैको घर जोखिममा परेको स्थानीयले बताएका छन् । उता कमल गाउँपालिका वडा नम्बर–७, का ३० घरपरिवार जोखिममा रहेको जनाइएको छ ।  

नदीहरुमा ठूलो बाढी आउने र क्षति पुर्याउन सक्ने भएकोले सतर्क रहन नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ । कुनै स्थानमा समस्या भएमा वा आपतकालीन अवस्था आएमा तुरुन्त रेडक्रस तथा नजिकैको प्रहरी प्रशासनलाई जानकारी गराउन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले आग्रह गर्नुभएको छ ।

उच्च जोखिम भएका ठाउँहरुमा राहतका लागि रेडक्रसकर्मी तयारी अवस्थामा रहेको पनि ढकालले जानकारी दिनुभयो । गएको वर्ष बाढीले झापामा १६ जनाको ज्यान गएको थियो भने २ जना वेपत्ता भएका थिए । ३ हजार ५६ घरमा क्षति पुगेको थियो ।

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुश्मा राजवंशी

झापामा बसेर पत्रकारिता गर्ने सुश्मा राजवंशी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया