साहुकारी र सहकारी

 असार २३, २०७५ | सनतप्रसाद सापकाेटा

सहकारीको संस्थागत सुरुवात स्कटल्याण्डबाट सन् १७६१ तिरै भएको पाइन्छ । आधुनिक सहकारीको जन्म सन् १८४४ मा भएको हो । विश्वमा हाल १ अर्ब भन्दा बढी ब्यक्तिहरु सहकारी संस्थामा आवद्ध छन ।  

नेपाली समाजमा सहकारिताको अभ्यास प्राचिनकालदेखि नै भएको भएपनि हालको सहकारीको अभ्यास वि.सं २०१० सालदेखि सुरु भएको मानिन्छ । अहिले नेपालमा ३५ हजारभन्दा बढी सहकारी संस्थाहरु छन ।

जसमध्ये बचत तथा ऋण सहकारीहरु १४ हजारभन्दा बढी छन । सहकारी संस्था भनेको सदस्यमा आधारित, सदस्यहरुका लागि र सदस्यहरुबाट नै सञ्चालित एउटा स्वायत्त संस्था हो । सहकारी व्यक्तिगत भन्दा पनि सामुहिक उद्धेश्यलाई पूरा गर्ने लक्ष्य राखेर सञ्चालन गरिन्छ । 

सहकारीले प्रजातान्त्रिक पद्धतिको अनुशरण गर्दछ र यसैबाट नै नियन्त्रण पनि राख्दछ । नाफाभन्दा सदस्यको हितलाई प्राथमिकता दिने, आपसी सहयोग र जिम्मेवारी बहन गर्ने, समता। समानता र ऐक्यबद्धतामा इमान्दारिताका साथ सहभागी हुने मूल्य मान्यतालाई अँगालेको हुन्छ । 

खुल्ला तथा स्वेच्छिक सदस्यता, प्रजातान्त्रिक नियन्त्रण, सदस्यको आर्थिक सहभागिता, स्वाधिनता, सदस्यहरुलाई शिक्षा, सूचना र तालिम, सहकारी संस्थाहरुबीचको आपसी सहयोग र समुदायप्रति चासो राख्ने सिद्धान्तबाट प्रेरित हुन्छ । 

नेपाल सरकारले पनि सहकारीतालाई विकासको एउटा बलियो खम्बाको रुपमा हेरेको छ । सहकारी अभियान पूँजी र सदस्यको संख्यामा धेरै माथि पुगिसकेका छन् । तर सहकारी अभियानले यसको मर्म र भावनालाई पूर्ण रुपमा आत्मसाथ गर्न सकिरहेको छैन ।

धेरै सक्रिय सहकारीहरुमध्ये बचत तथा ऋण सहकारी संस्थाहरु पनि पर्दछन् । अधिकांश सहकारीहरुलाई हेर्ने हो भने सहकारीको वास्तविक मूल्य मान्यताबाट धेरै पर पुगेको अनुभव गर्न सकिन्छ । सहकार्यमार्फत दीगो समाज भन्ने नारा सहित यो वर्ष पनि अन्तर्राष्ट्रिय सहकारी दिवस ( जुलाई ७) मनाइँदै छ । 

एक आपसमा सहकार्य र सहयोग अभिवृद्धि गर्न सके मात्र हामी रहेको समाज दीगो र भरपर्दो हुन्छ । सहकारी अभियानको सिद्धान्त, मूल्यमान्यताहरुले पनि साझा उद्धेश्यको लागि आपसी सहकार्यलाई जोड दिएको छ । 

सहकारी अभियान अगाडि बढ्दै गर्दा यसमा धेरै विचलनहरु पनि देखा परेका छन । सिद्धान्त र मूल्य मान्यताले जे भने पनि सहकारी संस्थाहरुले आ–आफ्नै मूल्यमान्यता निर्माण गरी अगाडि बढेको देखिन्छ । खुल्ला तथा स्वेच्छिक सदस्य भनेपनि संस्थापक सदस्य, विशेष सदस्यको विभाजन गरी चर्को शुल्क र एकमुष्ट रकम बुझाएपछि मात्र सदस्यता प्राप्त हुन्छ ।

गरिब, थोरै आम्दानी  भएका व्यक्तिहरुले सहकारी संस्थाको सेवा लिनबाट बञ्चित हुनुपरेको छ । साहुहरुलाई छुट, सुविधा र आकर्षण बढी छ । यदि थोरै रकममा कम पूँजी भएका व्यक्तिले सदस्यता प्रदान गरिहालेमा पनि उनीहरुलाई साधारण सदस्यको उपमा दिई सहकारीले दिने सेवा तथा सुविधामा विभेद गरिन्छ । 

सदस्यहरुबाट प्रजातान्त्रिक नियन्त्रण हुने सिद्धान्त त झन टाढा पुगेको छ । सकभर भागबण्डा मिलाएरै नेतृत्व लिने र राजनीतिक तथा ठूलाबडाहरुको हालीमुहाली प्रष्ट देखिन्छ । 

सदस्यहरुले यो अभ्यास देखेर साधारणसभालाई परिवहन खर्च बुुझ्ने अवसरको रुपमा मात्र लिन थालेका छन् । सहकारी संस्थाले किन सदस्यहरुले संस्थाप्रति चासो लिएनन् भनेर कहिल्यै सोच्दैनन् । किनभने सदस्यको चासो जति थोरै भयो व्यवस्थापनलाई मनपरी गर्न उति नै सजिलो हुन्छ । 

वार्षिक नाफाबाट सदस्यहरुलाई शिक्षा दिन भनेर छुट्टै कोषको स्थापना गरिएको हुन्छ । हाल यो कोषमा सकभर कम रकम पठाउने ता कि लाभांश बढी बाँड्न सकियोस् । यो कोषमा छुट्ट्याएको रकम सदस्यलाई शिक्षा दिन कमै प्रयोग गरिन्छ । 

सदस्य शिक्षा कोषमा रहेको रकम सधैंजसो जगेडा कोषमा समायोजन गरिन्छ । अनि हामी भन्छौं सदस्यहरुले वास्तै गरेनन् । तर सञ्चालक समितिले वार्षिक रुपमा गर्ने वाह्य जिल्ला वा विदेश घुम्ने रकम हरहमेसा सकिएकै हुन्छ । 

अझ विनियोजित भन्दा बढी खर्च गर्छन् । सञ्चालक शिक्षित र झन बाठा हुँदै गएका छन् भने सदस्यहरु सहकारीको ज्ञान, सीप र वास्तविक अभ्यासबाट टाढिँदै गएका छन् । सदस्यहरुले सहकारी संस्थालाई ऋण उपलब्ध गरिदिने साहुको रुपमा मात्र हेर्न थालेका छन् । यो साझा र सहकार्यमा चल्छ भन्ने कुरा करिब करिब बिर्सनै लागेका छन् । 

उत्कृष्ट सहकारी, सदस्यको एक मात्र रोजाई भन्ने सहकारी पनि छन् । तर यो भनाई  कागजमा मात्र सीमित छ । सोही संस्थाका सञ्चालक तथा कर्मचारी अन्य सहकारी संस्थाहरुमा आवद्ध छन् भने बजार क्षेत्रका सदस्यहरुले कम्तिमा १० ठाउँमा बचत गर्ने गरेको भेट्टाइन्छ । 

सदस्यहरुको साझा उद्धेश्यलाई पूरा गर्ने भन्दा पनि नाफालाई बढी प्राथमिकता दिएको देखिन्छ । ठूला ऋणीलाई प्राथमिकता दिने र ठूला बचतकर्ताहरुलाई प्रतिस्पर्धी ब्याज दिने गरिन्छ । 

गरिब तथा साना बचतकर्ताले गर्ने नियमित मासिक बचतमा कम ब्याजदर निर्धारण गर्ने अभ्यास बढेर गएको छ । किनभने सदस्यहरुले मेरो बचतमा किन ब्याज कम भनेर कहिल्यै प्रश्न गर्दैनन् । नियमित मासिक बचत झिक्नका लागि ५ वर्ष वा १० वर्षको अवधि कायम गर्ने तर त्यसको ब्याजदर अन्य साधारण बचत सरह मात्र दिनाले साना बचतकर्तालाई अन्याय भएको देखिन्छ ।

यी र यस्तै गलत अभ्यासहरु सहकारी अभियानमा ऐंजेरुको रुपमा रहेका छन् । सदस्यको महत्वलाई कम आँक्ने र कम पूँजी तथा पहुँच भएका व्यक्तिहरुले सहकारीताको प्रतिफलबाट बञ्चित हुने गलत अभ्यास बढेर जान नदिन सहकारीताको मूल्य, मान्यता र मर्मलाई असल सहकारीमार्फत प्रवद्र्धन गर्न सरकारले विशेष प्याकेजसहित सहकारीलाई नियमन र सुविधा उपलब्ध गराउनु पर्दछ ।

नाफालाई मात्र आधार नमानी आपसी सहयोग अभिवृद्धि गरी गरीब र कम पूँजी भएका वर्गको उत्थानका लागि सहकारी एउटा प्रभावकारी माध्यम हो । वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको अधिक सदुपयोग गर्नुपर्ने यो अवसरमा पूँजि निर्माण, उद्यमशिलता विकास, रोजगारी सिर्जना गरी समृद्धिको लक्ष्य हासिल गर्न सहकारी एउटा भरपर्दो विकल्प हो ।

यसका लागि सहकारीताको अभियानले साहुकारीताको बाटो छोडेर सहकारीताको बाटोमा फर्किन सकेमा मात्र सहकार्यसहितको दिगो समाजको कल्पना साकार हुने देखिन्छ । 
 

सनतप्रसाद सापकाेटा

सापकोटा सुरक्षित आप्रवासन परियोजना सामीमा वरिष्ठ तालिम अधिकृत तथा वित्तीय साक्षरता फोकल पर्सनका रुपमा कार्यरत हुनुहुन्छ।

तपाईको प्रतिक्रिया