नेकपाको नियमावलीलाई अन्तिम रुप दिन तीन सदस्यीय कार्यदल गठन

 असार २३, २०७५ शनिबार १३:२४:१२ | उज्यालो सहकर्मी

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको प्रस्तावित नियमावलीलाई परिमार्जनसहित अन्तिम रुप दिन तीन सदस्यीय कार्य दल गठन गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान बसेको पार्टी सचिवालय बैठकले स्थायी समिति बैठकले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिन ३ सदस्यीय कार्य दल गठन गरेको हो । नेताद्धय बामदेव गौतम, रामबहादुर थापा र महासचिव विष्णु पौडेल रहनु भएको कार्यदललाई ३ दिन भित्र नियमावलीलाई प्रकाशन हुने गरी अन्तिम रुप दिने कार्यादेश पनि दिइएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार दिउँसो बसेको पार्टी स्थायी समिति बैठकले नियमावलीलाई टुंगो लगाउने जिम्मेवारी पार्टीको केन्द्रीय सचिवालयलाई दिएको थियो । स्थायी समिति बैठकमा नेताहरुले दिएको सुझावको आधारमा नियमावलीलाई अन्तिम रुप दिने गरी कार्य दल गठन गरिएको पनि प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।

कार्यदलले तयार पारेको सुझावसहितको नियमावलीलाई आगामी मंगलबार बस्ने सचिवालय बैठकले अनुमोदन गरेर सोही दिन प्रकाशनका लागि पठाउने निर्णय पनि गरिएको छ ।

पार्टीले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न पनि मंगलबार नै सचिवालयले बैठक बोलाएको छ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जस्ताको तस्तै ल्याउन र आफू नेतृत्वको अघिल्लो सरकारले गरेको निर्णय खारेज गर्ने सरकारको निर्णय फिर्ता नलिए सडक र  सदन सबै मोर्चाबाट सरकारको चौतर्फी विरोध गर्ने चेतावनीसहितको प्रर्दशन गर्दै आएको छ ।

त्यसै सम्बन्धमा पार्टीभित्र समान धारणा तय गर्न मंगलबार पुनः सचिवालय बैठक बोलाइएको हो ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया