डेढ दर्जन घर पहिरोले भत्कायो, सयौँ घर जोखिममा

 असार ३०, २०७६ सोमबार ११:१:४९ | रासस
unn.prixa.net

उदयपुर – वर्षाका कारण उदयपुर जिल्लाको मध्य पहाडी तथा पश्चिमी क्षेत्रका विभिन्न गाउँपालिकामा अहिले डेढ दर्जनभन्दा बढी घर पहिरोले भत्काएको छ भने सयौँ घर उच्च जोखिममा परेका छन् ।

जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिकामा गएको पहिरोको कारण वडा नम्बर ४ र ५ मा दशवटा घर पहिरोले भत्काएको र केही घर पहिरोले पुरेको उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतले बताउनुभयो । यता जिल्लाको मध्य पहाडी उत्तरी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाको ४ बलाम्ता क्षेत्रमा समेत पहिरोको कारण तीन दर्जन घर भत्कन थालेको र बलाम्ताको पर्शुराम पद्मा मावि विद्यालयसमेत पहिरोको जोखिममा परेको स्थानीय समाजसेवी कुमार राईले बताउनुभयो ।

जिल्लाको पश्चिमी पहाडी गाउँपालिका ताप्लीको वडा नम्बर २ पनि चार घर पहिरोले भत्काएको ताप्ली गाउँपालिकाको अध्यक्ष उद्धवसिंह थापाले बताउनुभएको छ । उदयपुर गढी र लिम्चुङबुङ गाउँपालिकाका धेरै वडामा घर पहिरोले भत्काउन र तान्न थालेपछि अहिले सयौँ स्थानीय घर छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गइसकेको पनि सम्बन्धित गाउँपालिकाका जनप्रतिनिधिले बताएका छन् ।

जिल्लाकै रौतामाई गाउँपालिकाको सुनकोशी किनार क्षेत्रको अँधेरी छामलिङ, आँपटार खयसरबास क्षेत्रमा पनि पहिरोको कारण सयौँ घर अहिले जोखिममा पर्न थालेको रौतामाई गाउँपालिका–४ का वडाध्यक्ष पाण्डव राईले जानकारी गराउन भएको छ ।

उदयपुरका प्रमुख जिल्ला अधिकार ध्रुवबहाुर खड्कासँग जानकारी माग्दा अहिले जिल्लामा दर्जनौँ घरलाई पहिरोले भत्काइसकेको र धेरै घर जोखिममा रहेको आफूसँग सूचना आएको तर मानवीय क्षति भने नभएको बताउनुभयो । पहिरो जाने क्षेत्र र जोखिममा परेका क्षेत्रका स्थानीयलाई सतर्क बस्न लगाइएको कारण उनीहरु सुरक्षित स्थानतर्फ रहेको कारण पनि ज्यानको खतरा नरहेको प्रजिअ खड्काले बताउनुभयो । 

त्यसैगरी निरन्तर वर्षाको कारण उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्र, मध्य पहाडी र पश्चिमी पहाडी क्षेत्रका सडकमा पहिरो खसेपछि अहिले यातायात सेवा सञ्चालन कार्य पूर्णरुपमा बन्द हुन पुगेको छ । जिल्लाको सदरमुकाम गाईघाटदेखि पहाडी क्षेत्र रौता, आँपटार, फोक्सिङटार, साउने खाँबु सञ्चालन हुने सडक खण्डमा पहिरो खसेर रुखसमेत ढलेर सडक अवरुद्ध भएपछि यस क्षेत्रका सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया