जापानकाे टोकियोमा फेरि गुञ्जियो नेपथ्य, नेपालीसँगै जापानी पनि रमाए

 असार २४, २०७५ आइतबार १५:३७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

असार २४ – जापानमा रहेका नेपाली संगीतप्रेमीहरुको उल्लेखनीय उपस्थितिका बीच नेपथ्यले ‘टोकियो डोम सिटी हल’ मा आफ्नो सांगीतिक प्रस्तुति दिएको छ । 

कन्सर्टमा अधिकांश दर्शक नेपाली भएता पनि जापानी नागरिकहरुसमेत सहभागी देखिन्थे । उनीहरु मध्येकै एक थिए जापानी तन्नेरी कियोहितो हानाइ ।

‘नेपालमा दुइपटक र टोकियोमै २०१५ मा आयोजित शोका बेला पनि म उपस्थित थिएँ,’  हानाइ भनिरहेका थिए,  ‘नेपथ्यलाई बारम्बार यसरी नेपाल र जापानमा अनुभव गर्न पाउँदा मलाइ रमाइलो अनुभूति भइरहेको छ ।’ नेपाली भाषासमेत सिक्ने कोशिस गरिरहेका कियोहितो आफ्नो मुटुमा नेपालका निम्ति विशेष स्थान रहेको बताउँछन् । 

नेपथ्यका लगायत अन्य नेपाली गीतहरुले आफूलाई नेपाली भाषा र संस्कृति बुझ्न मद्दत गरिरहेको उनले सुनाए । कियोहितो कुनै दिन नेपाल पुगेर त्यतै बस्न पनि चाहन्छन ।

जतिबेला उल्लेख्य संख्यामा नेपाली तन्नेरीहरु कुनै हिसाबले जापान पुग्न चाहिरहेका छन् त्यतिबेलै कियोहितो चाहिँ नेपालप्रति आकर्षित हुनुको कारण के होला ?
‘म नेपालीहरुले जस्तै जिन्दगी जिउन चाहन्छु,’ उनले भने, ‘जापानमा अवसर भएता पनि बिहानदेखि बेलुकीसम्म घडी हेरेर मेशिनले जस्तो बाँच्नुपर्ने अवस्था छ ।’

आफू नेपाल पुगेका बेला नेपालका मानिस जीवनसँग नजिक रहेको र हाँसिखुशी बाँचेको देखेर प्रभावित भएको उनले सुनाए ।

सन् २०१५ मा महाभूकम्प गएपछिका तस्विरहरु संग्रहित ‘नराम्रो सपना’ को भिडियोबाट कन्सर्ट सुरुभएको थियो ।

ब्याण्डले उक्त भुकम्पकै ताका, पुर्वनिर्धारित टोकियो कन्सर्टलाई भूकम्प पीडित समर्पित कार्यक्रमको रुपमा प्रस्तुत गर्दै आम्दानीबाट भूकम्प राहत कोषमा सहयोग गरेको थियो ।

‘तीन वर्षअघि हामी समवेदना बाड्न तपाइहरुका सामु प्रस्तुत भएका थियौं,’ त्यस गीतको सन्दर्भ जोड्दै नेपथ्यका मुख्य गायक अमृत गुरुङले भने, ‘यसपटक भने उमंग र उत्साह बाड्न तपाइहरु सामु उभिएका छौं ।’ नेपथ्य स्थापनाको २५ वर्ष पुगेका अवसरमा रजत जयन्तीको खुशी साटासाट गर्ने क्रममा आफू जापानका दर्शकहरुको सामु उपस्थित भएको अमृतले उल्लेख गरे ।

कन्सर्ट, त्यसपछि निरन्तर रमाइलो क्षणबाट गुज्रियो । ‘भेडाको ऊनजस्तो’ देखि ‘छेक्यो छेक्यो’ हुँदै पछिल्लो समयका नेपथ्यका हिट गीतहरु ‘शिरफूल’ र ‘कोशीको पानी’ सम्म प्रस्तुत भए ।

दर्शकदीर्घामा अमर गुरुङ पनि थिए । उनी आवद्ध संस्था तमुधिं जापानले सन् २०१५ को नेपथ्य कन्सर्ट आयोजना गरेको थियो ।

‘जापान बसेको २० वर्षमा मैले नेपालबाट आएका धेरै कार्यक्रम हेर्ने मौका पाएँ,’ उनी भनिरहेका थिए, ‘नेपथ्यले दिएको प्रभाव चाहिँ बेग्लै र स्तरीय रह्यो । नेपथ्य विदेशमा बसेका नेपालीका निम्ति गर्वको विषय बनेको उनले सुनाए ।

जतिबेला नेपालमा मनसुन चलिरहेको छ त्यतिबेलै जापानमा बाढीको प्रकोप छ । अमृतले कन्सर्टकै बेला यो कुरालाई पनि जोडे । ‘ठीक यतिबेला बाढीको प्रकोप हामीकहाँ पनि चलिरहेको छ,’ उनले भने, ‘जापानमा पनि पीडितहरुको अवस्था देखेर मलाई उत्तिकै नरमाइलो लागिरहेको छ ।’ 

यो प्राकृतिक प्रकोप व्यवस्थापन गर्न जापानमा चालिएका कदमले आफूलाई प्रभावित पारेको उनले सुनाए । 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया