कोरियामा कम्पनीबाट र नेपालमा सरकारबाट सम्मानित भएँ

 असार ३१, २०७६ मंगलबार ११:४०:३ | मेरो कथा मेरो भोगाई

दिपक चौलागाईं/झापा ।

मेरो कामलाई सरकारले सम्मान गरेको छ । मेहनतको फल मिठो हुने रहेछ । म खुशी छ । आज यसरी खुशी मनाइरहँदा मैले यो ठाउँसम्म आउनका लागि गरेको संर्घषलाई पनि सम्झिरहेको छु ।

४ वर्ष १० महिना कोरियामा श्रम गरेर सन् २०१६ फेब्रुअरी ९ मा नेपाल फर्केको थिएँ । अहिले झापामा मेरो आफ्नै उद्योग छ । ८ जना युवालाई रोजगारी दिएको छु । यसै वर्ष ४० जनालाई प्रत्यक्ष रोजगारी दिने सोचेको छु ।

म नेपाल फर्केपछि पनि उताको कम्पनीबाट थप तलब र बोनस दिन्छु भनेर मलाई बोलाएको थियो, तर म गइनँ । नेपालमै केही गर्नुपर्छ भन्ने सोचले मलाई फर्केर कोरिया जान मन लागेन ।

म ईपीएस परीक्षा उत्तीर्ण गरेर कोरिया गएको थिएँ । सुरुमा मैले प्लास्टिकको त्रिपाल बन्ने कम्पनीमा काम गरेँ । त्यहाँ मेरो महिनाको डेढ लाख रुपैयाँ जति कमाइ हुन्थ्यो । त्यो कम्पनीमा ८ सय जति नेपाली कामदार थिए ।

त्यतिबेला कम काम गरेर सबैको भन्दा बढी तलब खाने म नै थिएँ । किनभने त्यहाँ कोरियनले मात्रै गर्ने केमिकल मिसाएर पाइपमा झिक्ने काम गर्न मैले गएको ६ महिनामै सिकेको थिएँ ।

मैले त्यो केमिकल मिलाएबापत कम्पनीले मलाई महिनाकै नेपाली ६० हजार बोनस दिन्थ्यो । अरु नेपाली साथीहरुले १४ घण्टा काम गर्दा पनि मैले ९ घण्टा काम गरेको जति तलब पुग्दैनथ्यो । बिस्तारै मलाई त्यो कमाइ कम जस्तो लाग्न थाल्यो ।

त्यो कम्पनीमा मैले १६ महिना काम गरेर छाडेँ र अर्को काम गर्न थालेँ । त्यसपछि नेपाल नफर्किउञ्जेलसम्म पानीजहाज निर्माण गर्ने कम्पनीमा काम गरेँ । मेरो कार्यसम्पादन राम्रो देखेर त्यो कम्पनीले मलाई पुरस्कारसहित सम्मान गरेको थियो ।

त्यहाँ मैले महिनाको अढाइदेखि तीन लाख रुपैयाँसम्म कमाएँ । कोरिया बसाइको म्याद सकिएपछि म नेपाल फर्कें २०१६ मा । त्यसपछि फेरि सीबीटी परीक्षा दिएर कोरिया जाने तयारीमा थिएँ ।

परीक्षामा पास पनि भएँ । राम्रो तलब र बोनस दिन्छु भनेको थियो कम्पनीले । तर मैले त्यो ‘कन्ट्र्याक्ट क्यान्सिल’ गरेँ । आफ्नै देशमा केही गरौं भन्ने लाग्यो । र मैले झापामै डाइमण्ड स्टील कम्पनीको सुरुवात गरेँ ।

कम्पनीले किलाकाँटा, नट बोल्ट उत्पादन गर्छ । कुन व्यवसाय गर्ने भनेर अध्ययन गर्ने क्रममा मैले यूट्यूवमा हेरेर काँटी निर्माण गर्ने कम्पनी खोल्ने सोच बनाएको हो । तर त्यतिबेला आफूसँग त्यति धेरै पैसा पनि थिएन ।

कोरियाबाट कमाएर ल्याएको पैसा घर बनाउन र जग्गा किन्नमै बढीजसो सकिसकेको थियो । केही आफूसँग थियो र केही ऋण काढेर ७० लाख रुपैयाँबाट व्यवसाय सुरु गरेको हुँ । अहिले लगानी दुई करोड पुग्न लाग्यो ।

तत्कालै कम्पनीलाई नाफा दिन नसके पनि पाँच वर्षको अवधीमा ५० जना कामदारलाई रोजगारी दिन्छु भन्ने अठोटका साथ म लागिपरेको छु । मेरो अर्को योजना अबको मेरो सोच फोहोरबाट वायो उर्जा उत्पादन गर्ने हो ।

त्यसको लागि प्रक्रिया अगाडि बढीसकेको छ । कन्काइ, विर्तामोड र अर्जुनधारा नगरापालिकाको कुहिने फोहोरबाट सोह्र करोड ७० लाखको लागतमा ४ हजार घनमिटरको बायोग्यास बनाएर ९०० घरधुरीलाई वितरण गर्ने योजना बनाएका छौँ ।

हामीले कार्यक्रमको लागि भौतिक संरचनाहरु र ग्यास प्लान्टको निर्माणको काम शुरु गरिसकेका छौँ । जसको उदघाटन माननीय अर्थमन्त्री युवराज खतिवडाले केही महिनाअघि मात्र गर्नुभएको थियो ।

यो पाइलट प्रोजेक्टलाई एक वर्षभित्रमा सञ्चालनमा ल्याएर देशमा बढ्दै गएको फोहोरलाई मोहोरमा रुपान्तरण गर्न सकिन्छ भन्ने एउटा नमुनाको रुपमा विकास गर्ने अठोटका साथ हामी जुटीरहेका छौँ ।

नेपालमा पनि यो प्रविधिबाट उर्जा उत्पादन गर्न सकिन्छ । उर्जा सँगसँगै ग्यास पनि उत्पादन गर्न सकिन्छ भन्ने लागेर यो काम अगाडि बढाएका हौँ । यसले ग्यास आयातको लागि दैनिक विदेशीने पैसा रोक्न सकिन्छ ।

योसँगै मजस्तै श्रम बेचेर विदेशबाट फर्किनुभएका साथीहरु, जोसँग थोरै पुँजी छ र केही गरौँ भन्ने जोश जाँगर छ, त्यस्ता १५ जना साथीहरु जम्मा भएर भरोसा बिजनेस ग्रुप दर्ता गराएका छौँ । सबैले १०/१५ लाख रुपैयाँ पुँजी लगानी गरेका छौँ ।

यो वर्ष भित्र यो ग्रुपबाट हरपिक फिनेल जस्ता केमिकल पदार्थ उत्पादन गर्ने, यस्तै माछालाई चाहिने चारो विदेशबाट उत्पादन भइरहेको छ त्यसलाई पनि यसै वर्ष उत्पादन गर्ने भन्ने सोचमा छौँ ।

मेरो यही प्रयासको मूल्यांकन गरेर नै सरकारले मलाई युवा उद्यमी पुरस्कार २०७६ ले सम्मानित गरेको छ । यो सम्मानले विदेशमा श्रम बेचेर आउनेहरु भोलि उद्योगी बनेको हेर्न मिल्ने प्रेरणा दिनेछ भन्ने मलाई लाग्छ ।

राम्रो कार्यसम्पादन गरेकै कारण मैले कोरियामा पनि सम्मान पाएको थिएँ । देशमै व्यवसाय गरेर रोजगार सिर्जना गरेकोले नेपाल सरकारले पनि सम्मान गर्यो । त्यही भएर इमान्दारिताका साथ आफ्नो काममा अडिग रहनुपर्छ भन्ने मलाई लाग्छ ।

युवाहरुलाई मेरो भन्नु विदेशमा श्रम र पसिना बेचिरहेका साथीहरुलाई म केही समय विदेशमा दुःख गर्नुहोस, विदेश पनि एउटा खुल्ला विश्वविद्यालय हो भन्न चाहन्छु । तर सधैँ त्यहाँ नबस्नुस्, केही सिकेर नेपालमै उद्योग स्थापना गर्नुस् ।

आज तपाईंले उद्योग सञ्चालन गर्नुभयो भने तपाइको छोरा नाती पनि भोलि उद्योगी बन्नेछ । तपाईं लामो समयसम्म विदेशमा बसेर श्रम बेचेर बसिरहनुभयो भने, देशलाई धिक्कार्दै बस्नुभयो भने भोलि तपाईंको छोरा पनि यसरी नै विदेश गएर श्रम बेच्नेछन् ।

त्यही भएर नेपाललाई माया गरौँ । विदेशमा सिकेको सीपको स्वदेशमा सदुपयोग गरौँ भन्ने सबैलाई मेरो आग्रह हो । उद्योग सञ्चालन गर्दा चुनौती त हुन्छ नै । उद्योग भनेको एक बोरा चामलमा ५० रुपैयाँ नाफा खाएर बेचे जस्तो होइन ।

उद्योगको प्रतिफल लिनको लागि निरन्तरता, लगाव र धैर्यता हुनुपर्छ । होइन भने ६ महिनामा प्रतिफल आएन भनेर कम्पनीमा ताला लगाएर पासपोर्ट च्यापेर फेरि विदेश जाने होइन ।

अन्तिम अपडेट: साउन ३१, २०७६

तपाईको प्रतिक्रिया