सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण : ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

 असार २५, २०७५ सोमबार १७:५१:१ | सुमन तिमल्सिना

मोरङ – सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा थप ६ जनाको विषयमा जिल्ला अदालत मोरङले आदेश जारी गरेको छ । 

मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेका तीन जना सहयोगी पुर्पक्षका लागि जेल चलान भएका छन्  भने ३ जनालाई धरौटीमा छाड्न आदेश दिइएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलाशले आज  ६ जना आरोपीमध्ये ३ जनालाई पुर्पक्षका लागि थुना राख्न र तीन जनालाई धरौटीमा छोड्न आदेश दिएको हो । 

काठमाडौं –१६, स्वयम्भूका ५४ वर्षीय फाल्दूङ्ग फुल्टुङ्ग भन्ने लक्षुबहादुर गुरुङ, काठमाडौं –६, गौरीघाटका ४२ वर्षीय रामकुमार तिवारी र काठमाडौं –९, का ३४ वर्षीय मदन सिलवाललाई जेल चलान गरिएको जिल्ला अदालत मोरङका श्रेस्तेदार नवराज दुलालले जानकारी दिनुभयो ।

त्यस्तै उर्लाबारीका ३८ वर्षीय रेवत भन्ने रेवन्त कुमार आचार्यलाई १ लाख २१ हजार ५ सय रुपैयाँ धरौटी माग गरिएको छ । झापाको दमक– ९, का ३४ वर्षीय विनोद अधिकारी  र दोलखा चरिकोट –१, का ४३ वर्षीय मोतीराम श्रेष्ठलाई जनही एक लाख रुपैयाँ धरौटीमा छोडने आदेश भएको श्रेस्तेदार दुलाले बताउनुभयो ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत एक जनालाई फरार प्रतिवादी बनाएर सात जनाविरुद्ध पूरक अभियोग लगाएको थियो । अपराधिक समूह स्थापना सञ्चालन गरी सुन चोरी पैठारी, चोरी निकासीको अवैध कारोबार, अपरण तथा शरीर बन्धक, कर्तब्य ज्यान मुद्दा दर्ता गरिएकोमा आइतबार र सोमबार भएको बहसपछि आदेश भएको हो ।

सुन तस्करी तथा हत्या प्रकरणमा अनुसन्धानका क्रममा पहिलो चरणमा बैशाख १९ गते ६३ जना विरुद्ध मुद्दा दायर गरिएको थियो । पहिलो चरणमा जेल जानेहरु मध्ये १६ जनाले मुलुकी ऐनको अदालती बन्दोबस्तको महलको १७ नम्बर प्रयोग गर्दै उच्च अदालत विराटनगरमा निवेदन दर्ता गराएका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया