विवादित विधेयकहरु सहमति गरेर मात्र अघि बढ्छ, सरकार एक्लैले पास गर्दैन : मन्त्री पुन

 साउन २७, २०७६ सोमबार १९:३८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले मिडिया काउन्सिललगायतका विवादित विधेयकहरु सरोकारवाला निकायसँग सहमति गरेर मात्रै अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । 

विवादित विधेयक सरकार आफू एक्लैले पास गरेर अघि बढ्ने पक्षमा नरहेको मन्त्री पुनले स्पष्ट पार्नुभयो । ‘सरोकारवाला निकायसँग छलफल हुन्छ’, मन्त्री पुनले भन्नुभयो, ‘सरोकारवाला निकायसँगको सहमतिपछि मात्रै ती विधेयकलाई अघि बढाउन सरकार तयार छ ।’ 

नेपाल आदिवासी जनजाति पत्रकार महसंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा सोमबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकार समावेशी लोकतन्त्रको मूल्य र मान्यता अनुसार सबैको मत लिएर अघि बढ्न लागि परेको बताउनु भयो ।

मन्त्री पुनले पुरानै राजनीतिक प्रणालीको अवशेष अझै पनि बाँकी रहेको हुन सक्ने भए पनि सरकार नयाँ राजनीतिक ढाँचा अनुसार अघि बढ्न प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो । 

उहाँले संविधानले समावेशीतालाई जोड दिएको उल्लेख गर्दै सरकार त्यही मान्यता अनुसार अघि बढिरहेको पनि दाबी गर्नुभयो । 

अन्तिम अपडेट: साउन २८, २०७६

तपाईको प्रतिक्रिया