गुटबन्दीले कांग्रेस कमजोर भयो : महामन्त्री कोइराला

 असार २७, २०७५ बुधबार ६:४:५१ | रासस
unn.prixa.net

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोइरालाले पार्टी एकढिक्का भए कांग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने बताउनुभएको छ । 

सुशील कोइराला सोसलिष्ट युथ सर्कलले मंगलबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले वर्तमान अवस्थामा पार्टीभित्र आन्तरिक एकताको खाँचो रहेको आवश्यकता औँल्याउनुभयो । 

महामन्त्री कोइरालाले आफू सधैँ गुटबन्दी अन्त्य गर्दै बलियो कांग्रेस बनाउने पक्षमा रहेको र त्यसका लागि प्रयास गरिरहेको बताउनुभयो । 

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु गुरुराज घिमिरे र शंकर भण्डारीले सरकारले अधिनायकवादतर्फ जाने संकेत देखाइरहेको भन्दै त्यसको प्रतिवाद गर्न सक्ने गरी कांग्रेसलाई सशक्त बनाउनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष उर्मिला थपलिया, महामन्त्री आनन्द त्रिपाठी लगायतले अहिले कांग्रेस गुटबन्दीका कारण थला परेको भन्दै त्यसबाट पार्टीलाई मुक्त गर्न सबै एक हुनुपर्नेमा जोड दिनुभएको थियो ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया