वन मुद्दा लाग्ने डरले खगरा गाउँ नै खाली, सबै घरमा ताला

 साउन २९, २०७६ बुधबार १४:४७:२४ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – अनियमित रुपमा सामुदायिक वनका रुख कटान भएपछि प्रहरीले समाउने डरले गाउँ नै खाली भएको छ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–५, धुरकोटमा पर्ने  खगरा गाउँ नै खाली भएको हो  ।

करिब ४० घर परिवार रहेको खगरा गाउँका सबै घरमा ताला लागेका छन् । रुख कटान भएको क्षेत्र हुँदै खगरा गाउँ पुगिन्छ । खगरा पुग्दा गाउँमा कोही नभेटिएको सब डिभिजन वन कार्यालय सर्दिका प्रमुख अमृत ज्ञवालीले बताउनुभयो । वन मुद्दा लाग्ने डरले अहिले गाउँका  सबै फरार भएको अनुमान अन्य उपभोक्ताहरुको छ । गाउँका स्थानीयहरुको कहाँ छन् भन्ने विषयमा जनप्रतिनिधिहरुले समेत अनभिज्ञता प्रकट गरे । दिउँसो गाउँ नै खाली हुने र राति मात्रै गाउँमा स्थानीय आउने गरेको बताइएको छ ।

धुरकोटमा  रहेको तालदेवी सामुदायिक वनमा अनधिकृत रुपमा वन फडानी भएको थियो । सामुदायिक वन हुँदै खगरा गाउँ जाने बाटोको दायाँ–बायाँ व्यापक वन फँडानी भएको छ । विभिन्न प्रजातिका ८० भन्दा बढी रुख काटिएका छन् ।

सामुदायिक वनका पदाधिकारी र स्थानीय जनप्रतिनिधिको प्रत्यक्ष मिलिमतोमा करिब एक महिना अगाडिदेखि वन फँडानी भएको स्थानीय उपभोक्ताको आरोप छ । वन तस्करको योजना र वन कार्यालय समेतको सहमतिमा रुख काटिएको स्थानीय उपभोक्ताले आरोप लगाए । ‘एक महिना अगाडिदेखि वन फँडानी हुँदासमेत वन कर्मचारीहरुले थाहा नपाउने हुन्छ एक जना उपभोक्ताले भने ‘तस्करको सेटिङ्ग र वन कार्यालयको मौन सहमति बिना यत्रो रुख काट्ने हिम्मत कहाँबाट आउछ ।’

एक महिना अगाडिदेखि वन फँडानी भए पनि स्थानीय उपभोक्ताले डिभिजन वन कार्यालयमा फोन गरेर नै उजुरी गरेपछि मात्रै डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीसहितको टाेली यो ठाउँमा अनुगमनको लागि पुगेको थियो । वन फँडानी भएको क्षेत्र सब–डिभिजन वन कार्यालय सर्दीको कार्य क्षेत्र भित्र पर्छ । खगरा गाउँबाट सब डिभिजन वन कार्यालय सर्दी १० किलोमिटरको दुरीमा छ । तर, त्यस अगाडि अनुगमनको लागि त्यहाँबाट कुनै कर्मचारी यो ठाउँमा पुगेका थिएनन् ।

सब डिभिजन वन कार्यालय सर्दीका प्रमुख ज्ञवालीले डिभिजन वन कार्यालय नवलपुरबाट जानकारी आएपछि मात्रै वन फडानी भएको थाहा पाएको बताउनुभयो । यस अघि यो सामुदायिक वनले लडेका रुखहरुको समेत सदुपयोग नगरेकाले त्यसतर्फ ध्यान नगएको उहाँले बताउनुभयो ।

चार सय ९१ हेक्टर क्षेत्रफलमा फैलिएको यो सामुदायिक वनको सबै क्षेत्रमा अनुमगन गर्न बाँकी छ । रुखको संख्या अझै बढ्न सक्ने सब–डिभिजन वन कार्यालयका प्रमुख ज्ञवालीले बताउनुभयो । साल, कमर, भलायो, जामुन र अस्ना प्रजातिका रुखहरु कटान भएको उहाँले बताउनुभयो ।

रुख फँडानीमा बन्चरोको प्रयोग भएको देखिन्छ भने केही ठाउँमा डोजरको समेत प्रयोग भएको छ । वन फँडानीको क्रममा प्रयोग भएको डोजर वडाध्यक्ष रनबहादुर झेडीका भाइ दुर्गा झेडीको रहेको स्थानीयले बताए । सामुदायिक वनका सचिव जय बहादुर बाह्रघरे र एक जना सदस्य खगरा गाउँका स्थानीय नै हुन् । यही बाटो हुँदै उनीहरु दैनिक रुपमा आवतजावत गर्छन् । तर, रुख कटानको बारेमा भने अनभिज्ञता देखाउँछन् । 

डिभिजन वन कार्यालयबाट अनुगमनको लागि आएपछि मात्रै रुख कटानबारे आफूलाई जानकारी भएको वडाध्यक्ष रनबहादुर झेडीले बताउनुभयो । यो आर्थिक वर्षमा खगरा गाउँ जोड्ने सडक र विद्युतिकरणको लागि वडाबाट ८ लाख बजेट विनियोजन गरेको छ । सडक विस्तार र विद्युतीकरणको लागि रुख कटान भएको बताउने वडाध्यक्षले रुख कटान कस्ले गरेको हो भन्ने प्रश्नमा भने आफूलाई थाहा नभएको बताउनुभयो  ।

सामुदायिक वनका अध्यक्ष दीपक जिसीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । सामुदायिक वनका पूर्व अध्यक्ष चक्रपाणी तिमिल्सेनाले रुख कटान गर्नेलाई कानुन अनुसार कारबाही गर्नु पर्ने बताउनुभयो  । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीसँग सम्पर्क गर्दा कटान भएको रुखको संरक्षणको जिम्मा आफ्नो भएको बताए पनि रुख कटान गर्नेको पहिचान र गिरफ्तारमा डिभिजन वन कार्यालयले तदरुकता देखाएको छैन ।

एक महिनाको अवधिसम्म वन फँडानी हुँदासमेत चासो नदिनु, घटना सार्वजनिक भएको ४ दिन हुँदासमेत सामुदायिक वनका पदाधिकारी वा संलग्न कसैलाई पनि गिरफ्तार नगर्नुले वन कार्यालयका कर्मचारीको संलग्नतालाई थप पुष्टि गर्ने उपभोक्ताहरुको आरोप छ ।

डिभिजन वन अधिकृत सुवेदीले वन फडानी सम्बन्धमा अनुसन्धान भइरहेको हुँदा अहिले नै के हो भन्न सक्ने अवस्थामा आफू नरहेको बताउँदै यसबारेमा थप बुझ्न सहायक वन अधिकृत कृष्णबहादुर देवकोटालाई सम्पर्क गर्न भन्दै आफू तर्किनुभयो ।

सहायक वन अधिकृत देवकोटाले कटान भएको रुखको विवरण संकलन गर्ने काम भइरहेको बताउनुभयो  । ठूलो परिमाणमा रुख कटान हुँदासमेत सामुदायिक वनका पदाधिकारीले आफूपनि केही नगर्ने र सम्बन्धित वन कार्यालयमासमेत जानकारी नगराउनुले उनीहरुको संलग्नता भएको हुन सक्ने आशंका व्यक्त गरे ।

सोमबार सामुदायिक वन उपभोक्ता महासंघ नवलपुरको टोली स्थलगत अध्ययनको लागि पहाडी क्षेत्र धुरकोट पुगेको थियो । स्थलगत अध्ययनपछि जिल्ला अध्यक्ष ठाकुरप्रसाद पाण्डेले घटनाको सत्यतथ्य विवरण तत्काल सार्वजनिक गर्न माग गर्नुभयो । घटनामा संलग्न जोकोही भए पनि कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो  । 

उहाँले  पछिल्लो दिनमा जिल्लाको हुप्सेकोट, विनयी त्रिवेणीसहित विभिन्न स्थानमा भएका वन फँडानीको घटनामा डिभिजन वन कार्यालयले बेवास्ता गर्दा वन फँडानी झन् बढ्ने हो कि भन्ने चिन्ता व्यक्त गर्नुभयो  ।यसअघि जिल्लाको हुप्सेकोट गाउँपालिकाका चार वटा सामुदायिक वनहरुमा समेत अनधिकृत रुपमा रुख काटिएका थिए ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया