ठाकुरबाबा नगरपालिकाको नगरसभा कांग्रेसद्वारा बहिस्कार

 असार २७, २०७५ बुधबार ९:२:३१ | भावुक योगी
unn.prixa.net

बर्दिया – ठाकुरबाबा नगरपालिकाको नगरसभा नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर ७ का जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।

ठाकुरबाबा नगरपालिकाका मेयर तथा नगरसभा अध्यक्ष घननारायण श्रेष्ठले अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाई आफूखुशी एकलौटी ढंगले नगरसभा सञ्चालन गर्न खोजेकाले आफूहरुले नगर सभा बहिस्कार गरेको वडा नम्बर ७ का वडाध्यक्ष पदम खडकाले जानकारी दिनुभयो । 

बहिस्कार गरेका जनप्रतिनिधीहरुले मेयर श्रेष्ठले एकलौटी ढंगले नगरसभा सञ्चालन गरी सभामा पेश भएको विनियोजन विधेयकमाथि छलफल नगराई पारित भएको घोषणा गरेको आरोप लगाएका छन् । 

विनियोजित बजेट कुन क्षेत्रमा कहाँ खर्च गर्ने भन्ने विषयमा छलफल नगरिएको भन्दै वडा नम्बर ७ का जनप्रतिनिधिहरु बाहिरिएका हुन् । नगरपालिकाका विभिन्न समितिहरु अपारदर्शी ढंगबाट गठन गरेको आरोप लगाउँदै कार्यपालिका तथा नगर सभालाई कुनै जानकारी नदिई एकलौटी ढंगबाट अघि बढन खोजको र पक्षपाती शासन व्यवस्थाको विजारोपण गरेको वडाध्यक्ष खडकाको भनाई छ । 

वडाध्यक्ष खडकासँगै नगरकार्यपालिका सदस्य राजकली रोकाय, वडा सदस्यहरु कलम बिष्ट, भागिराम थारु, सुक्मा लोहार कसैलाई पनि आफ्ना भनाई, विचार, सुझावहरु नगरसभामा राख्न नदिई बजेटमाथि छलफलै नगरी सदस्यहरुको स्वतन्त्र अभिव्यक्तिमाथि अंकुश लगाएकाले नगरसभा बहिस्कार गरेको जानकारी दिई आफूहरु सभाबाट निस्किएको वडाध्यक्ष खडकाले बताउनुभयो ।

मुलुक संघीय संरचना अनुसार चले पनि नगरप्रमुख श्रेष्ठले संख्या बलका आधारमा एकलौटी ढंगबाट सहमति र सहकार्यबिना आफ्नै अनुकुल र राजनैतिक आस्थालाई प्राथमिकतामा राखेको र ठाकुरबाबा नगरबासी, नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको अभिभावकत्व ग्रहण गर्न नसकेको समेत उहाँको आरोप छ । 

बजेट वितरण न्यायोचित ढंगबाट नगरेकाले ध्यानाकर्षण गराउन र लोकतन्त्रको मूल्य र मान्यता विपरीत बहुमतको नाममा फरक राजनैतिक विचार बोक्नेलाई पेलेर गरिने कुनै पनि निर्णय आफूहरुलाई मान्य नहुने भएकाले पनि नगरसभाबाट बाहिरिनु परेको उहाँले बताउनुभयो । आफूहरुको मात्रै हैन नगरसभाका अन्य सदस्यहरुको पनि चित्त नबुझेको उहाँको दाबी छ ।

ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले ‘के कति कारणले सदस्यहरुको चित्त बुझेन र बाहिरिनुभयो, त्यो आफूलाई थाहा नभएको’ बताउनुभयो । उहाँले आर्थिक वर्ष ०७५-०७६ का लागि तयार पारिएको नीति, कार्यक्रम तथा योजना नगरसभाले पारित गरेको बताउनुभयो । 

ठाकुरबाबा नगरपालिकाले आर्थिक वर्ष ०७५-०७६ का लागि ६६ करोड ६७ लाख बराबरको बजेट पारित गरेको ठाकुरबाबा नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाध्यक्ष श्यामलाल थारुले जानकारी दिनुभयो । 

ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ७ बाहेक नगरप्रमुख र उपप्रमुखसहित अन्य ८ वटा वडामा पहिलेका एमाले र माओवादी अहिलेका नेपाल कम्युनिष्ट पार्टीबाट विजयी भएका जनप्रतिधि हुन् ।

नगरसभा कार्यक्रमका बारेमा सञ्चारकर्मीलाई समेत जानकारी दिइएको थिएन । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया