भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ : प्रदीप गिरी

 साउन २९, २०७६ बुधबार १७:३५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले भारतले सकेको दिन ‘नेपाललाई सिक्किम बनाइदिने’ चेतावनी दिनुभएको छ । 

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतकाे अन्तर्राष्ट्रिय समितिको बुधबार बसेको बैठकमा गिरीले नेपालको सीमा अतिक्रमण गरेको, दशगजामा सडक निर्माण गर्नुको साथै असमान सन्धि सम्झौतालगायत बारेमा छलफल भैरहँदा समिति सदस्य गिरीले भारतले सकेको खण्डमा नेपाललाई सिक्किम बनाइदिने अभिव्यक्ति दिनु भएको हो । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई इंगित गर्दै उहाँले नेपाल–भारत सीमानामा काँडेतार लगाउने र सुरुङ युद्ध गर्ने उद्घोष गर्ने नेताहरु नै अहिले सत्तामा रहेको र भारतका गतिविधिमा टाउको हल्लाउने मात्रै काम गरेको टिप्पणी गर्नुभयो ।

उहाँले बोलेर मात्रै कुटनीतिक समस्या समाधान नहुने तर्फ सचेत बनेर समयमै कुटनीतिक सक्षमता देखाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । नेपालको कमजोर कुटनीति जारी रहे सकेको दिन भारतले नेपाललाई सिक्किम बनाउने तथ्यपूर्ण यथार्थतालाई समयमै आत्मसाथ गरी पहलकदमी गर्न उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, 'विपक्षमा रहेर कहिले पनि त्यस्ता मागलाई उठाउनु हुँदैन । जो सत्ता पक्षमा गएर कार्यान्वयन गराउन नसकियोस् । कुटनीति भनेको चुनाव लड्न गर्ने भाषण होइन । सबैभन्दा ठूलो विफलता कुटनीतिक विफलता हो । हिन्दुस्तानले सकेदेखि नेपाललाई सिक्किम बनाउँछ । भुटान बनाउँछ । तथ्य हो यो ।'

नेपाल कम्युनिष्ट पार्टीका सांसद भीम रावलले नेपालको ठूलो भू–भाग भारतको अतिक्रमणमा परेको भन्दै समयमै कुटनीतिक पहल गर्न परराष्ट्र र गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो । उहाँले विशेषज्ञहरुका अनुसार नेपालको ६ सय ६ वर्ग किलोमिटर भू भाग अतिक्रमणमा परेको, ७१ स्थानमा सीमा विवाद देखिएको, दशगजाका विभिन्न स्थानमा भारततर्फबाट अतिक्रमण गर्ने काम भैरहेको दावी गर्नुभयाे ।  

त्यसैगरी  सडक बनाउने नाममा अघोषित तटबन्ध निर्माण गर्ने काम भएको, पानीको प्राकृतिक बहाव रोकिने गरी संरचना बनाएकाले तराई क्षेत्र डुबानमा पर्दा बर्सेनि ती क्षेत्रका बासिन्दाको दैनिकी कष्टकर बनेको उल्लेख गर्दै उहाँले सीमा विवाद सुल्झाइ अतिक्रमण रोक्नु पर्नेमा जोड दिनुभयो ।  

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया