प्रदेशलाई अधिकार नदिनु संघकाे लघुताभास: पूर्व मुख्य सचिव काेइराला

 साउन ३२, २०७६ शनिबार १७:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पूर्व मुख्य सचिव बिमल कोइरालाले राजनीतिक नेतृत्व दूषित भएका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको बताउनुभएको छ । 

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले धुलिखेलमा गरेको दिगो विकास लक्ष्यका प्राथमिकताका विषयमाथिको छलफलका क्रममा उहाँले कर्मचारी प्रशासनमा बढेको भ्रष्टाचार नियन्त्रणका लागि राजनीतिक नेतृत्वको मुहान नै सफा हुनुपर्ने बताउनुभएको हो । सधैँ सत्तामा रहेको दलले राजनीति गरेका कारण कर्मचारी प्रशासनले क्षमता अनुसार काम गर्न नसकेको टिप्पणी उहाँले गर्नुभयो ।

राज्यसत्ताले कर्मचारीलाई परिचालन गर्न नसकेको तर्क गर्दै उहाँले भ्रष्टाचार न्युनीकरण विना दिगो विकासका लक्ष्य हासिल हुन नसक्ने विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुधार माथि बाटै गर्नुपर्छ । टाउको बाटै नुहाउनुपर्छ । खुट्टा मात्रै पखालेर हुँदैन ।’

राजनीतिले कित्ताकाट गर्ने र कर्मचारीलाई छाडा बनाउने काम गरेको दावी उहाँले गर्नुभयो । कर्मचारीलाई सही ढंगले परिचालन गर्न सके नतिजा पनि राम्रो आउने उल्लेख गर्दै उहाँले त्यसका लागि राजनीतिक इच्छाशक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गर्दै संघले अधिकार प्रत्यायोजित गर्न नसक्दा प्रदेश सरकार कमजोर भएको उल्लेख गर्नुभयो । प्रदेशलाई अधिकार नदिनुलाई उहाँले संघीय सरकारको हीनताबोध र लघुताभास भएको टिप्पणी गर्नुभयो । 

अन्तिम अपडेट: असोज १, २०७६

तपाईको प्रतिक्रिया