रवि लामिछानेविरुद्ध शालिग्राम पुडासैनीकी श्रीमतीले काठमाण्डौ प्रहरीमा दिएको किटानी जाहेरी चितवन पठाइयो

 भदौ १, २०७६ आइतबार १७:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - महानगरीय प्रहरी परिसर काठमाण्डौले चितवनमा मृत भेटिएका पत्रकार सालिग्राम पुडासैनीको परिवारले दिएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय चितवन पठाएको छ ।  

चितवनमा आत्महत्या गरेको अवस्थामा भेटिएका पत्रकार पुडासैनीकी श्रीमतीले महानगरीय प्रहरी परिसर काठमाण्डौमा टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिनुभएको थियो । 

आत्महत्या गर्नुअघिको सार्वजनिक भएको भिडियोमा नाम लिएका तीनै जनाविरुद्ध  आत्महत्या दुरुत्साहनमा हदैसम्मको कारबाही माग गर्दै आइतबार महानगरीय प्रहरी परिसर काठमाण्डौमा किटानी जाहेरी परेको परिसरकार प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । 

जाहेरीलाई खामबन्दी गरेर चितवन पठाइसकिएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिनुभयो । 

लामिछानेसहित तीनै जनाविरूद्ध अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहन गरेको अभियोगमा अनुसन्धान चलिरहेको छ । 

गएको वर्ष भदौ १ गते देखि लागु भएको मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ । त्यही अनुरुप मृतक पुडासैनीका श्रीमतीले यहीँबाट किटानी जाहेरि दिएको प्रवक्ता बोगटीले बताउनुभयो । 

प्रहरीले जाहेरीबिना नै गएको ३० गते कार्यक्रम प्रस्तोता लामिछाने र कँडेललाई पानीपोखरीमा रहेको टेलिभिजनको कार्यालयबाटै पक्राउ गरेको थियो । कार्कीलाई भने कलंकीबाट पक्राउ गरेर त्यही दिन राति चितवन पुर्याएको थियो ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया