गोविन्द केसीसँग खुला मञ्चमा वार्ता गर्न तयार छौं : योगेश भट्टराई

 असार २७, २०७५ बुधबार १५:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेश भट्टराईले डाक्टर गोविन्द केसीलाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पार्नुभयो । डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौं आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गर्नुभयो । ‘तपाईँ काठमाडौं आउनुस्, वार्ता गर्न सरकार तयार छ’, भट्टराईले भन्नुभयो, ‘अनशन बसिरहनु पर्दैन ।’ 

नागरिकको शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारीजस्ता अधिकार दिनका लागि सरकार तयार रहेको जिकीर गर्दै भट्टराईले गोविन्द केसी कहिले काठमाडौं र कहिले जुम्ला पुगेर अनशन बस्नु नपर्ने बताउनुभयो । 

‘गोविन्द केसीसँग बन्द कोठाभित्र होइन, खुला मञ्चमा बसेर वार्ता गर्न तयार छौँ’, भट्टराईले भननुभयो, ‘सबै टेलिभिजन बोलाएर प्रत्यक्ष प्रशारण गर्दै वार्ता गरौँ । यसका लागि अनशन तोड्नुस, स्वस्थ हुनुस् ।’ हरेक पटकको अनशन मेडिकल शिक्षाको भर्ना खुल्ने समयमा बस्ने गरेको भन्दै उहाँले केसीको अनशनको उद्देश्य नै शंकास्पद रहेको बताउनुभयो ।

जायज मागलाई सकारात्मक रुपमा लिन सकिने भए पनि केसीले नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले लगानी गरेको कलेजलाई सम्बन्धन नदिने खेल खेलेको आरोप भट्टराईको छ । 

‘फलानो मेडिकल कलेजलाई सम्बन्धन देउ, ढिस्कानोलाई नदेउ भन्ने अधिकार गोविन्द केसीलाई कसले दियो ?’, भट्टराईले भन्नुभयो, ‘देशभर नेपाली कांग्रेसका नेताहरुले १८ वटा मेडिकल कलेज खोल्दा चुप लागेर बस्ने, नेकपाका नेताहरुको कलेजले सम्बन्धन पाउने बेलामा अनशन बस्ने ? मनमोहनसँग के दुश्मनी छ ?

मेडिकल कलेज सञ्चालन गर्ने नेपाली कांग्रेसका नेताहरु चाहिँ राम्रो अनि नेकपाका नेताले मेडिकल कलेज खोल्न खोज्दा चाहिँ माफिया ?’ 

अहिलेसम्म खुलिसकेका मेडिकल कलेजको पनि छानबिन गर्नुपर्ने भट्टराईको तर्क छ । संसदीय छानबिन समिति बनाएर सबै मेडिकल कलेजलाई छानबिनको दायरामा ल्याइने भट्टराईले बताउनुभयो । माथेमा प्रतिवेदन सुझावमात्रै भएकाले हुबहु त्यसैका आधारमा नियम बनाउनुपर्छ भन्ने कुरा जायज नभएको उहाँको भनाई छ ।


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया