राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरले सामूहिक राजीनामा दिएपछि विज्ञापन खुलाइयाे

 भदौ ९, २०७६ सोमबार १८:३६:३२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – घोराहीमा रहेको राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानका २२ जना डाक्टरहरुले राजीनामा दिएपछि प्रतिष्ठानले विज्ञापन खोलेको छ । 

डाक्टरहरुको राजीनामापछि उपचार प्रभावित हुने भएपछि प्रतिष्ठानले भदौ २३ गतेसम्मको म्याद राखेर विज्ञापन खोलेको हो । प्रतिष्ठानले आइतबार मात्रै नेपाल सरकारका र प्रतिष्ठानका २२ जना डाक्टरको राजीनामा स्वीकृत गरेपछि उपचार सेवा थप प्रभावित भएको हो । 

प्रतिष्ठानले आफ्ना चिकित्सकहरुको करार सम्झौता खारेज गरेको हो भने सरकारी चिकित्सकलाई स्वास्थ्य मन्त्रालय मार्फत आफ्नो व्यवस्थापन गर्न भनेको छ  ।प्रतिष्ठानमा कार्यरत डाक्टरलाई प्रतिष्ठानमा मात्रै सेवा प्रवाह गर्न आग्रह गरे पनि चिकित्सकले नटेरेपछि विवाद उत्पन्न हुँदा उनीहरुले राजीनामा दिएका थिए ।

साेमबार प्रतिष्ठानमा अत्यन्त न्यून मात्रामा बिरामीहरु उपचारका लागि पुगेका छन् । अन्य दिनमा सरदर साढे ३ सय बिरामीले प्रतिष्ठानबाट उपचार सेवा लिँदै आएकोमा डाक्टरहरुको राजीनामापछि प्रयाप्त जनशक्ति नहुँदा पनि बिरामीहरु बाहिरी अस्पतालमा गएका छन् ।

अहिले अस्पतालमा उपकुलपति डाक्टर संगीता भण्डारी, कुलपति वसन्त लामिछाने, निर्देशक सागर पन्थी, अन्य डाक्टरहरु ऋषेश्वर श्रेष्ठ र डाक्टर चेतनारायण पाण्डेले बिरामी जाँच गर्दै आउनु भएको छ । प्रतिष्ठानले छिट्टै अन्य डाक्टरहरुको पनि व्यवस्था गर्ने जनाएको छ ।

अन्तिम अपडेट: फागुन २८, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया