फास्ट ट्रयाक साढे ३ वर्षमा सकिने, खोकनाको विवाद मिलाउन बाटो परिवर्तन

 भदौ ११, २०७६ बुधबार १४:४८:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – नेपाली सेनाले काठमाण्डौ–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) ३ वर्ष ६ महिनाभित्र सम्पन्न गर्ने जनाएको छ ।

सेनाले बुधबार पत्रकार सम्मेलन गरी द्रुत मार्ग निर्माणसम्बन्धी जानकारी गराएको हो । विस्तृत आयोजना प्रतिवेदन(डीपीआर) बमोजिम आयोजनाको लागत १ खर्ब ५५ अर्ब रुपैयाँ रहेको छ । मूल्य अभिवृद्धि करसहित कुल लागत १ खर्ब ७५ अर्ब रहेको छ ।

अन्तर्राष्ट्रिय परामर्शदाताबाट तयार गरिएको डीपीआरमा आयोजनामा निर्माण हुने सम्पूर्ण संरचनाहरुको मात्र लागत अनुमान गरिएको छ । आयोजना निर्माणको दौरान हुन आउने अन्य विविध खर्चहरुको बारेमा भने सेनाले बताएको छैन । निर्माणको समयमा आउने विविध र भैपरी खर्चको नेपाल सरकारले उपलब्ध गराउने नेपाली सेनाले बताएको छ ।

द्रुत मार्ग खोकनाबाट सुरु भई निजगढसम्म ७२ दशमलव ५ किलोमिटरमा र ४ लेनको बाटो निर्माण हुने भएको छ । यो यसअघिको डीपीआरमा रहेकोे भन्दा ३ दशमलव ७० किलोमिटर कम हो ।

पहाडी भूभागमा २५ मिटर र समथरमा २७ मिटर चौडा बाटो निर्माण हुने भएको छ । यस मार्गमा बन्ने ८७ पुलमध्ये विशेष प्रकृतिको १६ र अन्य पुल ७१ वटा बनाइने भएको छ ।

यो सडकमा ३ वटा सुरुङ मार्ग बन्ने भएको छ । महादेव डाँडामा ३ दशमलव ३५ किलोमिटर र छोक्रेमा १ दशमलव ६३ किलोमिटर र लेनडाँडामा १ दशमलव ४ किलोमिटर सुरुङ मार्ग बन्ने छ । यसअघि एसियाली विकास बैंकले यस अघि छोक्रे डाँडा, ठिंगन र लेन डाँडामा १ दशमलव ३७ किलोमिटरको सुरुङ मार्ग बनाउने प्रस्ताव गरेकोमा सेनाले पुनःरेखांकन गरेर तीन स्थानमा सुरुङ मार्ग बनाउन लागेको हो ।

खोकनाको विवाद मिलाउन रेखांकन परिवर्तन

खोकनाको विवाद मिलाउनका लागि सेनाले दुई स्थानको रेखांकन परिर्वतन गरेको छ । खोकना क्षेत्र र महादेवटार लेन डाँडा क्षेत्र गरी दुई ठाउँमा रेखांकन परिर्वतन भएको हो ।

धार्मिक एवंम सांस्कृतिक महत्व बोकेको खोकना इलाकाको सिकाली मन्दिर साथै कोदेश क्षेत्रको संरक्षण हुने गरी सामान्य रेखांकन परिर्वतन गरिएको नेपाली सेनाले जनाएको छ । साथै महादेवटारबाट लेनडाँडासम्मको खण्डमा एडीबीद्वारा  प्रस्तावित टनेलको विकल्पमा तथा नयाँ थप टनेलहरुसहित रेखांकन परिर्वतन भएको छ ।

द्रुत मार्गको सम्पूर्ण कामको ८ प्रतिशत काम सम्पन्न भइसकेको सेनाले जनाएको छ । रक्षा मन्त्रालयले पेश गरेको ५ महिनापछि यही भदौ १ गते मन्त्रिपरिषद् बैठकले द्रुत मार्ग निर्माणको डीपीआर स्वीकृत गरेको थियो । द्रुत मार्ग निर्माणका क्रममा १ लाख ५१ हजार रुख काटिने सम्भावना छ ।

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया