अब विदेश जाने मन छैन

 भदौ १४, २०७६ शनिबार ११:३८:५३ | मेरो कथा मेरो भोगाई

काठमाण्डाै – मेरो नाम सञ्जय तामाङ हो । उमेर २६ वर्ष भयो । घर सर्लाही । म साउदी अरबमा गाडी चलाउने काम गर्थेँ । त्यसै क्रममा दुर्घटना भयो ।

सन् २०१४ मा साउदी अरब गएको थिएँ । त्योभन्दा दुई वर्ष अगाडि म भिजिट भिसामा यूएई पनि गएँ । काम गर्ने भनेर गएको थिएँ, तर भनेजस्तो काम नपाएपछि दुई महिनामै नेपाल फर्किएँ । 

त्यसपछि म म्यानपावरमार्फत साउदी गएँ । रेष्टुरेन्टमा काम गर्ने भनेर साउदी गएको थिएँ तर त्यहाँ गएर सप्लाई कम्पनीमा ड्राइभिङको काम पाइयो । नेपालमा हुँदा मैले गाडी चलाउन केही सिकेको थिएँ । उता म गएको कम्पनीले ड्राइभिङ गर्न जान्नेले लाइसेन्सको लागि निवेदन दिन भन्यो । मैले निवेदन दिएँ र लाइसेन्स पनि पास भएँ । त्यसपछि म त्यसै कम्पनीमा ड्राइभिङको काम गर्न थालेँ । तलब महिनाको २४ सय रियाल थियो ।

सन् २०१४ देखि अहिलेसम्म म त्यही काम गर्दै आएको थिएँ । यस बीचमा म एक पटक नेपाल आएँ । धेरै छुट्टी मिल्दैन । अरु सेवा सुविधा त राम्रै थियो । तलब समयमै आउँथ्यो । काम पनि धेरै खट्न पर्दैनथियो । अफिसका स्टाफहरुलाई गाडीमा ल्याउने र पुर्याउने काम गर्नुपथ्र्यो ।

गएको जुलाईको २३ गते थियो सायद ।, मलाई ठ्याक्कै याद भएन । स्टाफहरुलाई उनीहरुको कार्यक्षेत्रतिर छाडेर म अफिसतिर फर्किदै थिएँ । एउटा मोड नजिक पुगेँ । अगाडि अँध्यारो देखियो । चारैतिर केही पनि देखिनँ । मैले चलाएको बस सिधै सडकको भित्तामा गएर ठोक्कियो । बस त कच्याककुच्चुक भएछ । बसभित्रबाट मलाई निकाल्नको लागि बस नै काट्नुपर्यो ।

त्यसपछि म १५ दिनसम्म अस्पतालमा बसेँ । अरु चोटपटक त खासै लागेन । बायाँ खुट्टा भने भाँच्चियो । अहिले भित्र रड राखेको छ । उपचारको सबै खर्च कम्पनीले नै बेहोर्यो । 

काम गरेको पाँच वर्षको अवधिमा कहिल्यै सानोतिनो दुर्घटना पनि भएको थिएन । एक्कासी यति ठूलो दुर्घटना हुन पुग्यो । त्यस्तो अप्ठ्यारो बाटो पनि थिएन । खाली सडक थियो । स्पीड पनि ७० को मात्र थियो । कसरी यत्रो दुर्घटना भयो?, सम्झिँदा मलाई अचम्म लाग्छ ।

म घरमा आएको बेला ज्योतिषकोमा गएको थिएँ । ‘दशा छ, होसियार भएर गाडी चलाउनु’ भनेका थिए । ज्योतिषले त केके पूजा गर्नुपर्ने पनि भनेका थिए । तर साउदी फर्किनुपर्ने भएका कारण त्यतिबेला मैले केही पनि गर्न भ्याइनँ । अहिले नेपाल फर्किन एक महिना बाँकी थियो, दुर्घटना भइहाल्यो ।

भाग्य भनौँ कि दशा भनौँ, नेपाल फर्किने बेला फेरि अर्को घटना भयो । म ह्विलचियरमा जहाजबाट ओर्लेर बाहिर आएँ । बाहिर आएर हेर्दा त पर्स नै थिएन । पर्समा १७ सय रियाल र तीनसय दिनार थियो । सिटमै खसेछ ।

पछि प्रहरीलाई खबर गरेँ । जहाजको कर्मचारीलाई पनि भनेँ । जहाजभित्र पर्स त भेटियो, तर त्यो भित्रको पैसा लगिसकेको रहेछ । करिब पाँच हजार नेपाली रुपैयाँ भने छोडेको थियो । सीसी क्यामेरा जाँच गर्नको लागि भनेका थियौँ । तर त्यहाँका कर्मचारी र प्रहरीले त्यस्तो गर्न सकिन्न भने । 

जे भए पनि त्यत्रो दुर्घटनाबाट आफू बाँचेर आएकोले पैसा हराएकोमा त्यति दुःख लागेन । तर आफ्नै देशमा असुरक्षित महशुस हुँदा भने साह्रै दुःख लाग्छ । आफू धेरै पढेलेखेको पनि छैन । काम खोज्यो भने देशमा कुनै राम्रो कामै पाईंदैन । काम पाइहाले पनि कमाइ हुँदैन । त्यही भएर पनि कमाउनको लागि विदेश जानैपर्छ । तर उताबाट कमाएर ल्याएको पैसाको पनि जहाजभित्रै सुरक्षा हुँदैन ।

विदेशमा धेरै बसियो । पाँच वर्ष विदेशमा बसेर गाउँमा सानो घर बनाइयो । बिहे पनि गरियो । अब विदेश जानै मन छैन । डाक्टरले एक वर्ष त आराम गर्नु नै भनेको छ । उताबाट कम्पनीले पनि सञ्चो भएपछि आउनु भनेको छ । तर म विदेशदेखि अघाइसकेँ । सन्चो भएपछि पनि अब विदेश चाहिँ जान्न ।

अन्तिम अपडेट: भदौ २९, २०७६

तपाईको प्रतिक्रिया