प्रहरीले तत्कालै कदम नचालेको भए करोडौं लुटिन सक्थ्यो, बैंक तथा वित्तीय संस्थामा प्रविधिको जोखिम बढ्दै

 भदौ १५, २०७६ आइतबार १५:५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको जनाएको छ । 

शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा चुनौती थपेको जनाएको छ । महानगरीय प्रहरी परिसरमा भएको पत्रकार सम्मेलनमा परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरु नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि नेपाल आउने गरेको जानकारी दिनुभयो  । 

शनिबार सोह्रखुट्टेको एक एटीएमबाट अस्वभाविक पैसा झिकिएको जानकारी आएपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो । सुरुमा एकजना पक्राउ गरिएको र उनीमार्फत जयनेपाल हल नजिकैको होटलमा बसेका अन्य पाँच जनालाई पक्राउ गरिएको सुवेदीले जानकारी दिनुभयो । 

उनीहरुको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ  । उनीहरुमाथि बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट म्याद थपेर  अनुसन्धान भैरहेको छ । 

यसैबीच नेपाल बैंकर्स संघले लुटिएको रकमलाई लिएर निक्षेपकर्तालाई नआत्तिन सुझाव दिएको छ । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले सबै बचतकर्ताको पैसा सुरक्षित रहेको बताउनु भयो । विदेशमा नेपालीले चलाइरहेका केही कार्डबाट पनि पैसा झिकिएको पनि उहाँले बताउनु भयो । 

प्रहरीले तत्कालै कदम चालेकोले ठूलो रकम लुटिनबाट जोगिएको बताउनु भयो । जहिले पनि प्रविधिभन्दा ह्याकर अघि रहने भएकाले चुनौती थपिएको पनि अध्यक्ष ढुंगानाले बताउनु भयो । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया